अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने: अध्यक्ष थापा

इनेप्लिज २०७४ साउन १८ गते १४:१७ मा प्रकाशित

जनकपुरधाम, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सो पार्टीको धनुषा जिल्ला कार्यसमितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकारसम्मेलनमा उहाँले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको छ भन्नुभयो ।

अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी छ भन्दै नेपाली काँगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुन नपाओस् भनी षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली काँगे्रस नियोजित रूपमा लागेका छ भन्दै उहाँले सविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग नेपाली काँगे्रस र माओवादी केन्द्रको प्रोपोगण्डा हो भन्नुभयो ।

एक प्रसङ्गमा उहाँले आफ्नो दल सरकारमा नजानेसँग संविधान संशोधन विधेयकको कुनै सरोकार छैन भन्दै देउवा नेतृत्वको सरकारमा आफ्नो दल नजाने प्रस्ट गर्नुभयो ।

सबै दलका नेताको सम्पत्ति छानबिन हुनुपर्छः अध्यक्ष डा लोहनी 

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजनीतिक दलले देशका संयन्त्रलाई भागबण्डा गरी सञ्चालन गरेका कारण छोटे राजाको उदय भइरहेको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले सबै दलका नेताको सम्पत्ति छानबिनको खाँचो छ भन्नुभयो । समावेशी राज्यसत्ता नभएका कारण अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको छ भन्दै उहाँले राज्य संरचनामा समानुपातिक प्रतिनिधित्वको आवश्यकतामा जोड दिनुभयो ।

अध्यक्ष लोहनीले नेपालको सभ्यताको स्रोत भएको जनकपुरलाई सरकारले सधैँ उपेक्षा गरेका कारण जनकपुर भग्न सहर बनेको चर्चा गर्दै यसको मौलिक विशिष्टतालाई ध्यानमा राखी विकासका योजना कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया