नयाँ शक्तिभित्रको विवाद के हो ? के भन्छिन् गंगा चौधरी ?

इनेप्लिज २०७४ भदौ ४ गते ८:२४ मा प्रकाशित

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट नाम चलेका ठूला–ठूला नेताहरूले पार्टी धमाधम छाडेका छन् । भट्टराई निकट रहेर कुनै बेला माओवादी आन्दोलनमा साथ दिएका भनेर चिनिएका देवेन्द्र पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, बामदेव क्षेत्री, कुमार पौडेल, पाशाङ शेर्पा, सुशीला सेर्पाली, बलावती शर्मा जस्ता दिग्गज हस्तीले अहिले आएर समानान्तर पार्टी गठन गरेका छन् । उनीहरूले किन पार्टी छाडे भनेर सबैमा चासो र चिन्ता छ । पार्टी छाडेका ती नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने चर्चा चलेको छ । यसैसन्दर्भमा नयाँ शक्ति पार्टीकी सांसद तथा केन्द्रीय सदस्य गंगा चौधरीसँग पार्टीभित्रको आन्तरिक विवादका विषयमा हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी : –

तपाईहरूको पार्टी त विभाजन भयो है ?

पार्टी विभाजन भएको छैन । पार्टीभित्र असन्तुष्ट केही नेताहरू बाहिरिनु भएको हो । सायद उहाँहरूले नयाँ शक्तिभित्र खोजेको कुरा पाउनु भएन होला । त्यही भएर पार्टी छाड्नु भयो ।

बाबुराम भट्टराईलाई सधै सहयोग गर्ने देवेन्द्र पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा जस्ता हस्तीले पार्टी छाड्नुलाई तपाई के भन्नु हुन्छ ?

उहाँहरूलाई पार्टीमा चित्त बुझेन होला । नेता भेडाबाख्रा त होइन नि ? उहाँहरू स्वतन्त्र हुनुहुन्छ । नयाँ शक्ति मन परेन छाडेर जानु भयो । यस विषयमा धरै बहस गर्नुको अर्थ छैन । उहाँहरू जहाँ जानु हुन्छ राम्रो गर्नु होस् भनेर मेरो शुभकामना छ ।

त्यसो भए उहाँहरूले किन पार्टी छाड्नु भयो कारण छैन ?

कारण होला खोजी गर्दा भेटिएल । कारण अहिले नै नभनौँ समय आउँदा रहस्य खोलौला । तर, हाम्रो संयोजक बाबुराम भट्टराईले जसरी संगठन गर्नुभएको थियो, त्यो कुरा उहाँहरूलाई मन परेन होला । पार्टीको संगठन प्रमुखको जिम्मेवारी पाउँदा पनि देबेन्द्र पौडेलजीले खासै सन्तोषजनक काम नगरेको भनेर पार्टीभित्र कुरा पनि उठ्ने गरेको थियो ।

ए त्यसो भए देवेन्द्र पौडेलसहितका नेताले काम गर्न सकेनन् है ?

त्यो पनि एउटा कारण हो । संगठनमा सबै मिलेर काम गर्ने हो । बाबुराम भट्टराईले मात्रै सबै गर्ने भन्ने मान्यता कसैले राख्नु हुँदैन । पौडेलजीहरूले यो कुरा बुझ्नु पर्ने थियो । उहाँहरूका पनि थुप्रै कमीकमजोरी छन् । पार्टी छाडेर गएकाहरूका विषयमा धेरै व्यक्तिगत रुपमा टिकाटिप्पणी गर्नु उचित हुँदैन ।

पार्टी छाडेर गएका नेताहरूले पार्टी चलाउन पैसा पनि भएन, कुनै लाभ पनि भएन भनेर तपाईको पार्टीका नेताहरूले आरोप लगाउने गरेका छ सत्यता के हो ?

सायद त्यसमा केही प्रतिशत सत्यता हुन सक्छ । बाबुराम भट्टराईसँग पैसा फल्ने कुरा होइन । जसले मागे पनि रुखबाट टिपेर दिइ हाल्ने । सायद देवेन्द्र पौडेलजीहरूलाई आर्थिक विषयले पनि सताएको हुनु सक्छ । व्यक्तिगत महत्वकांक्षा पनि हुनु सक्छ । यस विषयमा मलाई धेरै थाहा छैन ।

पार्टी छाडेका नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका रहे छन् है ?

मैले पनि त्यस्तै सुनेको छु । उहाँहरूसँग कुरा हुन पाएको छैन । उहाँहरू स्वतन्त्र हुनुहुन्छ । माओवादीमा गएर राम्रो हुन्छ भने उहाँहरूलाई हाम्रो शुभकामना छ ।

तपाईले पनि नयाँ शक्ति छाड्ने त होइन ?

मैले नयाँ शक्ति पार्टी छाड्ने सोँचेको पनि छैन । यदि नयाँ शक्ति छाड्ने अवस्था आयो भने बरु म घरमा गएर खेतीकिसानी गर्छु । पार्टी छाड्दैन । यही बसेर संगठन गर्छु । केही साथीहरूले पार्टी छाड्दैमा म बिचलित हुने व्यक्ति होइन । तपाईको प्रश्न नै मप्रति पूर्वाग्रही भयो ।

बाबुराम भट्टराई कुशल संगठनकर्ता नेता होइन भन्ने आरोप छ नि ?

मलाई त्यस्तो कदापि लाग्दैन । उहाँ सक्षम र कुशल संगठन गर्ने नेता हो । प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । बौद्धिक नेताका रुपमा चिनिनु हुन्छ । उहाँप्रति विरोधीहरूले लगाएको आरोपको मलाई कुनै प्रवाह छैन । बाबुराम भट्टराईको मानमर्दन गर्नेप्रति केही भन्नु छैन ।

प्रतिक्रिया