मधेशी जनता कांग्रेस, माओवादी र राजपालाई सजाय दिन तयार भएर बसेका छन् : माधवकुमार नेपाल

इनेप्लिज २०७४ भदौ २६ गते २१:१८ मा प्रकाशित

प्रदेश नम्बर २ को स्थानीय चुनावमा सबै दलका नेताहरुले आफ्नो दल सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुने दाबी गरेका छन् । मधेशी जनताको हितमा आफ्नै दल मात्र रहेको सबैको दाबी छ । नेकपा एमालेलाई भने मधेश विरोधी दलको आरोप लगाइएको छ । यसै सन्दर्भमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग ऋषि धमलाले कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको चुनाव केन्द्रित अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रदेश नम्बर २ मा चुनावी माहोल कस्तो छ ?
यस क्षेत्रका जनता निर्वाचनमा मतदान गर्नका लागि निकै उत्साहित पाएको छु । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पनि प्रदेश नम्बर को चुनावमा सबैको ध्यान केन्द्रित भएको छ । मधेशका जनताले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई गम्भीर आरोप लगाएका छन् । प्रदेश नम्बर २ मा सबैभन्दा ढिलो चुनाव गराएकोप्रति मधेशी जनताको गुनासो छ । पहिलो चरणमा नै यस क्षेत्रमा चुनाव गरिदिएको भए विकासका कामले गति लिइसक्थ्यो । तर त्यसो हुन नपाउनुमा कांग्रेस र माओवादी प्रमुख कारण हो भन्ने ठहर मधेशी जनताको छ । मधेशी जनताले भनेका छन्, हामीलाई पछाडि पार्ने काम भयो, अब चुनावमा त्यसको नतिजा देखाइदिन्छौँ । मधेशी जनता कांग्रेस र माओवादीलाई सजाय दिन तयार भएर बसेका छन् । त्यस्तै राजपालाई हराउनका लागि पनि यहाँका जनता उद्धत भएर बसेका छन् ।

तर एक पक्षले मधेशको चुनाव जित्न नेकपा एमालेलाई धेरै गाह्रो छ भनका छन् नि ?
तपाई आफैँ पनि मधेशमा घुम्नुभएको छ । जनताको भावना बुझ्नुभएको छ । मधेशी जनताले नेकपा एमालेलाई कति माया गर्छन् भन्ने कुरा थाहा पाउनुभयो होला । आम जनमानसमा नेकपा एमाले लोकप्रिय छ । एमालेप्रति आग्रह पालेर बसेकाले त जे पनि भन्न सक्छन् ।

संविधान संशोधनको विरुद्धमा उभिएपछि एमालेप्रति मधेशी जनता असन्तुष्ट त छन् नि ?
कांग्रेस, माओवादी र मधेशवादी दलले नै मधेशको हित चाहेका छैनन् भन्ने कुरा त्यहाँका जनताले बुझेका छन् । एमालेलाई दोष लगाउने कुनै ठाउँ छैन । संविधान संशोधनको प्रस्ताव मधेशी जनताको हितमा छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । प्रस्ताव त नेताहरुले आफ्नो अनुकुल गर्न खोजेका थिए । विदेशीलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्छ भनेर गर्न लागिएको संशोधन कसरी मधेशी जनताको हितमा हुन्छ ?

मधेशी जनताले संविधानमा आफ्नो अपनत्व खोजेका छन् नि । नागरिकता, भाषा सिमाङ्क लगायतका विषयमा त मधेशी जनताको गुनासो छैन र ?
मधेशी जनता खुशी छन् । ति सब कुरा मधेशमा बसेर राजनीति गर्ने नेतालाई चाहिएको हो । मधेशी जनताले त विकास चाहेका छन् । त्यसको लागि नेकपा एमालेलाई जस दिन चाहेका छन् जनताले ।

मधेशी जनताले संविधानप्रति मसँगको साक्षात्कारमा नै गुनासो गरेका छन् । कसरी खुशी छन् भन्न मिल्छ ?
त्यो कुरा जनताले होइन, कोही नेताले भनेको हुन सक्छ । नेताको कुरा छाड्नुस्, जनताले के भन्छन् भन्ने कुरा महत्वपूर्ण छ । जनताले त गास बास र कपास खोजेका छन् । बाढीको प्रकोप रोक्न र खेतबारीमा सिँचाई पु¥याउनका लागि जनताले आग्रह गरेका छन् । शिक्षा र रोजगारीको अवसर खोजेका छन् । मधेशी जनताको यि माग सम्बोधन गर्नका लागि नेकपा एमाले मात्रै प्रतिबद्ध छ ।

प्रतिक्रिया