तयारीकासाथ सेना मैदानमा उत्रिएको छ, परिस्थिती जटिल बनाइए हामी गोली प्रहार गछौँ : राजेन्द्र क्षेत्री, प्रधानसेनापति

इनेप्लिज २०७४ मंसिर २३ गते २३:५९ मा प्रकाशित

आज ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई मैदानमा उतारिएको छ । सबै सुुरक्षा निकायलाई आवश्यकता अनुसार गोली प्रहार गर्नेसम्मको अधिकार दिइएको बताइएको छ । यसैसम्बनधमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग अन्तवार्ता लिइएको छ । पत्रकार ऋषि धमलाले क्षेत्रीसँग लिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

निर्वाचनमा नेपाली सेनाको भूमिका कस्तो हुँदैछ ?
नेपाल सरकारको निर्णयअनुसार नेपाली सेना निर्वाचनका लागि परिचालित छ । मतपत्र छपाईदेखि ढुवानी हुँदै मतदान केन्द्रसम्म सेनाले सुरक्षा दिएको छ । सुरक्षित रुपमा मतदान गर्ने वातावरण सृजना गर्न का लागि सेनाको प्रयोग गरिएको हो । बम डिष्पोजल टोली खटाइएको छ ।

बम आतंक त छ नि ?
छिटफुट रुपमा बम पड्काउने काम भइरहेको छ । तर सम्भव भएसम्म नेपाली सेनाले सुरक्षित तरिकाले बम डिष्पोज गराएको छ । घरबाट मतदान केन्द्रसम्म आएर मतदान गर्न पूर्ण सुरक्षा प्रदान गरिएको छ ।

यदी मतदानमा कसैले अवरोध ग¥यो भने नेपाली सेनालाई गोली हान्ने अधिकार दिइएको छ भनेर रक्षामन्त्री भिमसेनदास प्रधानले भन्नुभएको छ । नेपाली सेनालाई गोली हान्ने अधिकार दिइएको हो ?
त्यो सही हो ।

कस्तो अवस्थामा गोली प्रहार हुन्छ ?
नेपाली सेना तेस्रो घेरामा छ । पहिलो एक्सन नेपाल प्रहरी र दोस्रो एक्सन शसस्त्र प्रहरीले लिन्छ । यदी स्थिती विकराल भयो भने नेपाली सेनाले एक्सन लिन्छ । प्रहरीले परिस्थिती काबुमा ल्याउन नसकेको खण्डमा सेनाले सैनिक कारबाही गरेर स्थिती सामान्य बनाउँछ । त्यस्तो अवस्थामा गोली चलाउन नपर्न नि सक्छ । यदी गोली चलाउन परेको खण्डमा सेना पछि हट्दैन । जसरी हुन्छ सेनाले समस्या समाधान गर्छ ।

समस्या समाधानका लागि सेना तयार छ ?
नेपाली सेनाले हरेक जिम्मेवारी राम्रोसँग पूरा गर्न सक्छ । सुरक्षाका लागि सेना प्रयोग गर्ने भएपछि सेना सबै बन्दोवस्त गरेर मात्रै फिल्डमा उत्रने गर्छ । यसपटक पनि जुन किसिमका चुनौति देखिएका छन्, त्यसलाई कसरी काउन्ट गर्ने भन्ने तयारीकासाथ सेना मैदानमा उत्रिएको छ ।

प्रतिक्रिया