गौरी जोशीले एनआरएन अमेरिका अदक्ष्य पदको मुद्दा फिर्ता लिए

इनेप्लिज २०७४ भदौ ६ गते २३:०३ मा प्रकाशित

आदारणीय नेपाली समुदाय
एनआरएन अमेरिका अहिले अप्ठ्यारो स्थितिमा अल्झिएको यहांहरु सबैलाई सर्वविदितै छ। अमेरिका बस्ने नेपाली समुदायको सबैभन्दा ठुलो संस्था यो स्थितिमा आओस भन्ने हामी कसैको पनि चाहना थिएन । अहिलेको स्थितिले केही साता पछि काठ्माडौ आयोजना हुन लागेको एनआरएनए विश्व सम्मेलनमा पनि अमेरिकाको प्रतिनिधित्वको विषयमा अन्यौलता आएको छ । यो अन्यौलताले हामी विश्व एनआरएन अभियानमा पछाडि पर्छौ कि भन्ने जोखिम पनि थियो। म अहिले यो अन्यौलतालाई आफूले नै निकास दिन अग्रसर हुने निष्कर्षमा पुगेको छु ।

यहांहरु सबै जानकार नै हुनुहुन्छ, विभिन्न परिस्थितिजन्य कारणले विवाद हुन पुग्यो । हुनु त समस्या नयाँ थिएनन । विगत २ वर्ष देखिनै एनआरएन अमेरिका यही समस्यामा कहीँ कतै अल्झिएको अवस्था थियो । मुद्दा मामिलामा जाने मेरो कुनै चाहना थिएन । तर, पटक पटक म माथि अन्याय भएको यहांहरुलाई सर्वविदितै छ । मुद्दा मामिला अन्तिम विकल्प हो तर, सहमति र सहकार्य नै सामाजिक संस्थाको मर्म हो । मैले एनआरएन अमेरिकाको हितका लागि सोमवार नै म माथि भएको अन्याय विरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएको छु ।

मेरो उम्मेदवारी प्रति यहाँहरूको अपार सहयोग र समर्थन थियो। यही बलले मलाई नेतृत्व लिन प्रेरित गरिरहेको थियो । एनआरएन अमेरिका वास्तवमा अमेरिका बस्ने नेपाली समुदायको हितको लागि होस भन्ने यहाँहरूको चाहना थियो । तपाईँहरूको चाहना अनुसार नै मैले यसलाई मुख्य मुद्दा बनाएको थिएँ । मैले अहिले अदालतमा दायर मुद्दा फिर्ता लिए पछि पनि समुदायको सहयोग र हितका लागि सधैँ तपाईहरुकै साथमा उभिने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु । एनआरएन अमेरिकालाई अझ संस्थागत, विवादमुक्त र समुदायको हितका लागि काम गर्न संस्था बनाउन म तपाईहरुसंगै एनआरएन अमेरिकामा सक्रिय भइरहने छु ।

निकै कठोर भएर एनआरएन अमेरिकालाई अझ मबजुत बनाउनु पर्छ भनेर मैले विनाशर्त मुद्दा फिर्ता लिएको हुँ। यसबाट एनआरएन अमेरिकामा सहमति र सहकार्यको वातावरण वनोस भन्ने आग्रह पनि गर्छु । अव छिटो निर्वाचन भई नयाँ कार्यसमिति आओस भन्ने मेरो माग छ । हामी नेपाली समुदायलाई आफ्नो एनआरएन अमेरिकाको नेतृत्व छान्ने जिम्मेवारी छिटो दिन पनि म सम्बन्धित सबैलाई आग्रह गर्छु । तत्काल निर्वाचनका कार्यक्रम सार्वजनिक गर्न मेरो अनुरोध छ ।

अन्त्यमा, यहांहरुले दिनु भएको सहयोग सद्भाव र समर्थनको म सधैँ ऋणी रहने छु ।

धन्यवाद

गौरी राज जोशी
टेक्सस ड्यालस – अमेरिका

प्रतिक्रिया