नेपाल पत्रकार महासंघ, युएई शाखाको प्रेस विज्ञप्ती

इनेप्लिज २०७४ साउन ९ गते ८:२७ मा प्रकाशित

केही दिन यता मानब तस्करहरुले भिजिट भिषाको नाममा गरिरहेको मानब तस्करी बारेका प्रकाशित समाचारहरु र नेपाली दुताबास अबुधाबीबाट मिती २३ जुलाई, २०१७ का दिन जारी बिज्ञप्ती प्रती नेपाल पत्रकार महासंघ, युएई शाखाको ध्यानाकर्षण भएको छ । हाल कामदारको भिषामा युएई आउन नसकिने र टुरिस्ट भिषामा युएई पुग्ने बित्तिकै काम लगाइदिने झुटो आश्वासन दिई झुक्याएर युएई ल्याईएका १९ जना पीडितहरु गत ३ जुलाई, २०१७ का दिन दुताबासमा उपस्थित भई चितवन घर भई हाल अबुधाबी रहने साजन भनिने प्रेम पाण्डेले ठगी गरेको उजुरी दिएको तथ्य हामी सामु छ ।

पीडितहरु मध्ये ४ जना ‘ओभर स्टे’ भएका र बाँकीको भिषा अवधी बाँकी रहेको छ । पीडितहरुले दुताबासमा पाण्डेले माद्क पदार्थ खाइ कुट्ने गरेको, मार्ने धम्की दिने गरेको प्रमाण सहित युएई आउनको लागि आफुले काठमाण्डौै ठमेल स्थित अर्थ लाइन ट्राभल्सका सँचालिका जानकी अधिकारीलाई तिरेकोको रकमको रसिदको प्रतिलिपी सहित फेहरिस्त बुझाएका थिए । उनिहरु मध्ये एक जना पीडितलाई ठमेलको अर्थ लाइन ट्राभल्सले नक्कली कागजात पेश गरी श्रम स्विकृतिको स्टिकर टासेर युएई पठाएको पनि सोही दिन खुल्नमा आएको थियो ।

दुताबासको रोहवरमा उक्त दिन दुबै पक्ष बिच छलफल भई पाण्डेले युएईमा आए पश्चात पीडितहरुबाट लिएको युएस १,००० डलर फिर्ता गरी एक हप्ता भित्र नेपाल फर्काउने सहमती भएको थियो । तर हिजोको मिती सम्म आईपुग्दा पीडितहरुले दुताबासबाट कुनै सहयोग पाउनुको साटो श्रम काउन्सिलर भेष बहादुर कार्कीले पाण्डेसँग मिल्न र नेपाल गएर कानुनी कारबाहीको लागि प्रक्रिया अघी बढाए उल्टै पीडितलाई केरकार र अनुसन्धान हुने भन्दै डर देखाउने गरेको पाईएको छ । काउन्सिलर कार्कीले दुताबासले एजेन्टलाई पीडितहरुलाई उद्दार गर्न भन्ने मात्र हो तर अरु केही गर्न नसकिने भन्दै पिडकलाई नै संरक्षण गरेको कुराले हामीलाई थप आक्रोश समेत बनाएको हो ।

‘२० हजार दिर्हाम घुस दिएर मारिदिने’ भन्दै कुटेको भोइस नोट यस अघी नै दुताबासमा पीडितहरुले बुझाईसकेका भए पनि हाल सम्म पनि मानब ओसार पसारमा सँलग्न भनिएका पाण्डे दुताबासकै सम्पर्कमा रहनु तर उनलाई कानुनी कारबाही गर्ने बारे दुताबासले प्रकृयाको थालनी नगर्नुले उब्जाएको आशंकाले दुताबासको मिलेमतो त छैन? भन्ने प्रश्न उब्जाएको पक्कै हो । तस्करलाई कारबाही गरी पीडितलाई नेपाल पठाउने तर्फ कुनै पहल नगरी समाचारमा आएको कुरालाई सिङगो पत्रकारिता क्षेत्रलाई नै आरोप लगाउने गरी ‘पीत पत्रकारिता’ को संज्ञा दिनुले दुताबास प्रतिकोे शंकालाई थप प्रमाणित गरेको छ । पत्रकारहरुले सत्यतथ्य र प्रमाण सहित लेखेको समाचारलाई हचुवाको भरमा आरोप लगाउने यस कार्यकोे हामी भर्त्सना गर्दछौ ।

हामी पीडितहरुलाई सकेसम्म छिटो उद्दार गर्न नेपाली दुताबास र नेपाल सरकार समक्ष अनुरोध गर्दछौ । साथै युएईमा रहेका बिभिन्न संघसंस्थाहरुलाई पीडितहरुलाई उद्दार र तस्करलाई कारबाहीको लागि दुताबासमा दबाब सिर्जना गर्नुहुन समेत अनुरोध गर्दछौ । भिजिट भिषाको नाममा हुने गरेको मानब तस्करी रोक्न, यसमा संलग्न दलाल र कर्मचारीहरलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

अध्यक्ष
भुपराज बस्याल
नेपाल पत्रकार महासंघ, युएई शाखा
मितीः जुलाई २४, २०१७

प्रतिक्रिया