एमाले–माओवादी पार्टी एकता घोषणा गर्न मात्रै बाँकी छ, आज टुङ्गिन्छ : झलनाथ खनाल

इनेप्लिज २०७४ माघ २६ गते २३:०७ मा प्रकाशित

नेकपा एमाले र माओवादीबिचको पार्टी एकता भाँडिन लागेको हो कि भन्ने आशंका उब्जिएको छ । एकता प्रक्रियाले गति लिन सकेको छैन । यसैबिच आज एकता संयोजन समितिको बैठक बस्दैछ । आजको बैठकले एकतासम्बन्धमा ठोस निर्णय गर्ने बताइएको छ । यिनै विषयमा केन्द्रित रहेर एमालेका पूर्व अध्यक्ष झलनाथ खनालसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

पहिला सरकार निर्माण हुन्छ कि एमाले–माओवादीबिच पार्टी एकता ?
सकेसम्म पार्टी एकता र सरकार निर्माण दुवै प्रक्रिया एकसाथ अगाडि बढाउने प्रयासमा छौँ । यद्यपी पछिल्ला दिनमा पार्टी एकता प्रक्रिया प्राथमिकतामा परेको छ । दुवै कुरा हाम्रो प्राथमिकताका विषय हुन् । एकता प्रक्रिया टुङ्गो लगाउने प्रयासमा छौँ ।

एकता प्रक्रिया टुङ्गोमा पुग्दैन कि भन्ने आशंका उब्जिएको छ नि ?
एकता भनेको कार्यदिशा, नीति र सिद्धान्तको एकता हो । यि कुरामा एकरुपता नभै पार्टी एकता सम्भव हुँदैन । दुई पार्टीको बिचमा विचार र व्यवहार हेर्दा एकरुपता हुँदै गएको छ । त्यसैले पार्टी एकता नहुने भन्ने हल्ला मात्रै हो ।

बहुदलीय जनवादको विषयमा नै दुई दलबिच विवाद छ । तपाईहरु जबज नछोड्ने, माओवादी जबज नमान्ने, कसरी एकता हुन्छ ?
बहुदलीय जनवाद मात्रै मानेर पार्टी एकता हुन्छ भन्न कुरा त कसैलाई विश्वास नै छैन नि । हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवाद हो । यो दुईवटा कुराहरु एक आपसका अभिन्न अंग हो । त्यसैले जबजका आधारमा मात्रै एकता गरौँ भन्नु हुँदैन । यस्तो कुराको पछाडि एमाले लाग्दैन । हामी माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवाद दुवै कुरालाई एकीकृत रुपले हेर्नुपर्छ भन्ने पक्षमा छौँ ।

मध्यमार्गी धार के हुन सक्छ ?
अहिले नै मध्यमार्गी धार खोजिएको छैन । छलफलमै छौँ । जनताको बहुदलीय जनवादले अख्तियार गरेको बाटो पनि छोड्दैनौँ । माक्र्सवाद र लेलिनवाद पनि छोड्ने कुरै हुँदैन ।

पार्टी एकता हुन्छ भनेर जनतालाई विश्वस्त पार्न सक्नुहुन्छ ?
पार्टी एकता हुन्छ । एकताको विकल्प छैन । चुनावी तालमेल गर्ने घोषणा गर्दा नै दुई पार्टी झण्डै झण्डै एउटै पार्टी बनेको थियो । जसका कारण एकपछि अर्को सफलता हात पारेका छौँ । अब पार्टी एकता घोषणा गर्न मात्रै बाँकी छ ।

पदीय भागबण्डामा विवाद भएकाले एकता रोकिएको होइन ?
त्यस्ता विवाद के छन्, हामीलाई थाहा छैन । आज पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । त्यस्ता खालका विवाद कुनै रहेछन् भने हल गर्न सकिन्छ ।

तपाई एकीकृत पार्टीको अध्यक्ष प्रचण्डलाई बनाउनुपर्छ भन्न पक्षमा हो ?
मुख्य कुरा पार्टीको कार्यदिशा, सिद्धान्त र विचार नै हो । यि कुरामा एकरुपता कायम भएपछि संगठनात्मक संरचनामा भयङ्कर ठूलो समस्या आउँदैन । नीति र नेतृत्वमा ठूलो विवाद छैन । सानातिना विवाद हामी मिलाउँछौँ ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष पद बाँडफाँटमा विवाद भएको भन्ने चर्चा छ नि ?
सबैभन्दा ठूलो पार्टीका नेताको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुहुन्छ । यसमा कुनै विवाद छैन । पार्टी अध्यक्षका बारेमा पनि छलफल गरेर टुङ्गोमा पुग्छौँ । माओवादी अध्यक्ष प्रचण्ड पनि महत्वपूर्ण व्यक्ति हो । एउटा पार्टीको नेतृत्व गरेर आउनुभएको छ । उहाँलाई सम्मानजनक ठाउँ त दिनैपर्छ । यो विषयमा हामी छलफल गर्दैछौँ । चाँडै निष्कर्षमा पुग्छौँ ।

आज बस्ने पार्टी एकता संयोजन समितिको बैठकले के गर्छ ?
सकेसम्म आजको बैठकले नयाँ क्षितिज छुन्छ । नेपाली जनताले आज नयाँ कुरा सुन्न पाउँछन् ।

प्रचण्डले तत्कालका लागि हामी सरकार बाहिर बस्छौँ, तपाईहरु सरकार बनाउनुस् भन्नुभएको हो ?
पार्टी एकता तुरुन्त नहुने अवस्थामा त्यस्ता तर्क आउँछन् । त्यसैले अब पार्टी एकता ढिला गर्नु हुँदैन । ढिला भयो भने प्रतिकुल दिशातर्फ जान्छ । त्यसकारण पार्टी एकतालाई प्राथमिकता दिने कुरा एकता संयोजन समितिले गर्छ । आज ठोस कदम चाल्छ ।

अब प्रसङ्ग बदलौँ,

प्रदेश नम्बर एकको मुख्यमन्त्री कसलाई बनाउँदै हुनुहुन्छ ?
पहिला दलको निर्वाचन हुन्छ । दलले जसलाई नेता चयन गर्छ, उही मुख्यमन्त्री बन्छ ।

तपाई पनि प्रदेश नम्बर एकबाट प्रतिनिधिसभामा चुनाव जित्नुभएको नेता, तपाईको दलको मुख्यमन्त्री बन्दैछन् । कसलाई बनाउने भन्नेमा तपाईको भूमिका होला नि ?
यो गोप्य मतदानको कुरा हो । अहिले नभनौँ । तर भिम आचार्य वरिष्ट नेता हुनुहुन्छ । उहाँकै सम्भावना देख्छु म ।

प्रदेश नम्बर तीनमा राजेन्द्र पाण्डे कि अष्टलक्ष्मी शाक्य ?
यसमा अष्टलक्ष्मी शाक्यको बढि मत देखेको छु । आकांक्षी साथीहरु अरु पनि हुनुहुन्छ । सबैलाई राम्रो मूल्याङ्कन गर्नैपर्छ । तर प्रदेश नम्बर तीनमा शाक्य नै अगाडि हुनुहुन्छ ।

वाम गठबन्धनको सरकारमा सघीय समाजवादी फोरमलाई पनि सहभागि गराउने तयारी हो ?
यो पछिको कुरा हो । सम्भावना त हुन सक्छ । हामी अरु दलहरुलाई पनि समेटेर नै अगाडि बढ्ने पक्षमा छौँ ।

प्रतिक्रिया