ओली र प्रचण्ड अभिभावक भएर बस्नुपर्छ : योगेश भट्टराई

इनेप्लिज २०७४ पुष २३ गते १४:३७ मा प्रकाशित

  • हामीसँग पनि राजनीतिक सहमति गरेर प्रदेश प्रमुख तोक्नुपर्छ
    यो सरकारको निर्णय उल्ट्याउने नयाँ सरकारको अधिकारको कुरा हो
    बहुदलीय जनवादको भावनाविपरित कोही पनि जाँदैन
    प्रचण्डलाई अध्यक्ष मान्न तयार नभएको अवस्था होइन
    मान्छेरुलाई बुझाउन सकिन होला, त्यो मेरै कमजोरी हो

पछिल्लो सयम सरकार र वाम गठबन्धनबिच दुरी बढ्दै गएको छ । जसका कारण प्रदेश प्रमुख कसलाई बनाउने भन्नेमा सहमति हुन सकेन । प्रदेशको अस्थायी राजधानी तोक्ने काम सरकारले नगर्ने भएको छ । त्यसैगरी नेकपा एमाले र माओवादीबिचको पार्टी एकता पनि लामो समयदेखि छलफलकै क्रममा छ । यिनै विषमा केन्द्रित रहेर ऋषि धमलाले एमालेका सचिव योेगेश भट्टराईसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रदेश प्रमुख तोक्नका लागि वाम गठबन्धनले सरकारलाई अनुमति दिएको हो ?
संविधानका कतिपय व्यवस्थाहरुले प्रदेश प्रमुख र राजधानी तोकेर अगाडि बढ्नुपर्छ भन्ने कुरा आइसकेकाले सोही अनुसार सरकारले काम गरोस् । तर अहिलेको सरकारले प्रदेश प्रमुख तोक्दा आसन्न नयाँ सरकारको मुख्य हिस्सेदार भनेका नेकपा एमाले र माओवादी हो । त्यसैले हामीसँग पनि राजनीतिक सहमति गरेर प्रदेश प्रमुख तोक्नुपर्छ भन्ने हाम्रो भनाई हो ।

तर सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताहरुले सहमति दिनुभएन । किन ?
सरकारका तर्फबाट प्रदेश प्रमुखको नाम नै प्रस्ताव गरिएको छैन । कसरी सहमति दिने ?

प्रदेश प्रमुखको नाममा सहमति चाहिन्छ भन्न खोज्नुभएको हो ?
पाँच वर्षका लागि बन्ने सरकारसँग प्रदेश प्रमुखको बारेमा सहमति भयो भने सबैलाई राम्रै हुन्छ । व्यक्तिगत हिसाबले प्रदेश प्रमुखलाई पनि सहज हुने थियो । प्रधानमन्त्रीले कसरी गर्नुहुन्छ हेरौँ ।

प्रधानमन्त्रीले त प्रशासनिक क्षेत्रमा लामो समय काम गरेको योग्य मान्छेलाई प्रदेश प्रमुख बनाउने कुरा गर्नुभएको छ नि ?
उहाँले भनेको मापदण्ड ठिकै होला । त्यो त संविधानमै उल्लेख छ । तर ति व्यक्तिको पनि नाम त चाहियो । सहमति गर्नुपर्यो ।

सहमति नगरी गरिएका नियुक्ति अब बन्ने सरकाले उल्ट्याउने हो ?
उल्ट्याउने वा सुल्ट्याउने भन्ने कुरा नयाँ सरकारको अधिकारको कुरा हो । त्यो अधिकारलाई नचाहिदो ढंगले प्रयोग गर्दैनौँ ।

पार्टी एकता प्रक्रिया कहाँ पुग्यो ?
नयाँ सरकार गठन गर्नुअघि नै पार्टी एकता गर्ने गरी छलफल भइरहेको छ । आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ । पार्टी एकता भनेको झन्झटिलो प्रक्रिया पनि हो । दुईवटा ठूला कम्युनिष्ट पार्टीहरु मिलाएर एउटा पार्टी बन्ने कुरा हो । नयाँ पार्टी बनाउँदा वैचारिक र संगठनात्मक हिसाबले नयाँपन आउँछ । विशाल कार्यकर्ता र पार्टी सदस्यहरुको व्यवस्थापन गर्ने काम पक्कै पनि अजङ्गको काम हो । तर हामी अगाडि बढाएर सरकार गठन गर्नुअघि नै एकता प्रक्रिया टुङ्ग्याउने प्रयासमा छौँ ।

सैद्धान्तिक रुपमा दुई पार्टीबिच मतभेद देखिएको छ । कसरी मिलाउनुहुन्छ ?
सैद्धान्तिक कुरामा धेरै अन्तरविरोध छैन । बहुदलीय जनवाद र २१ शताब्दीको जनवादमा धेरै ठूलो बहस छैन । हामी दुईवटै पार्टीलाई यही सिद्धान्तले यहाँसम्म ल्याएको छ । दुवै सिद्धान्तमा केही समानताहरु छन् । समानतालाई लिएर अगाडि बढ्ने हो । मतभिन्नतालाई थाँती राख्न सकिन्छ । अथवा बहस गर्दै जान पनि सकिन्छ । मूल सिद्धान्त त संविधानको प्रस्तावनामा नै समाजवादउन्मुख अर्थतन्त्र भनेर उल्लेख गरेका छौँ । हाम्रो लागि पनि यो मार्गदर्शक सिद्धान्त हो ।

बहुदलीय जनवादलाई एकतापछि कसरी समेट्नुहुन्छ ?
बहुदलीय जनवादको भावनाविपरित कोही पनि जाँदैन । किनकी यो भनेको नेपाली क्रान्तिको सिद्धान्त हो । समाजवादसम्म पुग्ने आधार तयार गर्ने हो । तर ४९ सालमा बहुदलीय जनवादको व्याख्या जसरी गरियो, त्यसको हुबहु व्याख्या गर्न अहिले सम्भव छैन । परिमार्जन हुन्छ । माओवादीले भनेको २१ औँ शताब्दीको जनवादको व्याख्या पनि हुबहु हुँदैन ।

नीतिगत रुपमा दुई पार्टीबिच विमति छैन ?
छैन । भएछ भने बहस गर्दै जान्छाँै ।

नेतृत्वको विषयमा चाँही ठूलै विमति छ हैन ?
नेतृत्वको कुरा त प्रष्टै छ नि, अलिअलि हाम्रा बिचमा यसो हुनु पथ्र्यो भन्ने कुराहरु त छन् । हामी सबैलाई थाहा छ कि, एमाले, कांग्रेस, माओवादी, राप्रपा लगायतका दलका विभाजन नेतृत्वकै कारणले भएको थियो । त्यसकारण नेतृत्वको विषय सेन्सेटिभ त छ नि । प्रधानमन्त्री, पार्टी अध्यक्ष, ससंदीय दल सबैको नेतृत्व एमालेकै अध्यक्षलाई बनाउन पाए हुन्थ्यो भन्ने हामीलाई लाग्छ । यही कुरा माओावदीका नेताहरुलाई पनि लागेको होला । तर एकतामा यो सम्भव छैन । हामीले समझदारीको बाटो खोज्नुपर्छ ।

माओवादीका नेताहरुले अबको प्रधानमन्त्री केपी शर्मा ओली भनेर भन्दै हिँडेका छन् । एमालेका नेताहरुे चाँही एकतापछि पार्टी अध्यक्ष प्रचण्ड भनेर किन भन्न नसक्नुभएको ?
माओवादीले पनि औपचारिक निर्णय केही गरेको छैन । तर पनि ठूलो पार्टीको अध्यक्ष भएकाले ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गर्नु सामान्य कुरा हो । पार्टी एकतापछि हामी पनि प्रचण्डलाई अध्यक्ष मान्न तयार नभएको अवस्था होइन । माओवादी केन्द्रका साथीहरु पनि केपी ओलीलाई वा एमालेका कोही नेतालाई एकीकृत पार्टीको अध्यक्ष मान्नुहुन्न भन्ने पनि होइन । समझदारीपूर्ण ढंगले जान सकिएन भने त एकता नै हुँदैन नि ।

तपाईले शीर्ष नेताहरु अभिभावक बनेर बस्नुपर्छ भन्नुभएको छ । किन ?
त्यो एउटा विशिष्ट सन्दर्भमा मैले भनेको थिँए । त्यसमा विभिन्न टिकाटिप्पणी भएका छन् । त्यसैले धेरै बहस गरिरहनु औचित्यपूर्ण छ भन्ने लाग्दैन । भन्न चाँही मैले ओली र प्रचण्ड अभिभावक भएर बस्नुपर्छ भनेकै हो ।

यही कुराले तपाईको आलोचना भयो नि ?
मैले भनेको कुरामा विमति राख्न त पाइहाल्छन् नि । म को हो र मैले भनेका कुरामा विमति राख्न नपाउने ? त्यसमा पनि मलाई विरोध गर्ने कुरालाई त म स्वागत गर्छु । म त वुद्धको देशमा जन्मिएको मान्छे हुँ । वृद्धको सन्देश र उपदेशले नै मलाई प्रशिक्षित गरेका छन् । विरोध र विमति सहन सक्छु ।

तपाईले त्यसो भन्नुको आधार के हो त ?
मैले यो कुरा उठाउँदा मेरो विरोध हुन्छ भन्ने मलाई थाहा थियो । पृथ्वीले सूर्यलाई घुम्छ भन्दा पनि त्यतिबेला कति सत्य थियो ? त्यो भनेको कारणले दुनियाँमा कति ठूलो विरोध भयो । हङ्गामा भयो नि । सत्य कुरा पचाउन मान्छेलाई केही समय लाग्छ । भरे अध्याँरो हुन्छ, भोली विहान उज्यालो हुन्छ भन्यो भने कुरालाई नमानेर ढिपी कसेर हुँदैन नि । यस्तो कुरामा त म बहस गरेर बसिरहन्न । तर भोली विहानसम्म पर्खिनुस्, मैले भनेका कुरा भइहाल्छ ।

त्यसोभए प्रचण्ड र ओलीले विश्राम गर्नुपर्छ भन्ने निष्कर्षमा तपाई पुग्नुभएको हो ?
अब म यो कुरामा धेरै बहस गर्न चाहन्न । केही सन्दर्भमा भनेको थिएँ । तर मान्छेरुलाई बुझाउन सकिन होला । त्यो मेरै कमजोरी हो ।

इश्वर पोखरेलको दबाबमा तपाईले यो प्रस्ताव ल्याउनुभएको भन्ने आरोप छ नि?
मलाई कसैको दबाब छैन । म आफैँ बुझ्छु नि । इश्वर पोखरेललाई त्यस्तो लाग्यो भने आफैँ भनिहाल्नुहुन्छ नि ।

प्रतिक्रिया