चितवन स्थित शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआर शुरु, औद्योगिक क्षेत्र निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने – मेयर श्रेष्ठ

इनेप्लिज २०७४ माघ १६ गते २३:०० मा प्रकाशित

शिशिर सिंखडा
कालिका, चितवन, १६ माघ ।
चितवनको शक्तिखोरमा स्थापना हुने शक्तिखोर औद्योगिक क्षेत्रको डिपिआर (विस्तृत परियोजना विवरण) शुरु भएको छ । गत माघ ७ गतेबाट इको कोड नेपाल नामक संस्थाले नेपाल सरकार, उद्योग मन्त्रालय अन्तर्गत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सँग सम्झौता गरी कार्य थालेको छ ।

शक्तिखोर औद्योगिक क्षेत्रको १० महिनाभित्र डिपिआर र इआईए सम्पन्न गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सो रिपोर्ट बुझाउने सो संस्थाका इन्जिनियर कुमार धमलाले जानकारी दिए । नेपाल सरकार मन्त्रिपरिषदको १ प्रदेश १ औद्योगिक क्षेत्रको नीति अन्तर्गत २०७३ फागुन ३ गतेको निर्णय अनुसार चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको थियो ।

सो क्षेत्र उदयपुर सामुदायिक वन अन्तर्गतको क्षेत्र हो । शक्तिखोर औद्योगिक क्षेत्रमा १ हजार ७ सय ४१ बिगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रारम्भिक सर्वेक्षण भईसकेको छ । आज मंगलबार कालिका नगरपालिकाका जनप्रतिनिधि, चितवन उद्योग संघका अध्यक्ष, इको कोड नेपालको इन्जिनियर लगायतका टोलीले सो क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । औद्योगिक क्षेत्र निर्माण स्थलमा स्थापना गर्न सकिने उद्योगको संख्या, कुन प्रकारका उद्योग संचालन गर्न सकिने, स्थानीयलाई दिन सकिने सुविधा, वातावरणीय प्रभाव लगायतका विषयमा डिपिआर र इआईएको समयमा विस्तृत अध्ययन गरी औद्योगिक व्यवस्थापन लिमिटेडलाई रिपोर्ट बुझाइने इन्जिनियर धमलाले जानकारी दिए ।

शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र निर्माण गर्न नेपाल सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले बताए । औद्योगिक क्षेत्र निर्माण गर्न उद्योग संघले गर्नुपर्ने सबै प्रकारका सहयोग गर्न आफुहरु तयार रहेको भन्दै भोगाधिकार सहितको उद्योग संचालन गर्ने सम्बन्धमा सबै उद्योगीहरु उत्साहित रहेको बताए । सो क्षेत्रको डिपिआर र इआईए १० महिना अगावै सम्पन्न गर्न सके उद्योगहरु छिटो भन्दा छिटो संचालन गर्न सकिने भन्दै दुवाडीले आगामी आर्थिक वर्षकै असारमा नेपाल सरकारबाट प्रस्तुत हुने बजेट मार्फत् सम्बोधन गरी औद्योगिक क्षेत्रमा शिलान्यास गराउने पक्षमा उद्योग संघ रहेको समेत उनले बताए ।

सोही अवलोकनको क्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले यसै नगरपालिकाको वडा नं. ३, ७ र ८ को क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र निर्माण गर्न नगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग रहने बताए । स्थानीय सामुदायिक वन, स्थानीय बासिन्दाहरु पनि औद्योगिक क्षेत्र निर्माण गर्ने पक्षमा रहेको समेत उनले बताए । अवलोकन कार्यक्रममा कालिका नगरपालिकाका वडा अध्यक्षहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया