पार्वती मेरो विन्ती छ आफुलाई भन्दा मलाई माया नगर

इनेप्लिज २०७४ कार्तिक ७ गते १८:५५ मा प्रकाशित

बुढापाकाले सधै भन्ने गर्थे दैवको लेखा टारेर टर्दैन, जन्मे देखिनै पछि सम्मको जोडी पहिल्यै तय हुन्छ । विवाह, माया प्रेम, सम्बन्ध त केवल एउटा बाहिय कर्मकाण्ड हो जुन चाहेर वा नचाहेर पनि पुरा भएरै छोड्छ जसलाई मान्छेले न तोड्न सक्छ न रोक्न सक्छ । एक किसिमले हो जस्तो पनि लाग्छ किनकी पहिलो पटक तिमीसँग सम्बन्ध जोड्न जाँदा ईन्कार भयो र पछि फेरि जोडिन पुग्यो । त्यो सबै समयको माग थियो, दैवको लेखन थियो जस्तो लाग्छ । हो दुनियाँमा सबका जोडी छन्, आपसमा माया प्रेम, आत्मियता, समर्पण छ र त संसार एवं सृष्टि चलेको छ यसमा दुईमत छैन । सबैको आफ्नै कथा, आफ्नै कर्म महान लाग्नु अस्वाभाविक पनि हैन । यद्दपी तिम्रो कथा लेख्न किन आवस्यक पर्यो यसको आफ्नै विशिष्ट विशेषता छ जसले अरुलाई पनि केही प्रेरणा दिन सकोस् भन्ने मात्र ध्येय हो ।

हुनत हामीले सुन्दै आएका धेरै यस्ता कथा र वास्तविकता छन् जस बारे सुन्दा अति भावुक बन्ने गरिन्छ जसमध्ये अचेत अवस्थामा रहेका नेता चक्र प्रसाद बास्तोलालाई बर्षौ देखि उनकी श्रीमतीले गर्दै आएको रेखदेख , नेता प्रदीप ज्ञवालीको अपांग छोरीलाई उनको श्रीमती( प्रदिप ज्ञवालीको) ले बर्षौ सम्म निरन्तर सेवा गरेर बसेको अवस्था त्यस्तै सम्पुर्ण बालबच्चानै जन्मजात अपांग भएर बाबु आमाले हेरचाह गरेर बस्नु परेको पर्वतको एउटा दुर्गम गाउँको कथा र यस्तै खाले अरु अरु कथा व्यथा । यी कथा र व्यथा आफ्नै जन्मभुमि एवं कर्मभुमीको कथा भए जसमा केही नभएपनि सहारा दिने गाउँ छ, छिमेक छ, अझै केही पनि नभएपनि आफ्नै भाषा बुझ्ने खुल्ला धर्ती र खुल्ला आकाश, झरना, खोलानाला छन् । अक्कल झुक्कल चुनावमा भोटकै लागी हात जोड्न आउने नेता छन् र तिनका पछि लाग्ने भुस्तिघ्रे कार्यकर्ता त छन् ।

अव प्रसंग आफ्नै जोडौ जसबारे केही महिना पहिला व्यापकरुपमा मेरो विमार र उपचार पद्दती एवं त्यसले उव्जाएको समस्या बारे एउटा आलेख मार्फत प्रस्ट पारिसकेको छु जसलाई फेरि थप दोहोराएर आलेख लामो पार्न र निरश पार्न चाहन्न । मैले आज यति मात्रै भन्दैछु । म अमेरिका जस्तो विश्वको सुविधासम्पन्न, प्रविधीले सुसोजित देशमा आएर पनि ढाडको सामान्य लाग्ने विमारलाई पनि जटिल फ्युजन सर्जरी गरिएको थियो २ बर्ष पहिला र त्यो ठिक भएन । अहिले फेरि धेरै डाक्टर सँग सेकेण्ड ओपिनियन लिएर यही अक्टुवर ११ मा पुन ढाडकै थप जटिल फ्युजन सर्जरी गरिएको छ एउटा अनुभवी डाक्टर मार्फत । यो अवधी सम्म विगत सर्जरीको समय देखि मैले कुनै पनि किसिमको शारीरिक एवं मानसिक बल प्रयोग हुने काम( Job ) गरेको छैन । तत्कालिन समयमा केही मनकारी व्यक्तीबाट सहयोग प्राप्त भएको थियो जसले मेरो दैनिक जीवनमा केही सहजता प्रदान गर्यो जसका लागी आभारी छु र त्यस पछि मेरो जीवन संगिनीले काम गरेरनै म र मेरो बच्चाहरुको रेखदेख गरिरहेकी छन् र त्यतिबेला मैले हतासमा सहयोगको अपिल गरेर अरुबाट सहयोग प्राप्त हुँदा उनको मनखुश थिएन र किन तपाईले सहयोगको हात थापेको भनेर गुनासो गरिन र मैले भनेकी म आत्तिए जे हुनु भईहाल्यो बरु म कुनै दिन काम गरेर खान सक्ने भए भने त्यो सहयोग रकम बराबरको केही उपयोगी सामाजिक काम गरौला भनेर आश्वासन दिएको थिए जुन अझै पनि मेरो मन मस्तिष्कमा छदैछ ।

अहिले पनि मेरो उपचार चलिरहेको छ उनले केही दिन छुट्टी लिएर अस्पतालमा मलाई कुरुवाको रुपमा बसिन र अहिले पुन काममा फर्कि सकेकी छन्, उनको काम कुनै ठुलो काम पनि हैन उनी सामान्य subway को cashier हुन् । मेरो सर्जरी खर्च सबै Health insurance ले बेहोर्छ, केही सानोतिनो औषधी मात्रै आफैले किन्नु पर्ने पनि हुन्छ । यी सबै कुरा म किन भन्दैछु भने कतिपयले विमारी भएको बहानाबाजीमा उपचार गर्ने हैसियत भएर पनि ” समुदायमा हारगुहार ” गरिरहेको पाईन्छ जसले गर्दा कतिपय अत्यावस्यक सहयोग चाहिनेहरुले पनि समुदायबाट सहयोग नपाएको अवस्था हुन्छ । हेल्थ ईन्सुरेन्स नहुनेलाई पनि सहयोग गर्ने धेरै Nonprofitable organization, social welfare charitable organization हुन सक्छन् त्यसबारे बताईदिने, खोजी गरिदिने काममा नेपालीहरुको संघसंस्थाले मद्दत गर्नु जरुरी छ । केवल दशै तिहारमा कम्मर मर्काएर नाचेर खानपिउन मात्र संघसंस्था खोल्ने र मंचमा खादा ओडेर भाषण छाँट्ने काम गर्ने मात्र गरेर हुँदैन । यसैको लागी हरेक पटक ” मैले ईन्फरमेसन सेन्टर स्थापना ” हुनुपर्छ भनेर आवाज उठाउँदै आएको हो । सुचना र जानकारी नपाउँदा अमेरिकामा धेरै सुविधाबाट हामी सर्वसाधरण नेपाली वञ्चित छौ, यसबारे कसले बोली दिने, मिठो भाषण गरेर ताली पड्काएर मात्र समस्याको समाधान हुँदैन । आज मलाई यो विरानो मुलुकमा आफुलाई भन्दा बढि माया गर्ने श्रीमती साथमा हुँदा त कतिपय अवस्थामा जीवन देखि विरक्त लागेर आउँछ भने २-४ दिन काम गर्न नसकेर काममा नजाँदा तितो वचन लगाउने श्रीमान र श्रीमती हुनेको हालत के होला एकपटक सोच्नु होस् त ? यसैले समयमै नेपाली सामाजिक संघसंस्थाको आँखा खुलोस्, विरामी भएर अशक्त भएकाहरुले पनि उपचार पछि सामान्य शारिरीक अवस्था हेरि गर्न सकिने कामको खोजी गर्न सहयोग गरियोस्। अशक्तहरुलाई कमजोर ठानेर हेला गर्ने बानीलाई निरुत्साहित गरियोस् तव मात्र दु:ख र सुखमा नेपाली सबै एक भएर बाँच्ने अवस्था आउने छ ।

अन्तमा पार्वती तिमी आफ्ना बालबच्चा र मेरो खुशीको लागी हरदम खुकुरीको धारमा पाईला राखेर निरन्तर विचलित नभईकन जुन किसिमको धैर्यता र साहस लिएर निरन्तर अगाडी बढिरहेकी छौ त्यसको लागी म अत्यन्तै कृतज्ञ छु र सायद तिम्रो माया र सामीप्यताको कमि भएको भए अहिले म यो अवस्थामा हुने थिईन किनकी तिमीलाई थाहाँ छ म जस्तो मनको कमजोर व्यक्ती दुनियामा कोही छैन तर त्यस्तो व्यक्तीमा साहसको खम्बा तिमीले गाडेर दरो बनाई दिएकी छौ । यस्ता प्रेरणा अमेरिका आउने र देखावटी प्रेममा रमाउनेहरुको लागी पनि प्रेरणा बन्न सकोस् । पति र पत्नीको सम्बन्ध भनेको नाफाघाटामा हैनकी आपसी समर्पण र विश्वासमा टिक्ने हुन्छ र हुनुपर्छ भन्ने पाठ सवैले मनन गरुन । पैसा सबथोक हैन र पैसा नभएपनि जीवनको रथ चलाउन सारथी वीचको आपसी समझदारी स्थायी हुनु जरुरी छ । अत: तिमी मेरो र बच्चाहरुको मात्र हैन आफ्नो पनि ख़्याल गरेर काम गर किनकी तिमीनै लामो समय विरामी परेमा हामी यो देश छोडेर स्वदेश फर्कनुको विकल्प छैन किनकी म अव कुनै पनि हालतमा कसैको अगाडी हात फैलाएर जीवन जिउन चाहदिन सिर्फ तिमी बाहेक । मलाई थाहाँ छ मान्छेहरु हरेक सम्बन्धमा क्यालकुलेटर दबाएर नाफानोक्सानको हिसाव गर्छन् र फाईदा नहुने ठाउँमा बिर्सेर पनि नजर लगाउँदैनन् । अझै यो त अमेरिका हो र यहाँ हरेकको सम्बन्ध डलरको लागी हुने रहेछ, डलरका लागी रगतको सम्बन्ध गाँसिएकाहरु पनि विरानो हुँदो रहेछन् । परन्तु तिम्रो ठाउँमा अरु भएको भए म जस्तो बेकामी अपांगलाई कसले कुरेर बस्ने थिए र बसेकै पो को छन् र ?

धन्य तिमी सत्ययुगकी पार्वती(गोमा) हौ र म अशक्त शिव शर्मालाई परम स्वामी मानेर सेवा गरिरहेकी छौ यो कलियुगमा पनि । तिमीलाई लाखौ सलाम छ !

प्रतिक्रिया