चिन्ता नगर्नुस्, आवश्यकताअनुसार १९५० को सन्धी संशोधन हुन्छ : कोसियारी

इनेप्लिज २०७४ चैत २३ गते १०:५९ मा प्रकाशित

सत्तारुढ भारतीय जनता पार्टीका नेता एवम् पूर्वमुख्यमन्त्री भगतसिंह कोशीयारी नेपालको बारेमा अलि बढि चासो राख्ने नेतामध्ये पर्छन् । नेपाल-भारत प्रबुद्ध समूहका भारततर्फका संयोजक समेत रहेका कोशियारी दुई देशबिचको सम्बन्धका बारेमा अलि बढि जानकार पनि छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल मामिलामा सल्लाह/सुझाव दिने हैसियत राख्ने पाका नेता कोशियारीसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा धमलाले कोशियारीको निवासमै पुगेर दुई देशबिचको सम्बन्ध र अहिलेको भ्रमणका विषयमा कुरा गरेका छन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालका प्रधानमन्त्री केपी ओलीको तीन दिने भारत भ्रमणको उपलब्धि के हुन सक्छ ?
यो त सरकारी भ्रमण हो । दुई सरकारबिच केके तयारी भइरहेको छ, त्यो मलाई थाहा छैन । यो त सरकारी प्रवक्ताले बताउन सक्छ । सरकारको आफ्नै एजेण्डा होला ।

दुई देशबिचको सहयोग र सम्बन्धका बारेमा केही अनुमान त लगाउन सकिन्छ नि ?
दुई देशलाई एक अर्काको सहयोग चाहिन्छ । सहकार्यको आवश्यकता छ । विकासका लाग पारस्परिक सम्बन्धको खाँचो छ । भारतले पनि नेपालको उन्नति नै चाहेको छ । त्यसका लागि नेपालले चाहेको सहयोग दिन भारतले कोसिस गर्छ ।

नेपालको विकास र समृद्धिको एजेण्डामा भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले कस्तो सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ?
सहयोगको धेरै कुरा चलिरहेको छ । विगतदेखि नै विभिन्न ठूला योजना सुरुवात गरिएको छ । तर पूरा हुन सकेको छैन । नेपाली जनताले नै सहयोगलाई स्वागत गर्दैनन् भने कसरी हुन्छ ? नेपालमा काम गर्ने ठाउँमा अवरोध छ । पहिले वर्किङ कल्चर बनाउनुपर्छ ।

यसपटकको भ्रमणले नेपालमा रेल सेवा विस्तारका लागि कस्तो भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ?
दुई पक्षबिच बातचित भयो भने त भइहाल्छ नि । यो त दुईपक्षबिचको एजेण्डा र निष्कर्षमा भर पर्ने कुरा हो ।

नेपालमा भारत र चिन दुवैतर्फबाट रेल ल्याउने कुरा चलिरहेको छ । यसका लागि समझदारी बन्न सक्छ ?
चिनको रेले चिनकै काम हो । मेरो होइन । नेपालले चीनबाट रेल ल्याओस् कि तेल ल्याओस्, त्यो स्वतन्त्र राष्ट्र नेपालको कुरा हो । यसमा भारतले यो गर वा नगर भन्दैन । भारतबाट रेल सेवा नेपालमा जोड्ने हो भने नेपालबाट भारत आउने र भारतबाट नेपाल जाने नागरिकलाई सहज हुन्छ । लार्खौँको संख्यामा नेपाली भारत आउँछन् ।

नेपाल–भारतबिच जलमार्गको सम्भावना कस्तो छ ।
भारत त सहकार्य गर्न तयार छ । रेल, जमिन र जल तिनैवटा मार्ग महत्वपूर्ण छ । हवाई मार्ग पनि महत्वपूर्ण छ । तर नेपालले पनि विचार गर्नुपर्छ ।

महाकाली सन्धी भएको २० वर्ष भयो । किन कार्यान्वयन हुन सकेन ? पञ्चेश्वर बहुउद्देश्यीय परियोजना किन कार्यान्वयन हुन सकेन ।
यो त नेपालकै विरोधका कारण हो । नेपालमा काम गर्ने ठाउँमा अवरोध छ । पहिले वर्किङ कल्चर बनाउनुपर्छ । नेपालमा त्यो वातावरण भएको भए पञ्चेश्वर ५० वर्षअघि नै बन्ने थियो । बल्ल सबै पक्ष सहमत भएर २ वर्षदेखि यो अघि बढेको छ । कार्यान्वयनमा ढिला हुनुमा भारतको दोष छैन । तर योजना बनाउँदा नेपाल र भारतका कयौँ गाउँ विस्थापित हुने अवस्था छ । यस्ता समस्याको उचित समाधान गर्नुपर्छ । इच्छा भयो भने सबै समस्या समाधान हुन्छ ।

नेपालको संविधानलाई भारतले किन प्रशंसा गर्न सकेन ?
पटकपटक यो प्रश्न किन ? हामी त सगरमाथादेखि लिएर लुम्बिनी, जनकपुर, सबैको प्रशंसा गर्छौँ । ऋषिजीको पनि धरै प्रशंसा गर्छौँ । अब कति प्रशंसा मागिरहने ? नेपालको संविधानमा भएको समस्या त मैले वा भारतले समाधान गर्ने होइन, नेपालको काम हो ।

नेपालको विकास र समृद्धिमा यसपटक विशेष सहयोग के हुन सक्छ ?
नेपालको केही इच्छा होला, त्यहीअनुसार भारतीय प्रधानमन्त्रीले घोषणा गर्लान् । रेल, जलमार्ग, विजुली, अरु पनि चिज छ ।

दुई देशबिचको सिमा सुरक्षाको समस्या कसरी समधान हुन सक्छ ?
सिमा सुरक्षाका विषयमा नेपाल–भारतबिच कुनै डर छैन ।

नेपालमा भारतविरोधी गतिविधि रोक्नेबारे केही एजेण्डा छ ?
भारतमै पनि भारतविरोधी गतिविधी हुन्छ । नेपालमा पनि हुन सक्ला । दुई, चार जना भारत विरोधी भएर के हुन्छ र ? सबै नेपाली जनता त प्रो इन्डियन नै हुन् नि । २,४ जना काठमाण्डौमा बसेर भारतविरोधी गतिविधी गर्दैमा नेपाल नै भारत विरोधी त हुन सक्दैन । यो त सपनामा पनि कल्पना गर्न सकिदैन ।

१९५० को सन्धीका बारेमा के भन्नुहुन्छ ?
चिन्ता नगर्नुस् । नेपाल भारत प्रबुद्ध समूहको बैठकले टुङ्गो लगाउँछ । अब तीन महिला पर्खनुस्, फाइनल हुन्छ । जे हुन्छ त्यसको रिपोर्ट तीन महिनामा सार्वजनिक गर्छौँ । पूर्वजलाई बेकुफ मान्ने हो भने सन्धी खतम गरौँ, पूर्वज होसियार थिए भने अहिले आवश्यकाअनुसार संशोधन गरौँला । अब पूर्वजलाई बेकुफ मान्नुहुन्छ कि होसियार ? त्यसैले आवश्यकताअनुसार सन्धी संशोधन हुन सक्छ । प्रवुद्ध समुह नेपाल र भारतको छुट्टाछुट्टै होइन, हामी एउटै देशको समुह जस्तै गरी काम गरिरहेका छौँ ।

प्रतिक्रिया