संविधान संशोधन हुने पक्का भयो भने हामी सरकारमा जान्छौँ : उपेन्द्र यादव

इनेप्लिज २०७४ पुष १४ गते २:१२ मा प्रकाशित

नयाँ सरकार गठन पेचिलो बन्दै गएको छ । एमाले र माओवादीबिच सहजै कुरा नमिलेको अवस्थामा जुनसुकै दलबिच पनि सहकार्य भएर सरकार बनाउन सक्ने अवस्था छ । नयाँ सरकार गठन, मधेशवादी दलको धारणा, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश लगायतका विषयमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

संघीय समाजवादी फोरम माओवादीसँग सहकार्य गर्ने पक्षमा हो ?
म त सबैसँग सहकार्य गर्ने पक्षमा छु ।

तर तपाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने रणनीतिमा हुनुहुन्छ रे ?
त्यस्तो केही रणनीति बनेको छैन । प्रचण्डसँग केही कुराकानी नै भएको छैन ।

केपी शर्मा ओलीसँग चाँही के कुरा भयो ?
मिलेर काम गर्ने, देश बनाउने कुरा राख्नुभयो ।

तपाई सरकारमा जाने तयारीमा हो ?
ओलीले सरकारमा जाने कुरा गर्नुभएको छ । निश्चित रुपमा हामी सरकारमा जान्छौँ । तर हामीले उठाएका मुद्दामा उहाँहरु सहमति भएको खण्डमा मात्रै जाने हो । संविधान संशोधन गर्ने, आदीवासी, जनजातीहरुले उठाएका माग पूरा गर्ने र संविधानका त्रुटीहरुलाई सच्याउने वातावरण बन्यो भने हामी सरकारमा जान्छौँ ।

संविधान संशोधनमा एमाले वा वाम गठबन्धन लचिलो भयो भने सरकारमा जाने हो ?
लचिलो होइन । संशोधन गर्ने नै हो भने मात्रै सरकारमा जान्छौँ । गरेर देखाउनुपर्यो नि ।

केपी ओली संविधान संशोधनमा लचिलो हुनुभएको हो ?
त्यो त उहाँले नै भन्नुहोला । संविधान संशोधनमा सहयोग गर्नुहुन्छ भने सरकारमा जान्छौँ ।

फोरम मात्रै जाने कि राजपा पनि ?
दुवै दलको कुराहरु करिब करिब उस्तै छ । संविधान संशोधन भयो भने दुवै दल सरकारमा जान्छौँ । हामीले उठाएका मुद्दाहरुलाई छाडेर सरकारमा जाने कुरा हुँदैन ।

अब त विकास र समृद्धीका लागि पनि सरकारमा जानुपर्छ होला नि ?
विकास त हुनुपर्छ । तर राजनीतिक समस्या हल नगरी विकास हुँदैन । विकासकै लागि विभेद, असमानता र उत्पिडन अन्त्य गरौँ भनेको हो । वाम गठबन्धनलाई जनताले मत दिएको छ । उनीहरुले सरकार बनाउने कुरालाई हामी सकारात्मक रुमपा लिन्छौँ । भ्रष्टाचारको अन्त्य र सुशासनका लागि त हामी भूमिका खेल्छौँ नै ।

ओली र प्रचण्डकोबिचमा कुरा मिलेन भने के गर्ने ?
त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको बिचमा समझदारी बनोस् भन्ने चाहन्छु । समझदारी गरेर राम्रो काम गरुन्, जिम्मेवारी निभाउन्, संविधान संशोधन गरुन्, आर्थिक विकासलाई तीब्र रुपमा अगाडि बढाएर गरिबी र बेरोजगारी हटाउन् । यसैका लागि जनताले उहाँहरुलाई भोट दिएका हुन् ।

उहाँहरु मिल्न सक्नुभएन भने तपाईको सहयोग कसलाई हुन्छ ?
जसले हाम्रो मुद्दाको सुनुवाई गरेर हल गर्न सक्छ उसैलाई सहयोग गछौँ । जनताका मुद्दाहरुलाई समाधान गर्न जो तयार हुन्छ त्यही हाम्रा लागि नजिक हुन्छ ।

तर तपाईहरुको भूमिका त महत्वपूर्ण देखिएको छ नि ?
हामी त सबैलाई सहयोग गर्न तयार छौँ । तर हामीलाई कसले सहयोग गर्छ ? त्यो पनि हेर्नुपर्यो नि ।

एमालेलाई बाहिर राखेर नयाँ सरकार बन्नसक्ने अवस्था छ कि छैन ?
अहिलेको अवस्थामा एमाले मात्रै बाहिर रह्यो भने पनि सरकार बन्छ । माओवादी मात्रै बाहिर रह्यो भने पनि सरकार बन्छ ।

कांग्रेस र माओवादी बाहिर रहेर पनि सरकार बन्छ ?
बन्छ । सम्भावना छ । एमाले र मधेशवादी दलबिच सहकार्य भयो भने पनि सरकार बन्छ । तर संविधान संशोधन गर्नु पहिलो शर्त हो ।

विकल्प केके हुन सक्छ ?
वाम गठबन्धनको सरकार नै पहिलो विकल्प हो । एमालेबाहेकको सरकार दोस्रो विकल्प हो । तेस्रो सम्भावना कांग्रेस र एमाले मिलेर बनाउने हो । चौँथो सम्भावना भनेको एमाले र मधेशका शक्तिहरु मिलेर सरकार बनाउने हो । तर कुन सम्भावनातर्फ मुलुकलाई लाने हो र त्यसले के उपलब्धि हासिल हुन्छ भन्ने विचार गर्नुपर्छ । तर जनमतको कदर हुने गरी सरकार बनाउनुपर्छ ।

तपाई एमालेसँग नजिक हुनुभएको हो ?
हामी कसैसँग पनि टाढा छैनौँ । तर हामीसँग को नजिक हुन्छ भन्ने मुख्य कुरा हो । मुलुकको समस्यालाई कसले समाधान गर्छ भन्ने कुरा हामी हेछौँ ।

राजपा र फोरमबिचमा एकता हुन सक्छ ?
असम्भव के छ र ? तर अहिले यस विषयमा कुरा भएको छैन ।

राजेन्द्र महतोले त छिटै पार्टी एकता हुन्छ भनिसक्नुभयो त ?
त्यो कुरा उहाँको पार्टीले निर्णय गरेर अगाडि बढ्दा हुन्छ । राजपामा ६ जना अध्यक्ष छन् । ६ थरी कुरा गरेर त हुँदैन नि । राजपाले आधिकारिक निर्णय गरेर आयो भने हामी छलफलका लागि तयार छौँ ।

प्रदेश नम्बर २ मा कस्तो सरकार बन्छ ?
मधेशको मुद्दा राष्ट्रिय मुद्दा हो । यि मुद्दाहरुलाई हल गर्दै राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउँदै देशलाई आर्थिक समृद्धितर्फ लैजाने हाम्रो लक्ष्य हो । यसका लागि प्रदेश नम्बर २ मा सरकार बनाउनुपर्छ । अहिलेसम्म चाँही छलफल भएको चाँही छैन । तर राजपा र फोरम मिलेर नै सरकार बन्छ ।

मुख्यमन्त्री कुन दलको हुन्छ ?
निश्चित रुमपा हाम्रो दलको हुन्छ । यो त राजपाले स्विकार गरिसकेको कुरा हो ।

मुख्यमन्त्री कसलाई बनाउनुहुन्छ ?
त्यो पार्टीले निर्णय गर्छ । प्रदेशमा गभर्नर नियुक्ति भएपछि र समानुपातिकको नतिजा आएपछि टुङ्गिन्छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी हुन सकेको छैन । यसमा तपाईको धारणा के हो ?
राष्ट्रपतिले मुलुकमा राजनीतिक निकास दिनका लागि अध्यादेश स्विकृत गर्नुपर्छ । पछि संसदले अध्यादेश खारेज गर्न पनि सक्छ, संशोधन गर्न पनि सक्छ । तर गतिरोध त फुकाउनुपर्छ । राजनीतिलाई अन्योलमा राख्नु हुँदैन ।

एमाले त तयार छैन नि अध्यादेश जारी गर्नका लागि ?
तयार नभए विकल्प के त ? कुन नियमका आधारमा राष्ट्रियसभा गठन गर्ने त ? नयाँँ सरकार कसरी बन्छ ?

एमालेले त प्रतिनिधिसभाबाट नयाँ बनाएर अघि बढ्ने भनिरहेको छ नि ?
हुनुपर्ने त्यही हो । तर उहाँहरुले नै उल्टो संविधान बनाउनुभयो । उहाँहरुले नै लेखेको संविधान उल्टापुल्टा छ । राष्ट्रियसभा गठन नभै सरकार बन्न नसक्ने संविधान त उहाँहरुले नै लेख्नुभएको हो नि ।

प्रतिक्रिया