लाङटाङ राष्ट्रिय निकुञ्जमा ‘महाहन्ट अप्रेसन’ अभियान सुरु

इनेप्लिज २०७४ फागुन १ गते १०:३४ मा प्रकाशित

रसुवा, फागुन १ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले आजबाट चोरी शिकारी नियन्त्रण अभियान सुरु गरेको छ ।

‘महाहन्ट अप्रेसन’ नाम दिइएको अभियान चार महिनासम्म चल्ने छ । हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतिको बढी चोरी शिकार हुने भएकाले त्यसलाई नियन्त्रण गर्न अप्रेसन सुरु गरिएको हो ।

निकुञ्जका अनुसार वनजन्तु अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि अप्रेसन गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विश्वमा नै दुर्लभ मानिएका वन्यजन्तु हिम चितुवा, रेडपाण्डा र कस्तुरी मृग रहेका छन् ।

यस्ता अभियानले निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्न टेवा पुग्ने रेग्मीको भनाइ छ ।

हिमाली निकुञ्जका उच्च स्थानमा पुगी सेनाले अप्रेसनमा घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, एम्बुस, आकस्मिक खानतलासीलगायतका कार्य गर्ने उनले बताए ।

निकुञ्जमा अहिले १ हजार एक सय सेना परिचालित छन् ।

प्रतिक्रिया