जनयुद्धको फोटो प्रर्दशनी शुरु

इनेप्लिज २०७४ फागुन ३ गते १४:५५ मा प्रकाशित

काठमाडौँ, ३ फागुन : तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’को समयमा खिचिएका विभिन्न तस्वीरको प्रदर्शनी आजदेखि नेपाल कला परिषद् बबरमहलमा शुरु भएको छ ।

‘माओवादी जनयुद्धको दुई दशक’ शीर्षकमा सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा शुरु भएको सो प्रदर्शनीमा माओवादीले ‘जनयुद्ध’ शुरु गरेको विसं २०५२ फागुन १ गते सार्वजनिक गरेको पोस्टर, माओवादीका लडाकु, महत्वपूर्ण बैठक तथा प्रशिक्षणका तस्वीर समावेश गरिएको छ ।

यस्तै माओवादीको चर्चित चुनवाङ बैठक, विस्तृत शान्ति सम्झौता, सेना समायोजनलगायतका महत्वपूर्ण परिघटना समेटिएको तस्वीरपनि प्रदर्शनीमा राखिएको छ । यस्तै सैन्य प्रशिक्षण, राजनीतिकसभा र अभियानका तस्वीरसमेत प्रदर्शनीमा समावेश गरिएको आयोजकले जनाएको छ ।

विभिन्न कालखण्डका सय तस्वीर राखिएको उक्त प्रदर्शनीको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भने चुनवाङ बैठकपछि प्रस्तुत गरिएको ‘युद्ध मैदानबाट फर्किदा’ भन्ने अपेरा प्रस्तुत गर्दा माओवादीका नेतालाई भाव विह्वल बनाएको तस्वीरले सबैभन्दा बढी आकर्षित गरेको थियो ।

प्रदर्शनीमा राखिएका तस्वीर अवलोकन गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धको ऐतिहासिक भूमिका रहेको र त्यसको नेतृत्वकर्ताको हिसाबले पनि आफू र आफ्नो पार्टीले सधैँ गौरव गर्ने बताउनुभयो ।

जनयुद्धले उठाएका धेरैजसो राजनीतिक एजेण्डा पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पूरा गर्न लागिपर्ने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा फोटो पत्रकार दिनेश श्रेष्ठलाई अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो । पत्रकार श्रेष्ठको तस्वीरसमेत प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी यही फागुन ७ गतेसम्म चल्नेछ ।

उक्त संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठका अनुसार ‘जनयुद्ध’ नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि महत्वपूर्ण परिघटना भएकाले त्यसैको स्मरणमा प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया