सञ्जय मित्र÷रौतहट
प्रदेश न. २ सरकारका आन्तरिक मामिला तथा कानुन न्याय मंत्री ज्ञानेन्द्र यादव र राइस मिल बचाउ संघर्ष समिति रौतहट बिच भएको लिखित सहमति र मंत्रीको प्रतिबद्धता पछि युवाहरुको धर्ना कार्यक्रम गौरमा स्थगित भएको छ ।
गौरको धरोहरको रुपमा रहेको ऐतिहासिक राइस मिल सहितको खेल मैदान बेच्न षडयन्त्र शुरु भएपछि जिल्लाका युवाहरुले सो जग्गालाई सार्वजनिक गर्न मांग गर्दै धर्ना शुरु गरेका थिए । धर्नाको २८औ दिन शनिवार प्रदेश न. २ को आन्तरिक मामिला तथा कानुन न्याय मंत्री ज्ञानेन्द्र यादव, कृषि राज्यमंत्री तथा रौतहट क्षेत्र न. १ ख का प्रदेश सभा सदस्य योगेन्द्र यादव सहितको टोली धर्ना स्थल पुगेर वार्ता सफल पारेका हुन । धर्नाको शुरुवातमा कृषि राज्यमंत्री तथा स्थानीय प्रदेश सभा सदस्य योगेन्द्र यादवले वार्ताको पहल गरे पनि लिखित सम्झौतामा वार्ता अडकिएको थियो ।
राइस मिल बचाउ संघर्ष समिति र प्रदेश सरकार बिच विभिन्न मुदामा सहमति भएपछि धर्ना कार्यक्रम हालको लागि स्थगित गरिएको समितिका प्रवक्ता बिक्रान्त नेपालले जानकारी दिएका छन । सहमती अनुसार प्रदेश सरकारले राइस मिल सहितको खेल मैदान सार्वजनिक गर्न पहल गर्नुको साथै बेच्न षडयन्त्र र पैसाको चलखेलबारे छानविन गर्न ७ दिन भित्र उच्च स्तरीय छानविन समिति गठन गर्ने प्रतिबद्धता जनाएका छन ।
शनिवार साँझ सम्पन्न भएको वार्ता टोलीलाई सघर्ष समितिको तर्फबाट नेकपाका युवा नेता शम्भु साहले राइस मिलको इतिहास र समितिको मांगबारे सरकार पक्षलाई जानकारी गराएका थिए । दुई पक्ष बिच भएको वार्तामा सघर्ष समितिको तर्फबाट संयोजक चंदेश्वर राउत, उपसंयोजक मोहन यादव र सरकार पक्षबाट प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य बाबुलाल साह, राम किशोर यादव, पूर्व सांसद बबन सिंह गौर नपा का मेयर, उपमेयर लगायत प्रमुख जिल्ला अधिकारी गोविन्द्र रिजाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया