१९५० को सन्धी खारेज र पुनरावलोकनमध्ये जे पनि हुन सक्छ : डा. राजन भट्टराई (भिडियोसहित)

इनेप्लिज २०७४ चैत २० गते ०:०७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा आर्थिक विषयमा विशेष कुराकानी हुने एमाले नेता डा. राजन भट्टराईले बताएका छन् । पछिल्लो समय प्रधानमन्त्रीको ओलीको टिममा रहेर काम गरिरहेका भट्टराईका अनुसार भ्रमणको गृहकार्य भइरहेको छ । भट्टराई परराष्ट्रविद्समेत हुन् । नेपाल भारत प्रवुद्ध समुहको सदस्यसमेत रहेका भट्टराईसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के सल्लाह दिनुभयो ?
उहाँले विभिन्न विषयमा खोजेका सल्लाह दिइरहेको छु । नेपालको आगामी दिनमा जिम्मेवारी पूरा गर्नुपर्ने विषयहरुमा सल्लाह दिने गरेको छु । विदेश नीति, सुरक्षा ममला र विकास निर्माणका विषयहरुमा सल्लाह दिने गरेको छु । प्रशासनीति क्षेत्रमा गर्नुपर्ने सुधारका विषयमा पनि सल्लाह दिने गरेको छु ।

प्रधानमन्त्री केपी ओलीले यसपटक पनि किन भारत भ्रमणलाई नै पहिलो रोजाईमा राख्नुभयो ?
जुन देशसँग आफ्नो सम्बन्धको गहिराई, कारोबार र आयामहरु धेरै हुन्छन्, त्यही देशसँग विभिन्न विषयहरु उब्जिरहेका हुन्छन् । त्यही देशसँग नव निर्वाचित सरकारले पहिलो छलफल गर्ने चलन छ । तर भारत भ्रमणमा जानै पर्छ भन्ने होइन । छलफलका कुनै विषय छैन भने नगए पनि हुन्छ । मुलुकले सुल्झाउनुपर्ने विषयहरु भएकाले भारत जानु आवश्यकता देखिएको हो । अहिले हाम्रो मूल मुद्दा भनेको समृद्धि हो । विकास र समृद्धिको पाटोमा विश्वव्यापी रुपमा पनि छिमेकी देशको सहयोग र सहकार्य आवश्यक हुन्छ ।

भारतको सहयोग बिना नेपालको विकास हुन सक्दैन भन्ने बुझाई हो ?
भारत मात्रै होइन, सबै छिमेकीहरुसँग हामीले विकासका लागि सहयोग लिनु जरुरी छ ।

प्रधानमन्त्री ओलीले आफै चाहना राखेर हो कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाहनाले भ्रमण हुन लागेको हो ?
कुनै मुलुकको पाहुना बनेर जाँदा पहिला नै म आउँदैछु भनेर जाने होइन । तर केपी ओली प्रधानमन्त्री बनेपछि निमन्त्रण आयो । तपाई आइदिनुस् भन्ने भारतीय पक्षको भनाई थियो ।

नेपाली राजनीतिमा भारत सरकारले कहिले बोलाइदेला र जाउँला भनेर बस्छन् नि नेपालका प्रधानमन्त्रीहरु । केपी ओलीको भ्रमण पनि त्यसैको निरन्तरता होइन ?
त्यस्ता धेरै परम्मपराहरु प्रधानमन्त्री ओलीले छोड्दै आउनुभएको छ । नेपालको हरेक आन्तरिक मामलामा भारतले सुझाब दिनुपर्छ भन्ने मान्यता नेपाल भारत दुवैतिरका एक तप्कामा अझै पनि छ । तर अब सधैँ यसरी जान सकिदैन । नाकाबन्दी नहटेसम्म म भारत भ्रमणमा जान्न भन्ने नेता त केपी ओली नै हुन् नि । आज पनि मलाई भारत भ्रमणमा बोलाइदेउ भन्ने स्थिती केपी ओलीलाई छैन ।

भारत भ्रमण केका आधारमा हुन लागेको हो त ?
भारतीय निमन्त्रण आयो । कहिले जाने भन्ने विषयमा दुई पक्षबिचमा सहमति भयो । सहमतिका आधारमा जान लाग्नुभएको हो ।

नेपालका हरेक प्रधानमन्त्रीको पहिलो विदेश भ्मण किन भारत नै हुन्छ ?
पहिलो विदेश भ्रमण भारत नै हुनुपर्छ भन्ने अकाट्य कुरा होइन । आवश्यकता रह्यो भने एकपटक होइन, मुलुक र जनताको हितका लागि दुईपटक भारत गए पनि हुन्छ । तर भारत भ्रमण गरेपछि मात्रै मेरो कार्यकाल पूरा हुन्छ, भारत भ्रमणमा गएपछि मात्रै मेरो सपथग्रहण पूरा हुन्छ, मेरो पद सुरक्षित हुन्छ भन्ने कोणबाट बुझ्नुहुँदैन ।

प्रधानमन्त्री केपी ओलीको यसपटकको भारत भ्रमण विगतका प्रधानमन्त्रीको भारत भ्रमणको निरन्तरता होइन भन्ने आधार के छ ?
चुनावपछि जनताले दिएको म्यान्डेटअनुसार केपी ओली प्रधानमन्त्री बन्नुभएको हो । विगतमा जस्तो संसदीय खेलबाट मात्रै ओली प्रधानमन्त्री बन्नुभएको होइन । त्यसैले विगतको जस्तो भारत भ्रमण केपी ओलीको होइन ।

संविधान जारी भएपछि ओली र भारतबिचको सम्बन्धमा दरार पैदा भयो । अहिले सम्बन्ध प्रगाढ बनेको हो ?
दुवैतर्फबाट हिजोको जस्तै सम्बन्ध कायम राख्नु हँदैन, हामीबाट गल्ती भए, हामीले पनि कुनै मुलुकको आन्तरिक मामलामा बढि चलखेल गरियो भने प्रतित्युपादक हुँदो रहेछ, त्यसरी जानु हुँदैन, सार्वभौम मुलुकको आन्तरिक मामलाहरु हुन्छन्, त्यस्ता मामलामा उनीहरुलाई नै छोडिदिनुपर्छ भन्ने मान्यता भारतीय पक्षले लिन थालेको छ ।

भारतको विरोध गरेर मात्रै खाने प्रचलन छ । त्यसलाई तपाईहरु अन्त्य गर्न सक्नुहुन्छ ?
भारतले अनुचित गतिविधि नगर्दासम्म हामीले विरोध गर्नुपर्ने कुनै कारण छैन ।

तर पछिल्लो समय राष्ट्रवादी नेताको छवी बनाउनका लागि धेरैले भारतको विरोध गर्छन् नि ?
विगतमा भारतलाई विरोध गर्नुको कारण केही आधारहरु थिए । अहिले त्यस्ता कुरालाई सच्याउने कोर्ष भइरहेको छ । दुवै पक्षबाट सच्चिने प्रयास भएको छ ।

त्यसो भए नेकपा एमालेले भारतसँगको सम्बन्धका बारेमा रणनीति परिवर्तन गरेको हो ?
नेकपा एमालेले मात्रै होइन, भारतसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लािग पृथक ढंगले जानुपर्छ भन्ने मान्यता स्थापित भइरहेको छ । सम्बन्धलाई अझ गहिरो र फराकिलो तर कतिपय कमी कमजोरीहरु, ठूलो र सानो देशका आधारमा असमानता, आन्तरिक मामलामा चलखेल गर्ने प्रवृत्तिहरु र सुरक्षा निकायले अनावश्यक हस्तक्षेप गर्ने प्रवृत्तिहरुलाई करेक्सन गर्दै नयाँ ठाउँमा जान खोजिरहेका छौँ । यसको नेतृत्व ओलीले गर्नुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द मोदी र नेपालका प्रधानमन्त्री ओलीबिचको केमेष्ट्री मिलेको हो ?

केमेष्ट्री भनेको चिज के हुन्छ भने, व्यक्तिका कुन काममा लागि केमेष्ट्री मिल्ने भन्ने हुन्छ । अहिले संविधान जारी हुनुभन्दा अगाडि र पछाडिको सम्बन्ध उपयुक्त रहेनछ भन्ने कुरामा भारतीय पक्षबाट पुनर्विचार भएको छ । त्यसका सकारात्मक संकेत प्राप्त भइरहेको छ । उक्त संकेतले अब सम्बन्ध राम्रो हुन्छ भन्ने आशा देखाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका कुन कुन विषयले प्राथमिकता पाउँछ ?
कुनै पनि देशमा भ्रमणमा जाँदा छलफल गर्नैपर्ने पुराना विषयले प्राथमिकता पाउँछ । त्यसभन्दा बाहेक आफ्नो मुलुकलाई अगाडि बढाउनका लागि अगाडि सारिएको एजेण्डा प्राथमिकतामा पाउँछ । अहिले हामीले विकास र समृद्धिको एजेण्डालाई प्राथमिकतामा राखेका छौँ । हिजोका तितामिठा राजनीतिक सम्बन्धलाई पनि व्यवस्थित गर्नुपर्छ ।

नेपाल भारतबिचको सम्बन्धमा सन् १९५० को सन्धी जहिले पनि अगाडि आउँछ । यस सन्धीका विषयमा छलफल हुन्छ ?
सन् १९५० को सन्धीका भएका असमान र असान्दर्भिक बुँदाहरु हटाउनुपर्छ । यसमा भारतले पनि सहयोग गर्नुपर्छ । उक्त सन्धीलाई अहिलेकै अवस्थामा रहन दिदैनौँ । असमानताका बुँदाहरु हटाउँछौँ ।

प्रतिक्रिया