म कर्ममा विश्वास गर्ने एक सामान्य नेपालीको छोरा हुँ -गौरी जोशी (यसो भन्दै प्रेस विज्ञप्ती निकाले )

इनेप्लिज २०७४ साउन २० गते २०:४३ मा प्रकाशित

प्रेस विज्ञप्ति
सम्पूर्ण अमेरिकावासी नेपाली दाजुभाई तथा दिदी बहिनी र
एनआरएन विश्व समुदायका सदस्य एवं शुभेच्छुकहरु,

एनआरएन अमेरिकाको आसन्न निर्वाचनका बारे तपाईंहरु जानकार नै हुनुहुन्छ । म यो निर्वाचन मार्फत एनआरएन अमेरिकालाई सबैले अपनत्वबोध गर्न सक्ने,अमेरिकामै रहेका नेपालीहरुको हितका पक्षमा ठोस काम गर्ने प्रतिवद्धता र हाम्रो एनआरएन,साझा एनआरएन बनाउने एजेन्डासहित नेतृत्वको प्रतिष्पर्धाका लागि मैदानमा आएको पुन: स्मरण गराउन चाहन्छु । मेरो उम्मेद्वारीका प्रति यहाँहरुले देखाउनु भएको शुभेच्छा र सद्भावलाई म उच्च सम्मान गर्दछु । म कर्ममा विश्वास गर्ने एक सामान्य नेपालीको छोरा हुँ । अमेरिकामा विद्यार्थीको रुपमा आएको मैले यहाँ भोग्नुपर्ने समस्या र चुनौतीहरुलाई आफैंले अनुभव गरेको छु । ती संघर्षले मलाई आज पनि प्रेरणा दिइरहेको छ । म समस्यासंग कहिल्यै डराउँदिन,तसर्थ र भाग्दिन पनि । म त्यस्ता हरेक समस्या र चुनौतीलाई एक अवसरका रुपमा लिन्छु र समाधानका लागि कोशिश गर्छु । यही नै मेरो अनुभव हो । यसर्थ म जे गर्न सक्छु,त्यही मात्र प्रतिवद्धता जाहेर गर्छु ।

मलाई मेरो उम्मेद्वारीका प्रति तपाईंहरु सबैले देखाउनु भएको समर्थनले अझ हौसला मिलेको छ र साँच्चै हामी सबैले अपनत्वबोध गर्ने साझा एनआरएन आजको आवश्यकता हो र म त्यसका लागि अघि बढेको छु भन्ने मेरो प्रतिवद्धतालाई थप ऊर्जा पुगेको छ ।

तर दुर्भाग्य ! निर्वाचन प्रक्रियामा अध्यक्षको प्रत्यासीको रुपमा मेरो नाम समेत समावेश नगरी निर्वाचन आयोगले बडो बदनियतपूर्वक मलाई बाहिर पार्ने हरकत गरेको छ । म निर्वाचन आयोगको यस किसिमको षड्यन्त्रमूलक कार्यको भर्त्सना गर्दछु । आज निर्वाचन आयोगलाई आफ्नो प्रभावमा पारी एनआरएन अमेरिकालाई कमजोर बनाउन खोज्ने केही कुत्सित नियतका व्यक्तिहरुको हस्तक्षेप र दवाबका कारण स्वतन्त्र भनिएको एनआरएन अमेरिकाको निर्वाचन आयोगले मेरो नैसर्गिक अधिकारलाई समेत हनन गरेको ठहर मैले गरेको छु । म यस्तो अत्यन्तै निकृष्ट र घोर अप्रजातान्त्रिक गतिविधिको निन्दा गर्दै मेरो मौलिक हक,अधिकार र मानव अधिकारको समेत उल्लङ्घन निर्वाचन आयोगले गरेको छ भन्ने निष्कर्षमा पुगेको छु । विधि,विधान र कानुनको सर्वोच्चताको म सधैं उच्च सम्मान गर्दछु । तर आज ममाथि नै निर्वाचन आयोगले विधि,विधान र कानुनको समेत बर्खिलाप हुने गरी विश्वको सबैभन्दा बढी सदस्य भएको एनआरएन अमेरिकाका सदस्यहरुले आफ्नो मतद्वारा नेतृत्व चयन गर्न पाउने तपाईंहरु सबैको अधिकार समेत हनन गर्ने काम गरेको छ ।

एनआरएन अमेरिकाको विद्यमान विधान र आइसीसीको विधान अनुसार प्रक्रिया पुरा गरी निर्वाचन आयोगले माग गरे अनुसारका आवश्यक सम्पूर्ण कागजात समेत पेश गरी मैले मेरो उम्मेद्वारी दिएको हुँ । मेरो उम्मेदवारीको सूची सार्वजनिक नगरिनु एनआरएन अमेरिकाका सदस्यहरुले आफ्नो मतद्वारा नेतृत्व चयन गर्न पाउने प्रजातान्त्रिक अभ्यासको खिलापमा छ । जुन यस देशको कानुन अनुसार दर्ता भै संचालित संस्थाको विधानको समेत विरुद्ध छ । यस देशको कानुनी सर्वोच्चताको सबैले सम्मान गर्नुपर्छ भन्ने कुरा मैले निर्वाचन आयोग र आयोगलाई प्रभावमा पार्ने प्रयास गरिरहेकाहरुलाई सम्झाइरहनु नपर्ला । म संस्थाको विधान,कानुन र कानुनले निर्दिष्ट गरेका अधिकारहरु सबैले अवलम्बन गर्नुपर्छ भन्नेमा दृढ छु ।

आज न्याय,कानुन,विधि-विधान र प्रक्रिया समेत तोडी जसरी मलाई किनारामा पार्ने प्रयास भएको छ,यो ज्यादै अन्यायपूर्ण छ । एनआरएन अमेरिकाको न्यायिक समितिको फैसलालाई समेत आयोगले अवज्ञा गरेको छ । एनआरएन अमेरिकाको मेरो उम्मेदवारीको विषय एनआरएन आइसीसी समक्ष समेत पुगिसकेको छ । आइसीसीले तीन सदस्यीय समिति बनाई निर्वाचन आयोगलाई आवश्यक पत्राचार गरी पाँच तारिखसम्म यस बारे कुनै निर्णय नगर्नु भनेकोमा त्यसको समेत अवज्ञा गरी निर्वाचन आयोगले हतार-हतार सूची प्रकाशित गरेको छ । मलाई विश्वास छ,आइसीसीद्वारा गठित समितिले यसको टुंगो लगाउनेछ र नेतृत्व चयन प्रक्रियामा सहभागी हुन पाउने मेरो वैयक्तिक नैसर्गिक अधिकारको सम्मान हुनेछ ।

म निष्पक्ष निर्वाचनबाट प्राप्त हुने परिणामको उच्च सम्मान गर्नेछु । तर प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन नै नदिने जुन निरङ्कुश शैली देखिएको छ,त्यसका विरुद्ध म निरन्तर लड्नेछु । अन्याय सहनु पनि अपराध हो भन्ने मैले बुझेको छु । तसर्थ ममाथि भएको नियोजित अन्यायका विरुद्ध तपाईंहरु सबैको अझ बढी साथ,समर्थन र सहयोगको अपेक्षा गर्दछु । यस क्रममा म आज शुक्रवार लस एञ्जलस, भोली शनिवार सन् फ्रान्सिस्कोलगायतका अन्य स्थानमा तय गरिएका पूर्व निर्धारित कार्यक्रममा सहभागी हुँदैछु र यी कार्यक्रमहरु यथावत रहेको जानकारी गराउदै सबैलाई कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछु ।
धन्यवाद,

गौरी जोशी
अध्यक्षका प्रत्यासी,एनआरएन अमेरिका

प्रतिक्रिया