मिथिलाञ्चलमा आजैदेखि विधिवत् होली पर्व शुरु

इनेप्लिज २०७४ फागुन ११ गते ९:५२ मा प्रकाशित

गौशाला, ११ फागुन : महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमामा भगवान रामचन्द्र र माता जानकीले होली खेलको संझनामा मिथिलाञ्चलमा आजदेखि होली पर्व शुरु भएको छ ।

प्रन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौ दिनको बासस्थान कञ्चनवनमा भगवान रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एक आपसमा रंग र अबिरले होली खेलाइनुका साथै परिक्रमा सहभागी हजारां साधु, सन्त महात्मा र गृहस्थ परिवारका साथै परिक्रमा यात्री समेतले एक–आपसमा रंग अबिर साटासाट गर्दै होली पर्वको शुरुवात गरेका हुन् ।

भगवान, साधु सन्त र महात्माले होली पर्वको शुरुवात गरिसकेकाले आज बिहानैदेखि मिथिलाञ्चलको गाउँ÷गाउँ तथा घरघरमा पनि रंग अबिरको प्रयोग शुरु भएको छ ।

यसगरी होलीको आगमनका अवसरमा प्रत्येक वर्ष झै आज बेलुकादेखि मिथिलाञ्चलको गाउँ÷गाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यांगात्मक कविता तथा चुटकिलाको प्रस्तुती हुन्छ ।

परापूर्वकालमा भगवान रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा होली पर्व मनाउँदा सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानि पनि रातो भएको जनविश्वास छ ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवानले वनवास गएको दिनलाई सम्झिदै १५ दिने परिक्रमा गर्दछन् र परिक्रममाकै क्रममा भगवानले होली पर्व खेलेको सम्झिदै सम्पूर्ण परिक्रमा यात्रीले पनि होली पर्व मानाउने गर्दछन् । धनुषाको हनुमानगढीमा गत बुधबार परिक्रमाका लागि भगवान रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई बिहीबारदेखि भारतको कलाणेश्वरबाट शुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कञ्चनवनमा सातौं दिनको बसाइ छोडेर आज बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौं दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् ।

प्रतिक्रिया