‘प्रतिपक्षलाई जिस्क्याएर च्यवनप्रास र वर्नभिटाको कुरा गर्नुपर्दैन’

इनेप्लिज २०७५ जेठ ६ गते १२:०२ मा प्रकाशित

चुनावमा अप्रत्यासित पराजय बेहारेको नेपाली कांग्रेसले अझै पनि अगामी बाटो तय गर्न सकेको छैन । कम्युनिष्ट पार्टीहरु एक भएर बहुमतको सरकार चलाईरहेका बेला कांग्रेस भने कमजोर प्रतिपक्षको रुपमा देखिएको छ । यिनै सन्दर्भमा ऋषि धमलाले कांग्रेस नेता अर्जुननरसिंह केसीसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकार छ । अब नेपाली कांग्रेसको भूमिका के हुन्छ ?
नेपाली कांग्रेस प्रतिपक्षमा छ । कांग्रेसले लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेको पार्टीलाई जनताले प्रतिपक्षको भूमिका दिएको छ । प्रतिपक्षमा रहेर पहरेदारको भूमिका खेल्छ । सरकारको कामलाई गुण र दोषका आधारमा खबरदारी गर्छौँ ।

देश नै कम्युनिष्टमय भयो । प्रधानमन्त्री केपी ओलीले दश वर्षमा देशको मुहार फेर्ने दाबी गर्नुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
ओली देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँको भनाईमाथि टिप्पणी गर्न चाहन्न । हामी पनि देशको विकास नै चाहन्छौँ । तर उहाँ कहिले के भन्नुहुन्छ ठेगान हुँदैन । देशको जिम्मेवार प्रधानमन्त्रीले ठट्टा र जोक्स गर्नुहुँदैन । प्रजातन्त्रको यो अवस्थामा वामपन्थीलाई पनि कांग्रेसले नै पुर्याएको हो । अहिले च्यवनप्रास र वर्नभिटाको कुरा गर्नुपर्दैन । हिजोको निरङ्कुश र सर्वसत्तावादी शाषन हामीले नै हटाएको हो ।

कम्युनिष्ट एकतालाई कसरी लिनुहुन्छ ?
उहाँहरुको एकतालाई त हामीले सकारात्मक रुपमा लिएका छौँ । कसले के भन्यो त्यो व्यक्तिगत कुरा हो । मिल्नुपथ्र्यो, मिल्नुभयो, त्यसलाई हार्दिकताका साथ स्वागत गर्छौँ । उहाँहरुको जुन प्रतिवद्धता छ त्यो अनुसारको काम होस् । हामी प्रतिपक्ष पनि हौँ, प्रतिस्पर्धी पनि हौँ । उहाँहरुको एकताले कांग्रेसभित्रको विकृति, मनोमानीलाई तोडेर नयाँ रणनीतिमा जान बाध्य बनाएको छ । यो हाम्रा लागि सकारात्मक कुरा हो ।

केपी ओलीसँग दुई तिहाई बहुमत छ । शक्तिशाली प्रधानमन्त्रीलाई कसरी खबरदारी गर्न सक्नुहुन्छ ?
प्राविधिक रुपमा उहाँ बलियो हुनुहोला । देशको प्रधानमन्त्री शक्तिशाली होस भन्ने हामी पनि चाहन्छौँ । आवश्यकताअनुसार समर्थन र खबरदारी गछौँ । कसैसँग नझुकेको र नथाकेको कांग्रेस बहुमत छ भन्दैमा कम्युनिष्टसँग झुक्दैन । सकारात्मक ढंगले देशको विकासमा योगदान दिन सक्छौँ । हामी विरोधको नाममा विरोध गर्दैनौँ ।

केपी ओलीले त अब कांग्रेस प्रतिस्र्धी नै रहेन भन्नुभयो नि ?
केपी ओली नेतृत्वको सरकार प्रतिपक्ष नै स्विकार नगर्ने निरङ्कुशतार्फ उन्मुख भएको हो ? प्रतिपक्ष भनेको संख्याका आधारमा बलियो वा कमजोर हुने होइन । यो त लोकतान्त्रिक मूल्य मान्यताका आधारमा बलियो हुन्छ । वर्तमान संविधान मान्दा प्रतिपक्ष पनि मान्नुपर्छ । जनमतको दृष्टीकोणले पनि हामी कमजोर छैनौँ । संविधानविपरित प्रतिपक्षलाई जिस्क्याएर प्रतिपक्षविहिन भन्दै हिँड्ने ? यो त अलोकतान्त्रिक पद्धतिको उदाहरण हो कि होइन ?

कांग्रेस आन्तरिक रुपमा नै कमजोर छ । विवाद छ । सत्तापक्षलाई दोष दिएर हुन्छ ?
कांग्रेसको अहिलेको आन्तरिक विवाद र द्धन्द्ध आफ्नो ठाउँमा छ । अहिलेको कार्यशैली, सोच र नेतृत्वबाट कांग्रेसमा सुधार हुँदैन भन्ने कुरा त मैले नै भनिरहेको छु नि । म नै पार्टी सुधारको लडाई लडिरहेको छु ।

तपाई सभापति शेरबहादुर देउवाको विपक्षमा उभिनुभएको हो ?
म पक्ष विपक्षभन्दा पनि सुधारको पक्षमा छु । तर अहिलेको नेतृत्वले अबको बाटो तय गर्न सक्दैन कि भन्ने हो । पार्टीभित्र सामुहिकता र पद्धति विकास गरौँ । गल्ती गरे पनि त्यसलाई सच्याउनुपर्छ । म अहिलेको नेतृत्वको होइन, शैलीको विपक्षमा हो । गिरोहवादबाट पार्टी चल्न सक्दैन भन्ने मेरो ठहर हो ।

सुधारका लागि नेतृत्व तयार हुन्छ त ?
नेतृत्व तयार होला, नभए तयार गरिएला । त्यो परिस्थितीअनुसार हाम्रो आन्तरिक कुरा मिलाउँछौँ ।

सभापति देउवाले म शक्तिशाली छु, मैले जे गर्या त्यही हुन्छ भन्नुभएको छ । यसरी पार्टीमा सुधार हुन्छ ?
देउवाले के भन्नुभयो मलाई थाहा छैन । तर संसारमा म नै राज्य हुँ, राज्य नै म हुँ भन्नेहरु त रहेनन् । यदी त्यसो भनेको हो भने आफ्नै पतनलाई आमन्त्रण गरेको हुनेछ ।

प्रतिक्रिया