को हुन् कमल थापा ? यस्तो छ दिलनाथ गिरीको खुलासा (भिडियोसहित)

इनेप्लिज २०७४ पुष १६ गते १४:३१ मा प्रकाशित

१६ पुस, काठमाण्डौ । पार्टीको हित विपरित काम गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापाले शहरी विकास मन्त्रीबाट दिलनाथ गिरीलाई फिर्ता बोलाउने निर्णय गरेपछि विवाद बढेको छ ।
मन्त्रीबाट फिर्ता बोलाइएका गिरीले गलत किसिमको प्रोपोगाण्डा गरेको आरोप अध्यक्ष थापामाथि लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गिरीले आफूले पाएको जिम्मेवारी अनुसार अनुशासनभित्रै रहेर काम गर्दै आएको दाबी गरे ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नेता गिरी शहरी विकास मन्त्री बनाइएका थिए । धमलासँगको कुराकानीका क्रममा गिरीले स्वार्थबाट प्रेरित भएर अध्यक्ष थापाले आफूलाई मन्त्रीबाट हटाएको आरोप लगाए ।

“कमल थापालाई जनताले चिनेका छन् । मैले पनि चिनेको छु । उहाँ नेतृत्वदायी क्षमता भएको नेता हो । त्यसैले सहयोग र साथ दिदै आएको थिएँ ।” गिरीले गुनासो गरे ।
विगतमा पार्टीभित्रै कमल थापालाई विभिन्न आरोप लगाएर बदनाम गराउन खोज्दा आफू थापाको पक्षमा उभिएको स्मरण गर्दै उनले आफूले नियम र पद्धतिलाई नाघेर कुनै काम नगर्दा पनि कारबाही गरिएको बताएका छन् ।

“म उहाँको असल मित्र हुँ तर दास होइन ।” गिरीले भने । थापाको पक्षमा हरेक कुरामा डिफेन्स गरेकाले कतिपयले आफूलाई दासको रुपमा हेर्ने गरे पनि आफू पार्टीको सिद्धान्तप्रति जिम्मेवार भएको उनको तर्क छ ।

मन्त्रीबाट हटाउनुपर्ने गरी आफूले कुनै काम नगरेको दाबी गर्दै गिरीले अध्यक्ष थापाबाट मन्त्रीपरिषदमा नै रुद्र रुप देखाएर सबैलाई आतङ्कित पारेको आरोप लगाए ।
मन्त्रीपरिषद् बैठकमा आफूले शहरी विकास मन्त्रालयमा योग्य व्यक्तिलाई सचिवको रुपमा ल्याउनुपर्ने भन्दै सल्लाह लिँदा अध्यक्ष थापा आक्रोषित भएको उनको भनाई छ ।

अध्यक्ष थापाले आफूसँग सल्लाह नगरी सचिवको प्रस्ताव गरेको भन्दै आफूमाथि खनिएको गिरीले बताए । रुद्र रुप देखाएर बैठकमा नै आफ्नो राजिनामा मागिएको गिरीले बताए । अत्यन्तै अमर्यादित, अप्रजातान्त्रिक रुपमा प्रस्तुत भएपछि आफैले विनम्रताका साथ राजिनामा दिन कुनै आपत्ति नभएको जानकारी गराएको गिरीको दाबी छ ।

“तपाईलाई त्यो कुर्सीमा बस्ने जनादेश छ कि छैन त्यो पनि हेक्का राख्नुस् । मैले भनेँ ।” गिरीले स्मरण गराए । “यति कारणले मन्त्री पदबाट हटाइन्छ भने कमल थापा कुन प्रजातन्त्रको कुरा गर्नुहुन्छ ? नेपाली जनतालाई भ्रम पार्ने ?”

वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा लागेका नेताले गलत काम गरेको गिरीको ठहर छ । “आफुले गल्ती नै गरेको भए पनि एक पटक सल्लाह गरेर वा सचेत गराएर सम्झाउन सकिने अवस्था थियो ।” गिरीले भने ।

कुनै पनि छलफल नगरी विधि र प्रक्रियाका मिचेर आफूलाई हटाइएको भन्दै गिरीले अध्यक्ष थापाको दुर्गतिको दिन सुरु भएको बताए । अब कमल थापाको निरङ्कुश शैलीको विरुद्धमा पार्टी भित्रै रहेर संघर्ष गर्ने गिरीले बताएका छन् ।

आफू इमानदार र अनुशासित भएको भन्दै पशुपतिशमशेर र प्रकाशचन्द्र लोहोनी जस्ता नेतालाई सम्हाल्न नसक्ने कमल थापाले पार्टीलाई बलियो बनाउन नसक्ने दाबी गिरीले गरे ।
थापाले पार्टीलाई पारिवारिक क्लबको रुपमा संचालन गरको गिरीको आरोप छ ।

चुनावमा पार्टीले पराजय भोगेपछि अध्यक्ष पदबाट थापाले राजिनामा दिनुपर्ने गिरीको भनाई छ ।

प्रतिक्रिया