राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँ: बालकृष्ण खाँड

इनेप्लिज २०७४ पुष ६ गते ०:३४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड प्रभावशाली नेता हुन् । पछिल्लो समय उनको बोली नै कांग्रेसको बोली जस्तै बन्दै गएको छ । निर्वाचन परिचालन समितिको संयोजकको भूमिका निभाएकाले पनि खाँड अझ प्रभावकारी नेता बन्दै गएका छन् । पछिल्लो समय राष्ट्रियसभा गठनसम्बन्धी विधेयक राष्ट्रपतिले रोकेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । अर्कोतिर कांग्रेसले एकपक्षीय रुपमा विधेयक बनाएको भन्दै त्यसलाई स्विकृत नगर्न राष्ट्रपतिलाई दबाब दिदै आएको छ । यिनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले खाँडसँग अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी विधेयकमा भइरहेको विवाद कसरी मिल्छ ?

राष्ट्रियसभाको चुनाव नेपालमा मात्र होइन, जहाँ पनि एकल सङ्क्रमणीय पद्धतिमै हुने गरेको छ । भाषिक, लैङ्गिक, जातीय लगायतका विविधताको प्रतिबिम्ब राष्ट्रियसभामा झल्किनुपर्छ । त्यसका लागि एकल सङ्क्रमणीय मतका आधारमा चुनाव गर्नुपर्ने हुन्छ । राष्ट्रियसभाको चुनाव कहिँ पनि बहुमतीय पद्धतिबाट हुँदैन ।

नेपालको संविधानमा प्रष्ट रुपमा लेखिएको छैन । तपाईहरु आफ्नै स्वार्थमा व्याख्या गर्नुहुन्छ किन ?

संविधानमा नलेखिए पनि राष्ट्रियसभासम्बन्धी ऐन बन्ने छ भनेर उल्लेख गरिएको छ । सोही अनुसार हामीले ऐन बनाएका हौँ । २ महिनाअघि नै पेश गरेको अध्यादेश राष्ट्रपतिले रोक्ने अनि विवाद भयो भन्न मिल्छ ?

२,४ सिट बढाउन पाइन्छ भनेर तपाईहरु एकल संक्रमणीय मतको प्रयो गर्न खोज्दैहुनुहुन्छ भन्ने आरोप छ नि ?

त्यो आरोप विल्कुल गलत हो । राष्ट्रियसभामार्फत विविधतामा एकता स्थापित गर्न खोजिएको हो ।

राष्ट्रपतिले त सहमति गर भनेर दलहरुलाई भनिरहनुभएको छ नि ?

राष्ट्रपतिले संविधानको पालना गर्नुपर्छ । प्रधानमन्त्री र जनादेश प्राप्त गरेका दलहरुले पनि गर्नुपर्छ । जसले संविधान बनाएको छ उसैले मिच्न मिल्छ ?

कांग्रेसले चुनाव हारेको रिस राष्ट्रपतिमाथि पोख्यो भन्ने आरोप छ नि ?

त्यो विल्कुल होइन । राष्ट्रपतिप्रति हाम्रो कुनै आग्रह पूर्वाग्रह छैन । उहाँ मुलुकको राष्ट्रपति हो । उहाँले संविधानका पालना र रक्षा गर्नुपर्छ । कुनै पार्टीको अमुक नेताले निर्देश गरेको भरमा राष्ट्रपति चल्नु हुँदैन ।

राष्ट्रपतिले अध्यादेश स्विकृत गर्नुभएन भने के गर्नुहुन्छ ?

अध्यादेश स्विकृत भएन भने हामी कानुनी प्रक्रियामा जान्छौँ । कानुनी प्रक्रियाको अवलम्बन हामीले गरिन्छ ।

कुनकुन कानुनी प्रक्रियाको अवलम्बन गर्नुहुन्छ ?

कानुनमा जे छ, त्यसअनुसार जनतालाई अपिल गछौँ । हजारौँ शहीदहरुले बलिदान गरेर बनेको संविधानको कसैले अपमान गर्न पाउँदैन ।

एउटा लोकतान्त्रिक पार्टीले अरु कुदै दलको बहुमत आएपछि पनि सरकारमा बसिरहन मिल्छ ?

सरकारका लागि महुमत आएको कुरा त निर्वाचन आयोगले भन्नुप¥यो नि । निर्वाचन आयोगले प्रमाणपत्र दिनु पर्दैन ? संसदीय दल गठन हुनु पर्दैन ? संसदीय दलको चयन हुनुपर्दैन ? सरकार सडकबाट बन्छ कि सदनबाट ?

वाम गठबन्धनको बहुमत त आइसकेको छ नि ?

१ सय ६५ जना प्रत्यक्षतर्फका विजेता मात्रै थाहा भएको हो । समानुपातिकबाट आउने १ सय १० जना को को हुन् ? कसलाई थाहा छ ?

कांग्रेसलाई २,४ दिन भए पनि सत्ताको लोभ छ भन्ने आरोप लागेको छ नि ?

हामीलाई सत्ताको मोह छैन । नियमअुनसार सत्ता हस्तान्तरण गर्न कांग्रेस तयार छ । सत्ता हस्तान्तरणको बाटो खुलेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एक घण्टा पनि ढिलो नगरी सरकार छाड्नुहुन्छ । तर अब राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन । त्यसैले राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्ने हो । तर नेकपा एमालेले देशमा संविधान कार्यान्वयनका लागि चुनाव गराउने सरकारलाई धन्यवादसम्म नदिई सरकारमा जान हतार गरे ।

कांग्रेसका केही नेताहरुले पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाएका छन् नि ?

कांग्रेसको पहिलो केन्द्रिय समितिको बैठक बस्छ । चुनावी समिक्षा हुन्छ । त्यसपछि महासमितिको बैठक बस्छ । त्यसपछि कार्यनीति बनाएर अगाडि बढ्छौँ । नेपाली कांग्रेस एक ढिक्का भएर जान्छ ।

प्रतिक्रिया