टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने

इनेप्लिज २०७५ असार ३० गते ८:११ मा प्रकाशित

चितवन, ३० असार । पूर्वी चितवनको रत्ननगर ९ टिकौलीमा रहेको टिकौली मध्यवर्ती सामुदायिक वन समितिले संरक्षण पर्यटन शुल्क उठाउने भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट वनले बार्षिक कार्य योजना पासगराएसगैँ कार्य योजना अनुसार पर्यापर्यटन विकाससँगै संरक्षण व्यवस्थापन वापत संरक्षण पर्यटन शुल्क उठाउने निर्णय भएको अध्यक्ष ईश्वरी लामिछाने जानकारी दिए । सो शुल्क साउन १ गतेबाट लागु हुने समेत उनले बताए ।

‘टिकौली विश्वराम सूचिमा पर्नुका साथै जौविक मार्गको कोरिडोर हो’, उनले भने, ‘यहाँ पर्यटकीय गतिविधि बढेसँगै संरक्षण व्यवस्थापन गर्न कार्य योजना अनुसार निर्णय गरेका हौँ ।’

विश्व सम्पदा सूचिमा सूचिकृत विसहजारी तालको पूर्वी उत्तर प्रवेशद्धाराका रुपमा समेत रहेको वनको विकास र व्यवस्थापनका लागि उठाईने शुल्क निकै महत्वपूर्ण हुने उनले बताए ।

वनले आफ्नो सेवा क्षेत्र भित्र प्रवेश गर्ने जीप, कार, म्यान र गाडीलाई प्रतिटिप ५ सय रुपैयाँ र नेपालीलाई प्रतिव्यक्ति २५ रुपैयाँ र विदेशीलाई २ सय रुपैया तोकेको छ ।

आफूहरुले संरक्षण व्यवस्थापनका लागि शुल्क उठाउने निर्णयलाई सबै पर्यटन व्यवसायीहरुले सहज रुपमा लिन समेत वनका अध्यक्ष ईश्वरी लामिछानेले बताए ।

वन क्षेत्रमा पर्ने टिकौली ताल, चेपाङ्ग ताल, ठूली घोल, आमसोती घोलमा लोप उन्मुख रहेका विभिन्न चराहरुको मुख्य वासस्थान समेत रहेको वनका कार्यालय सचिव कृष्ण शर्मा आचार्यले बताए ।

यी ठाउँसँगै वन परिसरमा रहेको विभिन्न मठमन्दिर, ईको कल्चर पार्क, चेपाङ्ग र थारु वास्ती अर्को आर्कषणको केन्द्रका रुपमा रहेका छ । यहाँको वन क्षेत्रमा दुर्लभ एक सिङ्गे गैडा र पाटे बाघसगैँ अन्य जीव जनावरहरु पनि सहज देख्न सकिने भएकोले पर्यटकहरुलाई थप आर्कषित गर्ने वन समितिले जनाएको छ ।

वन छिटै पर्यटकहरुका लागि खगेरी सिचाईको नहरमा सिचाई गटे देखि विसहजारी तालसम्म विशेष बोटिङ्ग शयर, हात्ती सफारी, टावर हाउस सञ्चालन गर्ने योजना समेत बनाएको छ । वन क्षेत्रमा ७९.३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

संरक्षण शुल्कलाई सहज लिन ज्ञपानपत्र

यसैविच वनले उठाउने शुल्कका बारेमा जानकारीसँगै आफ्नो निर्णयलाई सहज रुपमा लिई संरक्षणमा सहयोग पुराउन मृगकुञ्ज उपभोक्ता समितिमा ज्ञापनपत्र बुझाएको छ ।

वन समितिका अध्यक्ष ईश्वरी लामिछानेको नेतृत्वमा गएको पुरै कार्यसमिति र वडाका राजनितिक दलहरुले संयुक्त रुपमा मध्यवर्तीमा पर्ने टिकौली वनका विकास र संरक्षणलाई दिगो बनाउन मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुगांनालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुगांनाले वनको कार्ययोजना अनुसारको निर्णय सकारात्मक भएको भन्दै निकुञ्ज मार्फत थप सहजीकरण गराउने बताए ।

सोही अवसरमा वन समूहका अध्यक्ष ईश्वरी लामिछानेले लागु हुने शुल्कबाट उठेको १० प्रतिशत रकम वन क्षेत्रमा नै पर्ने विसहजारी ताल संरक्षण समितिलाई उपलब्ध गराउने घोषण पनि गरे ।

प्रतिक्रिया