बुहारीले छोरी र सासुले आमाको दर्जा कहिले पाउने?

इनेप्लिज २०७४ चैत २६ गते ०:५७ मा प्रकाशित


हाम्रो समाज पुरुषप्रधान हो। तरपनि हरेक परिवारको गृह मन्त्रालय र रक्षा मन्त्रालय महिलाको अधीनमा हुन्छ। प्रत्यक्ष वा अप्रत्यक्षरुपमा महिलाहरुको भुमिका निकै गहन हुन्छ। परिवारको उचित व्यवस्थापन, शान्ति र अर्थ नियन्त्रण लगायत अन्य महत्वपुर्ण कार्यहरुमा आमा, श्रीमती, छोरी, दिदीबहिनी रुपी महिला पात्रहरुको महत्वपुर्ण योगदान हुन्छ। यति हुदाहुदै पनि महिलाहरुले आफुलाई कमजोर सम्झनु र आफ्नो गहन भुमिकालाई स्वयं हेयको दृष्टिले हेर्नुलाई म व्यक्तिगतरुपमा लाचारीपन सम्झन्छु।

महिलाहरुले आफुलाई पुरुषहरुको तुलनामा दाज्न नसक्नुको अर्को कारण हो ईर्ष्यालु स्वभाव। म यहाँ कुनै वैज्ञानिक तर्क गर्दिन तर हाम्रो समाजमा घट्ने समसामयिक उदाहरण दिन चाहन्छु। जब कुनै घरकी छोरी बुहारी बनेर आफ्नो घरमा भित्रीन्छे तब सासुआमाहरु सोच्न थाल्छन, घरधन्दा सघाउने मान्छे आई। चाहे त्यो बुहारी कामकाजी महिला होस् या साधारण गृहिणी, उसले धक्के सबै कामको जिम्मा लिनुपर्छ। छोराले आफ्नी श्रीमतीको पक्ष लियोभने जोईटिंग्रेको उपनाम पाउछ। बुहारी लगायत बुहारीका माइती खलक आंखाका कसिंगर बन्छन। त्यही घरकी छोरी बुहारी बनेर ज्वाईको घर जान्छे, तब आमाहरुको एउटा चाहना हुन्छ मेरी छोरीले सुख पाओस्, केही गर्न नपरोस, ज्वाईमाथी छोरीको एकलौटी शासन चलोस। अझ खुलस्त भन्नु पर्दा ज्वाईबाहेक छोरीको घरपट्टी सबैसंग एककिसिम शीतयुद्ध चल्न शुरु हुन्छ। यो प्रकियामा पुरुषको तुलनामा ठुलो हात महिलाको हुन्छ।

यसमा दोष कसको? दोष हाम्रो सामाजिक संरचनाको हो। हामी कहाँ आफ्नो बारेमा आफै सोच्ने संस्कारको विकास भएको छैन। हामी पटक्कै आत्मनिर्भर छैनौ। आफुले आफ्नो लागी कमाउनुपर्छ, आर्थिकरुपमा अरुको भरपर्नु हुदैन भन्ने मानसिकताको विकास नभएसम्म यो परम्परा कायम रहन्छ। हातखुट्टा चलुन्जेल सन्तानको लागी सम्पत्ति थुपार्ने र हातखुट्टा बसेपछी सन्तानसेवाको आश गर्ने बानीले गर्दा धेरैले दुख पाउनुको साथै हेलांको पात्र बनेको घटना धेरै सुनिन्छ। छोराछोरी पनि जति नै पढेलेखेका भएपनि बाबुआमाकै सम्पत्तिको आश गर्ने र त्यसैमा भरपर्ने गर्दछन। अझ कतिले बाउको सम्पत्ति टन्न छ मैले किन कमाउनु पर्यो र भन्ने सोच राखेको समेत भेटिन्छ। बुढेसकालमा

के गर्ने, आर्थिकरुपमा कसरी स्वावलम्बी बन्ने भन्ने बारेमा हामी सोच्दैनौ। बुढेसकालमा छोराले पाल्छ वा छोरीले पाल्छे भन्ने मन:स्थितिले गर्दा यो समस्याको सिर्जना भएको हो।

सबैभन्दा दुख लाग्दो कुरा त एउटी विवाहित छोरी आफ्ना आमाबाबुको लागी जे गर्न पनि तयार हुन्छे तर आफ्ना सासुससुराको गन्ध समेत मनपराउदिन तर सासुससुराको सम्पत्तिमा अंश दाबी गर्न हर रात आफ्नो पतिलाई दबाव दिन्छे। अनि एउटी सासु आफ्नो ज्वाईलाई भगवान सरह सम्मान दिन्छे तर दिनभर अफिसमा काम गरेर आएकी बुहारीलाई एक गिलास पानी दिनुपर्दा पनि नर्क पुगेजस्तो अनुभव गर्छे।

विडम्बना एउटी बुहारी कसैकी छोरी हो र एउटी सासु कसैकी आमा हो तर किन बुहारीले छोरीको सम्मान र सासुले आमाको सम्मान पाउदैनन् ?

प्रतिक्रिया