ऋषि धमला र जितु नेपाल : नेपालमा रेल धेरै हुनेभयो, अब कसलाई दिने ?

इनेप्लिज २०७५ जेठ २७ गते ५:४४ मा प्रकाशित

 

ऋषि धमला : जनता जान्न चाहन्छन्, तपाई अहिले कहाँ हुनुहुन्छ ?
जितु नेपाल : म पोखरामा छु ।
धमला : के गर्दै हुनुहुन्छ ?
नेपाल : छक्का पञ्जा ३ को सुटिङ गर्दैछु ।
धमला : सुटिङ कस्तो भइराछ ?
नेपाल : राम्रो भइराछ ।
धमला : उसो भए देशको राजनीति घटनाक्रमबारे थाहा छैन ?
नेपाल : छैन । अहिले के भइरहेको छ भन्ने नै थाहा छैन ।
धमला : नेताहरुसँग कुराकानी भएको छैन ?
नेपाल : छैन । कहाँबाट हुनु । त्यो त हजुरको काम पो त ।
धमला : नेताहरुलाई भन्नुपर्यो नि । देश विकास गर्नुपर्यो भनेर ।
नेपाल : काम गर्दिन, विकास गर्दिन भन्ने त नेतै छैनन् नि । सबैले गर्छु भनिराछन् ।
धमला : काम चाँही के गरे त खै नेताहरुले ?
नेपाल : धेरै काम गरेका छन् नि । भाउ बढाइदिएका छन् । रेल ल्याउँछु भनिराछन् । बाटो खन्छु भनिरहनुभएको छ । हाम्रो देशमा कामभन्दा बढि कुरा हुने हो । भैराछ ।
धमला : रेल आउने भयो त अब नेपालमा ।
नेपाल : हो । हेर्दा हेर्दै नेपालमा रेल धेरै भएर अरु देशलाई नै दिनुपर्ने होला जस्तो छ । मेरो कार्यक्रम तातोपिरो र झटारोमा पनि यो कुरा भनिसकेँ ।
धमला : के भन्नुभयो ?
नेपाल : नेपालमा रेल धेरै हुनेभयो, अब कसलाई दिने, छलफल गर्नुपर्छ ।
धमला : केपी ओलीको क्यारिकेचर गर्नुस् त ।
नेपाल : बिहान बिहानै के प्रधानमन्त्रीलाई जिस्क्याउनु ?
धमला : गर्नुस् न गर्नुस् ।
नेपाल : (ओलीको क्यारिकेचर गर्दै) यो ऋषिजीमा पनि बडो गजबको विशेषता रैछ । बडो चकित पाएको छु । हेर्नुस्, यो क्यारेकेचर भन्ने कुरा पनि बडो अचम्मको रैछ । पहिला पहिला मैले पनि गर्थेँ । म पनि फिलिमतिर खेलेको भए त बडो राम्रो हुनेरैछ ।
(क्यारिकेचर अन्त्य गर्दै) देश मुलुक समृद्धितिर गइसकेको छ । भन्न त जे भने पछि हुन्छ । ऋषि धमलाले बहस चलाउनुहुन्छ । जनता जान्न चाहन्छन् भन्नुहुन्छ । तर काम अगाडि बढिसकेको छ । केपी ओलीको चीन भ्रमणपछि नेपालमा रेल कहिले आउने भन्ने टुङ्गो लाग्छ ।
धमला : देश संघीयतामा गएपछि विकास होला त ?
नेपाल : अहिले त भद्रगोल नै छ । के हुन्छ भनेर भन्न सकिदैन । रेल लिगमा हिँड्नुपर्छ । जतापायो त्यतै दौडेर हुँदैन । त्यस्तै संघीयतालाई पनि सही ट्रयाकमा हिँडाउनुपर्छ ।
धमला : सबैको ध्यान विश्वकप फुटबलतिर छ । तपाई पनि फुटबलको पारखी हो क्यारे ।
नेपाल : हो । तर विश्वकपका बेला हामी घरपरिवारलाई ध्यान दिदैनौँ । आफ्ना काममा लाग्दैनौँ । अरुले खेलेको, नेपालीले खेल्ने पनि होइन । चाहिने भन्दा बढि ध्यान दिएका छौँ । हेर्नै हुँदैन भन्ने त होइन । तर जर्सी लगाएर झगडा गर्ने, बाजी राख्ने, जस्ता नचाहिदा बकम्फुसे फाई फुईँ गर्नुहुँदैन । एउटा टिम मन पर्यो भने अरुलाई चाँही गाली गर्नुहुँदैन ।
धमला : अब प्रचण्डको क्यारिकेचर गर्नुस् । उहाँले देश विकास गर्छु भन्नुभएको छ ।
नेपाल : प्रचण्डले कसरी देश विकास गर्ने ? उहाँ प्रधानमन्त्री होइन । उहाँलाई त पार्टीभित्र नेता कार्यकर्ता मिलाउँदैमा फुर्सद छैन । यता हेरे पनि कमरेड, उता हेरे पनि कमरेड । विकास गर्ने भनेर फ्याट्ट बाटो पिच गर्छु भनेर हुँदैन । बजेट मिलाउनुपर्यो । ठेकदारले गर्दिदैन । ३३ किलो सुन कहाँ छ कसैलाई थाहा छैन । मान्छे समातेको समात्यै छ । यस्तो देशमा कसले के गरने भनेर क्यारिकेचर गर्नु र ? अब त क्यारिकेचर नै छोडौँ जस्तो लागिसक्यो ।
धमला : सुन तस्करहरुको संजाल त तोड्नुपर्यो नि जितु नेपालजि ?
नेपाल : हामीले कसरी तोड्नु ? हामीले लिएको छैन । ६ महिना कार्यक्रम गरेर पनि श्रीमतीलाई एक तोला सुन किन्न सकेको छैन । सक्नेले लाउने रैछ ।

 

प्रतिक्रिया