टिकट वितरणमा कांग्रेसले अब विगतजस्तो गल्ती गर्दैन् : दिपक खड्का, नेता–नेपाली कांग्रेस

इनेप्लिज २०७४ असोज १४ गते ५:५९ मा प्रकाशित

प्रमुख दल नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेसले टिकट वितरणमा कुनै गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन् । विगतमा भएका निर्वाचनमा योग्य, सक्षम र लोकप्रिय उम्मेद्धवारहरुले टिकट नपाएको भन्ने आम गुनासो पार्टीभित्र देखिएकोले यो पटक त्यसो हुन नदिन अहिलेदेखि नै पार्टी नेतृत्व गम्भिर भएर लागिपरेको उनको भनाई थियो । यीनै विषयमा केन्द्रित भएर पत्रकार ऋषि धमलाले पूर्वमन्त्री समेत रहेका नेता खड्कासँग गरेको कुराकानीको सम्पादित अंश :

 

नेताहरुले दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

दशैं वर्षैपिच्छे मनाउन तर चुनाव चाहीँ चार पाँच वर्षमा एकचोटि आउने हुँदा दशैं तिहार भन्दापनि चुनावमा हामी बढि केन्द्रित छौं । म भर्खरै जिल्लापनि पुगेर आएँ । चुनावमा आफ्नो पक्षमा मत कसरी ल्याउने र कसरी चुनावलाई सफल रुपमा समयमै सम्पन्न गर्ने भन्ने विषयमा नै हामी अहिले चिन्तित छौं । हुन त अहिले तराईको चुनाव पनि सम्पन्न भैसकेको छ। यति जटिल अवस्थाको चुनाव त सम्पन्न भएपछि अब अरु चुनावपनि सम्पन्न हुन्छ भन्ने कुरा प्रमाणित भैसकेको छ। साथै, नेपाली कांग्रेस नेतृत्वमा भएको कारणले हाम्रो पार्टी सभापति समेत रहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवा सफल हुनुभएको हामीले विश्वास लिएका छौं ।

२ नम्बर प्रदेशमा कांग्रेसले ४० भन्दा बढि सिट ल्याउन सकेन ? कसरी सफल भयो त ?

हुन त १०० सिट जित्छौं भनेर हामीले अनुमान गरेका थियौं, तर सफल यस मानेमा भयौं कि चुनाव हुन सक्दैन भनेर प्रचार गरिएको थियो । आशंका थियो । तर चुनाव सफल रुपमा सम्पन्न भयो ।

२ नम्बर प्रदेशको एकमात्रै महानगरपालिका वीरगन्जमा कांग्रेस हार्यो?

यस विषयमा हामी अलिकति चिन्तित छौं ।सिट संख्याको बारेमा पनि हामी चिन्तित छौं । तर हाम्रो जित सिट संख्या तलमाथि भएपनि हामी मुलुक र जनताको स्थायित्वमा जोड दिने पार्टी हामी हौं । अहिले नेपाली कांग्रेसले यही कारणले निर्वाचन सफल रुपमा सम्पन्न भएकोले सफल रुपमा हेरेको छ ।

उसो भए कसले जित्यो, वा कसले हार्यो भन्ने कुरा कांग्रेसलाई कुनै मतलव छैन, चुनाव हुनु नै जित हो ?

०६४ को चुनावमा सबैले कांग्रेस हार्छ भनेकै थिए । तर तत्कालिन पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले पार्टी हारे केही हुँदैन, तर राष्ट्र र जनता हार्नुहुँदैन भनेर अडान लिनुभएको थियो । उहाँले चुनाव गराईछाड्नुभयो । त्यस्तै, उदाहरणको रुपमा कांग्रेसले यस्ता कुराहरु प्रमाणित गरेको छ । अहिलेपनि व्यवस्थाले जित्यो । संविधान नै मान्दिन भन्ने, चुनावमा भाग नलिने भन्ने दलहरुले पनि आज चुनावमा भाग लिनुभयो । यो व्यवस्थाले जित्यो, देशले जित्यो, जनताले जितेका छन् । चुनाव जसले जितेपनि हामीलाई केही फरक छैन ।

मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा देशभरि कांग्रेसको अवस्था कस्तो छ ?

अहिले पनि हामी पार्टीको हिसावले भन्न सक्छौं कि आउने निर्वाचनमा हामी पहिलो पार्टी हुन्छौं ।

तर स्थानीय तहको निर्वाचनमा त कांग्रेस पहिलो हुन सकेन नि ?

स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा ठूलो अन्तर छैन । टोटल भोट हेर्नुहुन्छ भने कांग्रेस कमजोर छैन । हारेकै ठाउँमा पनि हाम्रै अन्र्तघातका कारण, आन्तरिक कारणले हारेका छौं । त्यो पनि झिनो मतले । टिकट वितरणमा पनि ध्यान दिईएन् । सही मान्छेलाई टिकट वितरण गर्न सकिएन कि भन्ने हाम्रो विश्लेषण रहेको छ। संख्याको दृष्टिकोणले हामी पछि परेकै हो, तर समग्र मत हेर्नुहुन्छ भने कांग्रेस बलियो छ ।

उसो भए अब हुने निर्वाचनमा पार्टीले सही मान्छेलाई टिकट दिन्छ भन्न खोज्नुभएको हो ?

हो, कांग्रेसले यसबारेमा गम्भिर समिक्षा गरिसकेको छ। विगतमा हाम्रा गल्ती कमजोरीहरुलाई समिक्षा गरिसकेका छौं । असोज १७ गतेभित्र जिल्लाबाट सिफारिश क्याण्डिेटहरुको नाम अर्थात रिपोर्ट आईससक्छ । पर्याप्त समय छ, अब उचित निर्णय हुन्छ ।

तर नेताहरुको गोजीको मान्छेले मात्रै टिकट पाउँछन् भन्ने आरो छ नि ?

त्यो हुनुहुँदैन भन्ने कुरा हो । हामीभित्र आन्तरिक व्यवस्थापन कमजोर भएकै कारण यस्तो भएको हो । तर हामी अब गल्ती गर्दैनौं ।

यो पटकको दशैंमा तपाई सामाजिक कुरामात्रै गर्नुहुन्छ कि राजनीतिक बहसपनि गर्नुहुन्छ ?

एक दिन घरपरिवारसँग, आफन्तसँग रहने कुरा भयो । अरु दिन त राजनीतिक बहस नै हुन्छ । काठमाडौंमा रहनुहुने संखुवासभाका जिल्लावासीहरुसँग भेटघाट हुन्छ । बहस हुन्छ । यस्तै यस्तै हुन्छ ।

प्रतिक्रिया