मंगोलियन महाचिल रौतहटमा

इनेप्लिज २०७४ फागुन ५ गते १२:१४ मा प्रकाशित

सञ्जय मित्र
पिठ्युमा रेडियो ट्रान्समिटर जडान भएको मंगोलियन महाचिल रौतहटमा फेला परेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका १ शीतलपुरमा विहीवार राति आठ बजे मंगोलियन चिल फेला परेको प्रहरीले जनाएको हो । शीतलपुरको खेतमा स्थानीय बालबालिकाले चिललाई फेला पारेर समातेपछि चिलको खुटा र पिठ्युमा केही नयाँ कुरा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चिलको दाहिने खुटामा सिलावरको गोलो रिङमा यहलष्तज।बिद, लकत।दष्य,िmयलनयष्बि २७१ लेखिएको पनि देखिएको छ ।

प्रहरीले चिललाई फेला पारी चिलको विषयमा अध्ययन गर्न जिल्ला वन कार्यालय रौतहटलाई पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताएका छन् । जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घ कोइरालाले सोलार प्यानल सहितको चिल जिल्ला प्रहरी कार्यालय रौतहटबाट आएको र त्यो मंगोलियाबाट नेपालमा आएको स्पष्ट भएको बताउँदै चिलको विषयमा थप अध्ययन गर्न विभिन्न निकायमा खबर गरेको बताएका छन् ।
नेपालका वरिष्ठ चराविद् डा. हेमसागर बरालले गोमायु महाचिल भएको बताउँदै हिउँद महिनामा हरेक वर्ष नेपालमा आउने गरेको बताउँछन् । विश्वमा नै जम्मा ३९ प्रजातिको चिलमध्ये गोमायु महाचिल लोपोन्मुख चिलको रुपमा रहेको र संरक्षणको प्रयास विश्वव्यापी भइरहेको बताएका छन् । मंगोलिया र छिमेककी देशहरुबाट नेपाल, पाकिस्तान लगायतको देश हुँदै अफ्रिकातिर महाचिल जाने गरेको र फेरि उतै फर्किने गरेको डा. बरालको भनाइ छ । डा.बरालले चिलको पिठ्युमा रहेको सेटेलाइटको कुनै सुरक्षा प्रयोजन नभएको बताएका छन् ।

प्रतिक्रिया