एकैचोटी चमत्कार हुँदैन, तर विकासको अनुभूति हुने गरी काम गर्छौँ : मुख्यमन्त्री भट्ट

इनेप्लिज २०७४ फागुन १८ गते २३:१९ मा प्रकाशित

देश संघीयतामा गइसकेको छ । सातवटै प्रदेश सरकार बनिसकेका छन् । यद्यपी सबै प्रदेशका सरकारको मन्त्रिमण्डलले पूर्णता पाइसकेको छैन । प्रदेश सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । जनताले चाहेअनुसारको विकास निर्माणका कामलाई गति दिनु नै प्रदेश सरकारका लागि मुख्य चुनौति हो । यिनै विषयमा केन्द्रित रहेर प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टसँग ऋषि धमलाले कुराकानी गरेका छन् । विकास र समृद्धिका हिसाबले सबैभन्दा पछाडि परेको भनिएको प्रदेशका मुख्यमन्त्रीका योजना केके छन् त ? नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर सातमा साधन स्रोतको अभाव छ कि छैन ?
अहिले हामीले जे जति छ त्यसैको प्रयोग गरेर काम गरिरहेका छौँ । भर्खर संघीयता कार्यान्वयन सुरु भएको छ । यस्तो अवस्थामा केही समस्या हुनु स्वभाविक नै हो ।

आवास र गाडीको अवस्था के छ ?
आउनुपर्ने गाडीहरु आइसकेका छैनन् । काम चलाउ गरिरहेका छौँ । आवश्यकताअनुसार केन्द्र सरकारसँग गाडीको माग पनि गरेका छौँ ।

तपाईले प्रदेश नम्बर सातलाई नमुना बनाउने उद्घोष गर्नुभएको थियो । सक्नुहुन्छ ?
काम गर्दा समस्या र चुनौतिको सामना गर्नुपर्छ । तर हामी चुनौतिको सामना गरेर सम्भावनाको बाटोमा हिँड्न सक्छौँ । यस विषयमा मैले छलफल सुरु गरिसकेको छु । कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा बहस सुरु गरेका हौँ ।

जनताको चाहना धेरै छ । पूरा गर्न सक्नुहुन्छ ?
हामी पहिलोपटक संघीयतामा गएको हुनाले नयाँ कानुन, ऐन बनाएर जग बसाल्नुपर्ने छ । जनताको अपेक्षा पनि छन् । हामी त्यसलाई पूरा गर्ने कामको सुरुवात गर्छौँ । आम जनसमुदायले पनि सहयोग गर्ने आशा गरेका छौँ । हामी समानुपातिक हिसाबले विकासका काम अगाडि बढाउँछौँ । दूरदराजका जनताले पनि विकासको अनुभूति गर्न पाउने गरी काम गर्छौँ ।

प्रदेश नम्बर सात विगतदेखि नै विकास हुन नसकेको प्रदेशको रुपमा लिइन्छ । जनताले अनुभूति गर्ने गरी काम गर्न कत्तिको सहज ठान्नुभएको छ ?
प्रदेश नम्बर सात पिछडिएको, उपेक्षित र उत्पिडनमा पारिएको क्षेत्र हो । एकैचोटी धेरै चमत्कार नहुन सक्छ । तर कमसेकम विकास र प्रदेश सरकारको अनुभूति हुने गरी काम गर्छौँ ।

विकासका लागि सुशासन चाहिन्छ । यसबारेमा के सोच्नुभएको छ ?
मैले सुशासनका लागि सबैभन्दा धेरै ध्यान दिएको छु । अहिलेको अवाश्यकताअनुसार शासन व्यवस्था कायम गर्नुपर्छ । सहज रुपमा जनतालाई सेवा सुविधा प्रदान गर्नका लागि केकस्ता काम गर्नुपर्छ भन्नेमा म सचेत छु । सुशासनका लागि तत्काल ऐन कानुन ल्याउने तयारीमा छौँ ।

भ्रष्टाचार नेपालको मूल समस्या हो । भ्रष्टाचार अन्त्यका लागि के गर्नुहुन्छ ?
भ्रष्टाचार अन्त्य गर्ने कुराका लागि म संवेदनशील छु । नेपालमा संस्थागत र मिलेमतो गरी दुई प्रकारका भ्रष्टाचार मौलाएको छ । यसको अन्त्य गर्नुपर्छ भन्ने मेरो निष्कर्ष हो । यसका लागि म कडाईका साथ काम गर्छु । भ्रष्टाचारकै कारण जनताले दुःख पाएका हुन् । नियम, प्रक्रिया र सम्झौताअनुसार काम नभएको खण्डमा अनुगमन गर्ने, दोषीलाई कारबाही गर्ने कुरामा म सचेत छु । नियम कानुन कडा बनाएर अघि बढ्ने योजनामा छु ।

प्रदेशको राजधानी कहाँ हुन्छ ? नाम के राख्नुहुन्छ ?
अहिले यो प्रदेशको अस्थायी मुकाम धनगढी तोकिएको छ । स्थायी राजधानी त संविधानअनुसार प्रदेशसभाको दुई तिहाई बहुमतले छिनोफानो गर्नेछ । प्रदेशको राजधानी पनि संधिानअनुसार दुई तिहाई बहुमतले नै राख्छ ।

प्रतिक्रिया