पार्टी एकता प्रतिशतका आधारमा हुँदैन : खनाल

इनेप्लिज २०७४ चैत २१ गते ११:१५ मा प्रकाशित

नेकपा एमाले र माओवादीबिचको पार्टी एकता अझै निश्चित भएको छैन । मंगलबार एकताका लागि बनाइएको दुईवटै कार्यदलले प्रतिवेदन बुझाएको छ । तर दुवै कार्यदलले सबै कुरा टुङ्गो लगाउन सकेको छैन । सहमति हुन बाँक विषयलाई एकता संयोजन समितिले टुङ्ग्याउने बताइएको छ । दुई पाटीबिचको एकता, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र आर्थिक समृद्धिसँग सम्बन्धित भएर ऋषि धमलाले एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेकपा एमाले र माओवादीबिचको पार्टी एकता चर्चा मात्रै हो कि एकता हुने नै हो ?
सम्पूर्ण नेपाली जनसमुदायलाई म के जानकारी गराउन चाहन्छु भने पार्टी एकता सुनिश्चित छ । अब कसैले विथोल्न सक्दैन । पार्टी एकता हुन्छ हुन्छ हुन्छ ।

तर कार्यदलको रिपोर्टमा विचार मिलेको देखिएन नि ?
कार्यदलको दुईवटै रिपोर्टमा अधिकांश कुराहरु मिलेका छन् । केही सामान्य कार्यनीतिगत, प्राविधिक विषयवस्तुहरु पार्टी एकता संयोजन समितिले मिलाउँछ ।

चुनाव चिन्हमा पनि सहमति भएको छैन नि ?
चुनाव चिन्हका विषयमा पनि संयोजन समितिले मिलाउँछ । ठूलो विवाद छैन ।

कार्यदलले मिलाउन नसक्नु समस्या होइन ?
अन्तिम टुङ्गो लगाउने काम संयोजन समिति भएकाले कार्यदललाई अप्ठ्यारो लागेको विषय छोडेको हो । संयोजन समितिलाई पनि केही काम त दिनुपर्यो नि ।

जनविद्रोहको कुरा एमालेले स्विकार गरेका हो ?
जनविद्रोह होइन, नेपाली क्रान्तिको बाटो भनेको शान्तिपूर्ण ढंगले आडि बढ्ने भनेको जनआन्दोलन हो । जनआन्दोलनका विषयमा सहमति भइसकेको छ । क्रान्ति भनेको त एमाले र कांग्रेसले पनि गरेका थिए । तर दश वर्षे जनयुद्धले खेलेको भूमिकालाई त मान्न पर्छ ।

कार्यदलले मिलाउन नसकेका मुख्य कुरा केके छन् ?
नमिलेका कुरा खासै छैन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समानताका आधारमा पार्टी एकता हुनुपर्ने भन्दै पचासपचास प्रतिशतको कुरा गर्नुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
यस विषयमा हामी बसेर छलफल गर्छौँ । पार्टी एकता भनेको आवश्यकताको कुरा पनि हो । आवश्यकताका आधारमा उपयुक्त फर्मुला निकालेर एकता गर्छौँ । कुनै ठाउँमा माओवादीको संगठन बलियो होला, कुनै ठाउँमा एमालेको बलियो होला । त्यसैले सबै ठाउँमा पचास/पचास प्रतिशत भन्ने हुँदैन ।

केपी शर्मा ओली र प्रचण्डको नेतृत्वमा अब पार्टी अगाडि बढ्छ त ?
अहिले उहाँहरु दुईजनालाई अध्यक्ष बनाएर जाने कुरामा सहमति भएको छ । महाधिवेशनपछि एकीकृत संरचना बन्छ । एउटै व्यक्ति अध्यक्ष बनाउँछौँ । आवश्यकताअनुसार अन्य पदहरु बनाउँछौँ ।

कहिलेसम्ममा महाधिवेशन गर्नुहुन्छ ?
पार्टी एकताको घोषणा गरिसकेपछि एकता प्रक्रिया जारी रहन्छ । केन्द्रदेखि तल्लो तहसम्म एकता गर्नुपर्छ । दुई वर्षपछि एकताको महाधिवेशन हुन्छ ।

तपाईहरु जस्तो शीर्ष नेताहरु त पाखा लाग्ने अवस्था आयो नि हैन ?
त्यस्तो हुँदैन । अहिले पनि म वरिष्ठ नेता छु । एकीकृत पार्टी हुँदा पनि म वरिष्ठ नेता नै भइरहन्छु । कसेको पद तलमाथि हुँदैन । कोही पनि निराश हुनुपर्ने अवस्था आउँदैन ।

तल्लो तहमा व्यवस्थापन गर्न त समस्या होला नि ?
सबैको उचित मूल्याङ्कन गरेर व्यवस्थापन गर्छौँ । कसको कति योगदान छ भन्ने कुरा त खुला किताब जस्तै छ नि । योगदानका आधारमा मूल्याङ्कन गरेर जिम्मेवारी दिन्छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई तपाईले कसरी हेर्नुभएको छ ?
यो भारत भ्रमण अत्यन्त महत्वपूर्ण छ । तर पहिलो भ्रमण भारतकै हुनुपर्छ भन्ने नीतिको रुपमा लिनु हुँदैन । चिन लगायतका अन्य मित्रराष्ट्रसँग पनि सम्बन्ध राम्रो बनाउनुपर्छ । तर प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारत नै हुनुपर्छ भन्ने नियम बनाउन खोजिएको छ, यसमा म सहमत छैन । यद्यपी आवश्यकताअनुसार जहाँ पनि भ्रमण गर्न सकिन्छ ।

पहिलो भ्रमण चिन हुनुपर्छ भन्ने तपाईको मान्यता हो ?
होइन, चिन, भारत वा अरु जुनसुकै देश हुन सक्छ । आवश्यकताका आधारमा हुनुपर्छ भन्ने मेरो मान्यता हो । आवश्यकताले जहाँ जान उपयुक्त हुन्छ त्यहाँको अन्तराष्ट्रिय भ्रमण गर्न सकिन्छ ।

नेपालका प्रधानमन्त्री भारत नगइ त कोर्ष नै पूरा हुँदैन भन्नेहरु पनि छन् नि ?
यो परम्परा गलत हो । म यसको विरुद्धमा छु ।

तपाई प्रधानमन्त्री हुँदा भारत भ्रमण गर्न पाउनुभएन, त्यसैले यस्तो भन्नुभएको हो ?
मलाई त कसैले पनि बोलाउने आँट नै गरेनन्, के गर्ने त । तर त्यसबेला भारतीय नेतृत्वसँग छलफल गर्नुपर्ने कुनै एजेण्डा नै थिएन ।

तपाईलाई त्यसबेला भारतीय पक्षले भ्रमणको निमन्त्रणा नै नदिएका हुन् ?
निमन्त्रण त त्यसबेलाका भारतीय प्रधानमन्त्रीे दिएका थिए । छलफलका एजेण्डा पनि प्रस्तुत गरेका थिए । तर मैले भारतीय पक्षले प्रस्तुत गरेका एजेण्डामा छलफल गर्न तयार नभएपछि भ्रमण हुन सकेन ।

के एजेण्डा प्रस्तुत गरेका थिए ?
नेपालको प्राथमिकतामा नपरेका विषय थिए ।

प्रधानमन्त्री केपी ओली सफल बन्नुहुन्छ भन्नेका कत्तिको विश्वस्त हुनुहुन्छ ?
नेपालजस्तो मुलुकमा यति धेरै समर्थन हुँदा पनि सफल नभए कहिले हुने ?

तर चुनौतिका चाङ छन् ?
त्यस्ता चुनौतिका पहाडमा टेकेर हिँड्नुपर्छ । नीति कार्यक्रम तय गरेर अगाडि बढ्नुपर्छ । अब देशमा विजुली क्रान्ति, कृषि क्रान्ति, पर्यटन क्रान्ति हुन्छ ।

प्रतिक्रिया