शाकाहारी चेतना फैलाउँदै डा. वीरेन्द्र झा

इनेप्लिज २०७४ कार्तिक २५ गते १६:०२ मा प्रकाशित

सञ्जय मित्र, रौतहट
रौतहटको विभिन्न विद्यालय तथा क्याम्पसमा पुगेर एकजना चिकित्सकले शाकाहारी चेतना फैलाइरहेका छन् । रौतहटको मत्सरीमा जन्मेर तीस वर्षसम्म रुसमा चिकित्सक पेसा अपनाएका डा. वीरेन्द्र झाले शाकाहारी भोजनभित्र लुकेको वैज्ञानिकता र मांसाहारी जीवनले शरीर तथा आयु र चिन्तनमा पार्ने प्रभावको विषयमा चेतना फैलाइरहेका छन् ।

करिब ३२ वर्ष अघि रौतहटको पिपराबाट एसएससी परीक्षामा जिल्लामा सर्वोत्कृष्ट भएका झा आइएस्सी परीक्षामा त्रिभुवन विश्वविद्यालयमा सर्वप्रथम भई रुसको लागि एमबीबीएस अध्ययन गर्न निशुल्क छात्रवृत्ति पाएका थिए । उतै घरजम गरेर बसेका झाले एमबीबीएससँगै अंग्रेजी साहित्यमा स्नातकोत्तर र एमबिए समेत उत्तीर्ण गर्न भ्याएका छन् । चिकित्सा क्षेत्रमा तीस वर्ष सक्रिय रहेर पूर्वीय शास्त्र तथा दर्शन समेतको गहिरो अध्ययन गरेर डा. झा शाकाहारी जीवनको महत्व बुझेको बताउँछन् ।

आफूले जीवन र अध्ययनको लामो अनुभवलाई भविष्यका कर्णधार भनिने नवयुवाहरुलाई निशुल्क बाँडेर समाजसेवा गरिरहेको बताउने गरेका छन् । मानसिक तथा शारीरिक दुवै स्वास्थ्यका लागि शाकाहारी भोजनसित मांसाहारी भोजनको तुलना नै गर्न नसकिने बताउँदै डा. झा भोजनले मानिसको प्रवृत्तिमा परिवर्तन ल्याउने र मनोवृत्ति तथा विचारमा परिवर्तन आउँदा जीवनमा पनि परिवर्तन आउने स्पष्ट पार्न थालेका छन् ।

डा. झाको प्रवचन अद्भूत हुने गरेको र साँच्चै प्रतिभावानले दिएको प्रवचनले हृदय नै छोएको मध्य क्षेत्रीय प्रहरी आवासीय माध्यमिक विद्यालयका शिक्षक हरिबहादुर जीसीले डा. झाको प्रवचन सुनेपछि प्रतिक्रिया दिएका छन् । शरीर विज्ञान तथा भौतिक विज्ञान र चिकित्सा विज्ञानसमेतको आधारमा शाकाहारी भोजन र यसको महत्वको बारेमा डा. झाले दिने गरेको प्रवचनको प्रभाव पनि समाजमा पर्न थालेको देखिएको छ ।

 

प्रतिक्रिया