वाम गठबन्धनले संविधान उल्ट्याएर निरङ्कुश शासन ल्याउन खोजेका छन् : बालकृष्ण खाँड

इनेप्लिज २०७४ कार्तिक १९ गते ३:२४ मा प्रकाशित

वाम गठबन्धनको चेपुवामा परेको नेपाली कांग्रेसभित्र बागी उम्मेदवार अर्को चुनौसित बनेर देखा परेको छ । योग्य र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनुको साटो पैसा दिन सक्नेलाई टिकट दिइएको आरोप कांग्रेसका शीर्ष नेताहरुलाई लागेको छ । अर्कोतिर वाम गठबन्धनका नाममा एमाले र माओवादीले कम्युनिष्ट शाषन ल्याउन खोजेको आशंका कांग्रेसले गरेको छ । यिनै विषयमा कांग्रेसका नेता बालकृष्ण खाँडसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

कांग्रेसकै उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरुलाई कारबाही हुन्छ ?
हामीले सबै बागी वा कांग्रेसका स्वतन्त्र उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ । अहिले जुन खालको चुनौति नेपाली कांग्रेसको काँधमा छ, लोकतन्त्र बचाउनुपर्ने यो कठिन घडीमा नेपाली कांग्रेसका बागी उम्मेदवाहरुलाई हाम्रो हार्दिक अपिल छ, जसले पार्टीको आधिकारिक उम्मेदवारीको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ, उहाँहरुले फिर्ता लिएर नेपाली कांग्रेसलाई एकढिक्का बनाउनुपर्छ ।

तपाईहरुले टिकट वितरण त पैसा दिन सक्नेलाई गर्नुभयो भन्ने आरोप छ नि ?
केही साथीहरुलाई चित्त नबुझेकाले त्यस्ता आरोप लगाइएको हो । तर सबैलाई मिलाउँदा केही साथीहरुलाई असहज भएको छ । त्यस्ता साथीहरुलाई कहीँ न कही अवसर दिन्छौँ । तर हामीले पैसा दिनेलाई टिकट वितरण गरिएको छैन । टिकट नपाएकाले अनावश्यक आरोप लगाइएको हो । यदी पैसामा टिकट बेचिएको प्रमाण भए कारबाही गछौँ ।

कांग्रेसले किन महिला उम्मेदवार थोरै बनायो ?
अरु पार्टीले भन्दा धेरै महिला उम्मेदवार कांग्रेसले बनाएको छ । तर कतिपय महिला नेतृहरुले प्रत्यक्षमा उम्मेदवार बन्न चाहनुभएन । उहाँहरुले समानुपातिकमा राखिदिन आग्रह गर्नुभयो ।

तर कांग्रेसले योग्य र सक्षम मान्छेलाई टिकट दिएन नि ?
नेपाली कांग्रेसमा पछिल्लोपटक फोरम लोकतान्त्रिक समाहित भयो । विभिन्न राजनीतिक दलसँग तालमेल पनि गर्नुपरेको छ । कतिपय ठाउँमा जातीय सन्तुलन मिलाउनका लागि पनि केही होनहार प्रतिवद्ध साथीहरु छुटेका छन् । तथापी कसले उम्मेदवारी पायो वा पाएन भन्ने भन्दा पनि बाम गठबन्धनले संविधान उल्ट्याउने, संसदीय व्यवस्था हटाउने र निरङ्कुश शासन व्यवस्था ल्याउँछौँ भनेर एकता प्रक्रियामा गइरहेका बेला कांग्रेसका सबै नेता कार्यकर्ता एकजुट हुनु जरुरी छ ।

नेपालमा कम्युनिष्ट शासन आउँछ र ? तपाईहरु किन आत्तिनुभएको ?
आउँदैन । तर उहाँहरुले ल्याउँछु भनेकाले केही आशंका उब्जिएको छ । तर राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रसमेत स्विकार नगरेका नेपाली जनताले कम्युनिष्ट शासन पनि स्विकार गर्दैनन् ।
सांस्कृतिक, जातिय, धार्मिक जस्ता विविधता भएको देश नेपालमा कुनै पनि निरङ्कुश शासन व्यवस्थाले चलाउन सक्दैन ।

वाम गठबन्धनका बारेमा जुन किसिमले आक्रामक बन्नुभएको छ, यसले भविष्यमा द्धन्द्ध हुन सक्दैन ?
द्धन्द्ध भयो भने त कम्युनिष्टकै कारणले हुने हो नि । हिजो ३६ सालमा जनमत सङ्ग्रह हुँदा नेपाल कम्युनिष्ट पार्टी मालेले बहुदल र निर्दल एउटै भन्यो । बहुदललाई रोक्ने कोसिस ग¥यो । तथापी २०४६ सालमा सर्वमान्य नेता गणेशमान सिंहले माले लगायत कम्युनिष्टका ठूला नेताहरुसँग छलफल गरेर प्रजातन्त्र ल्याउने कुरामा सहमत गराउनुभयो । किसुनजी, गिरिजाप्रसाद र गणेशमानले अरु दलसँग कार्यगत एकता गरेर २०४६ को आन्दोलन सफल बनाएको हो । त्यसपछि हामीलाई लागेको थियो कि एमाले सच्चियो ।
त्यसैगरी सशस्त्र द्धन्द्धले रगतको खोलो बगाइरहँदा गिरिजाबाबुले माओवादीलाई शान्ती प्रक्रियामा ल्याउनुभयो । त्यसपछि हामीलाई लागेको थियो कि माओवादी पनि सच्चियो । तर अहिले पुनः गलत बाटोमा हिँडिरहेका छन् ।

नेपाली कांग्रेसले पदको लोभ गरेकाले वाम गठबन्धन बन्ने वातावरण बनेको होइन ? प्रचण्डकै नेतृत्वको सरकारले चुनाव गराएको भए त बाम गठबन्धन हुने थिएन नि ?
कांग्रेसले हिजो पनि पादको लोभ गरेको छैन, आज पनि गरेको छैन । पछिल्लो पटक प्रचण्डलाई प्रधानमन्त्रीको पद समाल्नुहोस भनेर भनेकै हो नि । उहाँले सरकार निर्माणको सवाल होइन, हामी कांग्रेससँगको गठबन्धनबाट बाहिर गएर कम्युनिष्ट एकता गछौँ भनेर भन्नुभयो

प्रतिक्रिया