सुदूरपश्चिममा जात्राको रौनक

इनेप्लिज २०७४ कार्तिक ४ गते १२:४५ मा प्रकाशित

बैतडी, ४ कात्तिक : सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ ।

कात्तिक शुक्ल पक्ष सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न शक्तिपीठमा जात्रा शुरु भएको हो । बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङका विभिन्न मन्दिरमा जात्रा शुरु भएको हो ।

यहाँका शक्तिपीठमा कात्तिक शुक्ल पक्षमा जात्रा तथा मेला लाग्छ । बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार मन्दिर, पाटन नगरपालिकाको महारुद्र मन्दिर, शिवनाथ गाउँपालिकाको शिवनाथ मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।

दार्चुलाको प्रसिद्ध मालिकार्जुन मन्दिरमा कार्तिक शुक्ल चर्तुदशीका दिन भव्य जात्रा लाग्ने गर्दछ । बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, सुर्नयाको रौलेश्वरमा रहेको भवानी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

यसैगरी दार्चुलाको लेकम गाउँपालिकामा कात्तिक शुक्ल नवमीका दिन लटिनाथ मन्दिरमा भव्यरुपमा जयपुर जात्रा लाग्ने गरेको स्थानीयवासी गंगासागर जोशीले बताउनुभयो । बैतडीको पुरचौडी नगरपालिकाको हाटस्थित त्रिवेणी धाम तथा राताशिला मन्दिरमा कात्तिक शुक्ल एकादशीका दिन जात्रा लाग्छ । सुदूरपश्चिममा लाग्ने जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेको स्थानीयबासी बताउँछन् ।

प्रतिक्रिया