‘चिनियाँ रेल काठमाण्डौ आउने भयो भन्ने त भाषण मात्रै हो, नतिजा कुर्नुपर्छ’

इनेप्लिज २०७५ असार ७ गते २२:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमण सफल भएको भ्रमणदलमा सहभागिहरुले दाबी गरेका छन् । तर प्रतिपक्षी दलले यो भ्रमणलाई कसरी लिएको छ त ? नेपाली कांग्रेसका नेता डा. रामशरण महतसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्रधानमन्त्रीको भ्रमण दलको सदस्यको रुपमा चीनमा रहेका धमलाले बेइजिङबाट नै नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि महतसँग कुराकानी गरेका थिए । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई कसरी लिनुभएको छ ?
नेपालको महत्वपूर्ण छिमेकी देशको भ्रमण हो । यो भ्रमणलाई नेपाली कांग्रेसले सकारात्मक रुपमा लिएको छ । भ्रमणले नेपाल–चीनबीचको आर्थिक सम्बन्ध र सद्भाव बढ्छ । भ्रमणको उपलब्धि त नतिजापछि नै थाहा हुन्छ ।

चिनियाँ रेल काठमाण्डौसम्म आउने सम्भावना बढेको छ । यसलाई कसरी लिनुहुन्छ ?
अब चिनियाँ रेल काठमाण्डौ आउनेभयो भन्ने कुरा त अहिलेसम्म भाषण मात्रै हो । कार्यान्वयन हुन कति वर्ष लाग्ने हो थाहा छैन । प्राविधिक अध्ययन र आर्थिक विश्लेषण गर्न बाकी नै छ । अहिले नै यसो भन्नुभएको छ त्यसैले अब हुने भयो भनेर चम्किने होइन । रेलमार्ग बनाउने रकम कसरी आउँछ? अनुदानको रुपमा आउने हो कि? नेपाललाई ऋणको बोझ मात्र बढाउने हो कि ? भन्ने कुराहरु त अन्यौलमै छ नि ।

पाँच वर्ष भित्र नै रेल सेवा विस्तार हुने भनिएको छ नि ?
पाँच वर्ष भित्र नै आइहाल्छ भन्ने आधार बनिसकेको छैन । कसरी आउँछ? लगानी कसले गर्छ ? यि सबै कुरा अध्ययन गर्न बाँकी छ । रेल मात्रै होइन, सबै कुरा आउनुपर्छ भन्नेमा त कांग्रेस पनि छ । तर रेल रित्तै आउने हो कि? नेपालको सामान निर्यातमा कस्तो भूमिका खेल्छ भन्ने कुरा पनि सोच्नुपर्छ । अहिले नै हावाको भरमा सबै टिप्पणी गर्न सकिदैन ।

कांग्रेसका जिल्ला सभापतिहरुको भेलाको भइरहेको छ । यसको उपलब्धि के हुन सक्छ ?
भेला सकिएको छैन । छलफल भइरहेको छ । सभापतिहरुले धाराणा राखिरहेका छन् । के उपलब्धि भयो भन्ने कुरा घोषणा भएपछि थाहा हुन्छ ।

सभापतिहरुको भेलाको अवसरमा आठ जना युवा नेताहरुले महाधिवेशनका लागि दबाब दिन जिल्ला सभापतिहरुलाई पत्र नै लेखे । यसलाई कसरी लिनुभएको छ ?
महाधिवेशनमा त जानै पर्छ नि ।


प्रतिक्रिया