बुधबार, कार्तिक १२ २०७७
काठमाडौं ०७:५७
वासिङटन डिसी 22:12

दशैँताका मेलम्चीको पानी राजधानीका धारामा

इनेप्लिज २०७४ फागुन ११ गते ११:३९ मा प्रकाशित

काठमाडौँ, ११ फागुन: बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ ।
अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो । साथै सरकारले मेलम्चीको पानी राजधानीमा प्रवाह गर्नेसम्बन्धी ठोस कार्ययोजना पनि सार्वजनिक गरेको छ ।

एशियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको आज यहाँ आयोजित वार्षिक समीक्षा बैठकमा खानेपानी आपूर्ति तथा सरसफाइ मन्त्रालयले त्यस्तो कार्ययोजना सार्वजनिक गरेको हो । योजनानुसार कार्यसम्पादन गर्न कुनै बाधा उत्पन्न नभएमा आगामी चैतमा २६ किलोमिटर लामो सुरुङ निर्माण पूरा भई १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेछ ।

असार महिनाको अन्त्यसम्ममा सुन्दरीजल प्रशोधन केन्द्रबाट निर्मलीकरण गरिएको पानी काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानमा अवस्थित विशाल पानीट्यांकीमा संकलन हुनेछ । योजनानुसार दशैँताका आरुबारी, महाँकाल, बाँसबारी, बालाजु, पानीपोखरी, अनामनगर, मीनभवन, कीर्तिपुर, खुमलटार, टिगानी र भक्तपुरको कटुञ्जेमा निर्मित ती विशाल ट्याङ्कीबाट परीक्षणका रुपमा पानी प्रवाह गरिनेछ ।

पुराना र हाल विछ्याइएका पाइपबाट पानी प्रवाह गरेपछि चुहावटलगायत मर्मतका अन्य कार्य गरिनेछ ।

प्रतिक्रिया