मतदाताको घरदैलोमा आजदेखि मतदाता शिक्षा

इनेप्लिज २०७४ कार्तिक २५ गते १२:५१ मा प्रकाशित

काठमाडौँ, २५ कात्तिक  ः निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि प्रत्येक मतदाताको घरदैलोमा पुग्ने गरी मतदाता शिक्षा कार्यकर्ता खटाएको छ ।

प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना जनशक्ति रहनेगरी २० हजारको संख्यामा मतदाता शिक्षा कार्यकर्ता खटाइएको निर्वाचन आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

एकजना मतदाता शिक्षा कार्यकर्ताले २०० घर परिवार अर्थात् एउटा मतदान केन्द्रमा मतदान गर्न आउने बढीमा एक हजार ६४ जना मतदातालाई सही तरिकाले मतसंकेत गर्न सिकाउने छन् ।

मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउनुका साथै मतदानको महत्व र मतदान गर्ने तरिकाबारे ज्ञान दिने तथा मतदान गर्न प्रेरित गर्नेछन् । मतदाता शिक्षा कार्यकर्ताले मतदातालाई खासगरी मत बदर नहुने गरी मतदान गर्न सिकाउने छन् ।

निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी तुल्याउन नसकेको भनी आलोचना खेपिरहेको सन्दर्भमा आजदेखि खटिने मतदाताले त्यसलाई सम्बोधन गर्नेछन् । सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन योगदान पु¥याउने उद्देश्यले गर्न लागिएको मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन यही कात्तिक २८ गतेदेखि नमूना मतदान, अन्तक्र्रिया र सडक नाटक सञ्चालन हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बेग्लाबेग्लै पानाको मतपत्रको व्यवस्था गरिएको छ भने समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि एउटै पानामा माथिल्लो र तल्लो भागमा चुनाव चिह्न रहेको मतपत्र बनाइएको छ ।

मतदान केन्द्रमा प्रवेश गरेपछि मतदातालाई पहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिइने, त्यसपछि प्रदेशसभाका लागि पाएको मतपत्रमा मत संकेत गरेर मतपेटिकामा मत खसालेपछि मतदातालाई समानुपातिकतर्फको मतपत्र दिइने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ५४ लाख २७ हजार ९३५ मतदाता कायम भएका छन् । उक्त निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० जना सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया