प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का वाम उम्मेदवार पोख्रेल : हेर्नोस् चुनाव प्रचार प्रसारका ११ दृष्य र पढ्नोस् उनको १४ प्रतिवद्धता

इनेप्लिज २०७४ मंसिर १७ गते १३:२० मा प्रकाशित

 

शिशिर सिंखडा
भरतपुर, चितवन, १७ मंसिर ।
चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका युवा नेता कृष्णभक्त पोख्रेल वि.सं. २०२४ साल असार २० गते चितवनको पार्वतीपुरमा जन्मिएका हुन् । हाल नेकपा एमाले चितवनको अध्यक्ष समेत रहेका पोख्रेल २०७० सालको निर्वाचनमा चितवनकै क्षेत्र नं. ३ बाट संविधान सभा निर्वाचनमा एमालेका तर्फबाट विजयी सभासद् हुन् । बुबा विश्वनाथ र आमा रेव कुमारी पोख्रेलको कोखबाट जन्मिएका पोख्रेल चितवनका लोकप्रिय अधिवक्ता एवम् कानुन व्यवसायी समेत हुन् । बार एसोसियसन चितवनको जिल्ला अध्यक्ष समेत भईसकेका पोख्रेल नेपाल ल क्याम्पस काठमाडौंबाट कानुन विषयमा स्नातकोत्तर समेत गरेका छन् ।
संविधान सभा निर्वाचनमा विजयी भए पश्चात् संविधान मस्यौदाकार १२ जना मध्ये महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रुपमा समेत उनी रहेका थिए । उनको महत्वपूर्ण भूमिकाका साथ निर्माण भएको संविधान जारी समेत भईसकेको छ । उनै पोख्रेल अहिले चितवनको क्षेत्र नं. २ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार छन् । यस क्षेत्रमा चितवनको कालिका नगरपालिकाको ११ वटै वडा, इच्छाकामना गाउँपालिकाको ७ वटै वडा र भरतपुर महानगरपालिकाको २९ वटा वडा मध्ये १० वटा वडाहरु १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी कुल २८ वटा वडाका १ लाख ८ हजार २ सय १९ मतदाता छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने वाम गठबन्धनको कुल ३८ हजार ७ सय १ र लोकतान्त्रिक गठबन्धनलाई २६ हजार ५ सय २९ मत प्राप्त भएको थियो । यसैलाई आधार मान्ने हो भने यस क्षेत्रमा वाम गठबन्धन १२ हजार १ सय ६२ मतले अगाडि रहेको छ ।

भरतपुरकै १० नं. वडा, रमाईलोचोक स्थायी घर भएका वाम उम्मेदवार पोख्रेलले वाम गठबन्धनको प्राप्त मतको अलावा धेरै मत आफुलाई प्राप्त हुने बताएका छन् । उनले आफ्ना प्रतिष्पर्धी रत्ननगर नगरपालिका स्थायी घर भएका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शेषनाथ अधिकारीको भन्दा १५ हजार भन्दा बढी मत प्राप्त गरी आफु विजयी हुनेमा ढुक्क रहेको बताउँछन् ।

उम्मेदवारी दर्ता गरेपछिका दिनहरुमा आफ्नो क्षेत्रमा व्यस्त रहेका पोख्रेललाई प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का वामपन्थी उम्मेदवार घनश्याम दाहाल र २ “ख” का उम्मेदवार विजय सुवेदीले साथ दिईरहेका छन् ।

पढ्नोस् पोख्रेलका १४ प्रतिवद्धताहरु ः

१) भरतपुर महानगरपालिकामा साईकल मार्ग सहितको चक्रपथ, इच्छाकामना गाउँपालिका स्तरीय चक्रपथ र कालिका नगरपालिका स्तरीय चक्रपथ निर्माण गर्ने ।

२) त्रिशुली नदीलाई हुग्दी हुँदै डाइभर्सन गरी बिजुली, पानी र वैकल्पिक मार्ग निर्माण गर्ने ।

३) काउले, दाहाखानी, दारेचोक, शक्तिखोर, चण्डीभञ्ज्याङ्ग, सिद्धि, कविलास लगायतका ग्रामिण वस्तीहरुमा विद्युतीकरण सम्पन्न गर्ने ।

४) गाईघाटदेखि गोलाघाटसम्म नारायणी नदीको तटबन्धनको राम्रो प्रवन्ध गरी जलयात्रा संचालन गर्ने ।

५) पहाडी सडक भोर्ले, उपरदाङगढी, हात्तीवाङ, हुग्दी, फिस्लिङ, शक्तिखोर, मुग्लिङ, इच्छाकामना मन्दिर पुग्ने सडक निर्माण गर्ने ।

६) कविलास, दारेचोक, चण्डीभञ्ज्याङ्ग, दाहाखानी, काउले, शक्तिखोर, सिद्धिका प्रत्येक वस्तीमा शुद्ध खानेपानी उपलब्ध गराउने ।

७) जुटपानी, शक्तिखोर, सिद्धि हुँदै बाटो निर्माण गरी मलेखु तर्फ जाने चेपाङ मार्गमा जोडी ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्ने ।

८) देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास तथा इच्छाकामना मन्दिर, लामो झरना, उपरदाङगढी, सिराइचुली जस्ता पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने ।

९) नारायणगढ बजार र नारायणी किनारलाई सुन्दर, सफा, वातावरण मैत्री बनाई देशकै नमूना शहरको रुपमा विकास गर्ने । भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी, मेगा सिटीको रुपमा विकास गर्दै देशको दोश्रो पर्यटकीय एवम् व्यापारिक आकर्षणको केन्द्रको रुपमा विकास गर्ने ।

१०) शक्तिखोर औद्योगिक क्षेत्रलाई देशकै प्रमुख औद्योगिक केन्द्रको रुपमा विकास गर्ने । भरतपुर स्थित औद्योगिक प्रदर्शनी केन्द्रलाई बाह्रै महिना प्रदर्शनी रहन सक्ने अन्तर्राष्ट्रियस्तरको केन्द्रको रुपमा विकास गर्ने ।

११) भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्तर उन्नति गर्ने, क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र समग्र भरतपुरलाई मेडिकल सिटीको रुपमा थप प्रवद्र्धन गर्ने ।

१२) चितवनको पोल्ट्री, दुध, केरा, माछा, तरकारी जस्ता कृषिजन्य उत्पादन वृद्धिको लागि सहयोग तथा यसको देशव्यापी बजारीकरण, आधुनिक प्रविधियुक्त बनाईने र ग्रामिण साना किसानलाई व्यवसायिक बनाउन सहयोग गर्ने । भरतपुरमा व्यवस्थित फलफुल तथा तरकारी बजार निर्माण गर्ने ।

१३) अव्यवस्थित बसोबासी र सुकुम्बासीको जग्गा दर्ताको कामलाई नीतिगत तथा व्यवहारिक रुपमा सम्पन्न गर्ने । बालकुमारी क्याम्पाचौरलाई क्षेत्रीय खेलमैदान र नारायणी कला मन्दिरलाई सुविधा सम्पन्न सभाहल निर्माण गर्ने ।

१४) नगरपालिका तथा गाउँपालिकाहरुमा व्यवस्थित डम्पिङ्ग साइटको व्यवस्था गर्ने । सबैलाई गाँस, बाँस, कपासको व्यवस्था, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी तथा विभिन्न विकास निर्माण तथा पूर्वाधारहरु निर्माण गर्ने ।

प्रतिक्रिया