राजनीतिको माध्यमले समाजसेवा गर्न उम्मेदवार बनेको बताउँछन् डा. रामशंकर ठाकुर

इनेप्लिज २०७४ कार्तिक २६ गते १३:१४ मा प्रकाशित

रौतहटका प्रतिष्ठित चिकित्सक डा. रामशंकर ठाकुर समाजसेवा गर्न राजनीतिमा आएको बताउँछन् । राजनीतिमा उच्च शिक्षित, भलाद्मी, सभ्य तथा निःस्वार्थ सेवाको भावनाले लाग्ने मानिसको संख्या कम रहेकोले नै राजनीतिमा विकृति आएको बताउँदैँ डा. ठाकुर शासनसत्तामा शिक्षितहरुको पहुँच बढाउन आफू राजनीतिमा आएको बताएका छन् ।

दुई वर्षअघि उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका डा. ठाकुर वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल र जिल्ला अस्पताल गौरका प्रमुख रहिसकेका छन् । चिकित्सा क्षेत्रमा निकै नाम र प्रतिष्ठा कमाएका डा. ठाकुरले सर्वसाधारणले बाटोघाटोलाई मात्र समस्याको रुपमा देख्ने तर शिक्षा र स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा कम ध्यान दिने हुनाले मधेसको औसत आयु तथा स्वास्थ्यको अवस्था कमजोर रहेको बताएका छन् ।

रौतहटको अति दुर्गम मानिने क्षेत्र नम्बर दुईको क बाट प्रदेश सभाका लागि मधेस गठबन्धनको तर्फबाट विधानसभाका लागि उम्मेदवार बनेका डा. ठाकुरले आफ्नो क्षेत्रमा यातायात, शिक्षा, स्वास्थ्य लगायतको भौतिक पूर्वाधारको अत्यन्त खाँचो रहेको बताएका छन् । सदरमुकाम गौरबाट पाँच किलोमिटर पनि टाढा नरहेको आफ्नो क्षेत्रमा कम्तीमा बीस किलोमिटर घुमाउरो बाटो भएर जानु पर्ने वा भारतको बाटो भएर जानुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँछन् । जिल्लाको विकासको लागि शिक्षाको विकासको कुनै विकल्प नभएको डा. ठाकुरको भनाइ छ ।

प्रतिक्रिया