बढ्यो आगलागी : दमकललाई भ्याइनभ्याइ

इनेप्लिज २०७४ चैत १३ गते १३:१३ मा प्रकाशित

भक्तपुर, १३ चैत: दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइनभ्याइ भएको छ ।
भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको यहाँको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या देखिएको छ । दैनिक चार आगलागीका घटना हुने बताउँदै जुद्धवारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले गर्मीयाम बढेसँगै आगलागीका घटना बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक चार वटासम्म आगलागीका घटना भएका छन्, एक सातायता १४ वटा आगलागीका घटना भए, कुनै दिन त दमकलले विश्राम नै पाउँदैन ।”

विगतमा एउटा मात्रै चल्ने अवस्थामा रहेको दमकललाई मर्मत गरेर अहिले तीन दमकल चल्ने बनाइएको बताउँदै उहाँले आज मात्रै सूर्यविनायकको बालकुमारी सामुदायिक वन, झौखेल, भक्तपुर र काभ्रेपलाञ्चोकको नाला गुम्बा नजीकै भएको आगलागी नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

कतिपय अवस्थामा साँघुरा सडक र गल्लीभित्र जान दमकललाई समस्या पर्ने गर्दा आगलागी नियन्त्रणमा समस्या आउने गरेको कार्यालय प्रमुख धौभडेलको भनाइ छ । वारुणयन्त्रको पुरानो दुई दमकल मर्मत गरेर चल्ने अवस्थामा पु¥याइएको र एक दमकल मध्यपुरथिमि नगरपालिकाले दिएपछि आगो नियन्त्रणमा जान सहज भएको हो ।

आगलागीका घटना बढेपछि कार्यालय प्रमुख धौभडेलले कर्मचारीको सुरक्षाका लागि आगोले नजल्ने सेफ्टी ज्याकेट तथा जुत्तासमेत ल्याएर परिचालन गरिएको छ । उहाँले भन्नुभयो,“दमकल र कर्मचारीलाई २४ सै घण्टा अलर्टमा राखेका छाँै, उनीहरुको सुरक्षाका लागि पोशाकको पनि व्यवस्था गरिएको छ ।”

सबै बस्तीमा जाने सडक फराकिलो पार्नु जरुरी रहेको बताउँदै उहाँले स्थानीय सरकारलाई यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया