यतिको एटिआर विमान काठमाडौँमा

इनेप्लिज २०७४ साउन ७ गते ११:१५ मा प्रकाशित

काठमाडौँ, ७ साउन । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ ।

काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा खरिद गरेको हो ।

फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।

सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगञ्ज र भद्रपुर उडान थाल्नेछ ।

यो एटिआर विमानसँगै यतिका अब सातवटा विमान भएको छ । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका छ थान जहाज सञ्चालन गरिरहेको छ ।

यतिले यसवर्षभित्र थप दुई एटिआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिनुभयो । बुद्ध एयरले सुरुमै चारवटा एटिआर विमानबाट सेवा दिँदै आएको छ ।

भौतिक पूर्वाधार साँघुरो रहेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा एटिआर विमानले सहजता हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो ।

“उडान सञ्चालनमा सहज हुन्छ, साना विमानको भीडमा ठूलो विमान हुँदा आकाशमा ‘होल्ड’ गर्नुपर्ने अवस्था आउँदैन, ‘एयर ट्राफिक’ जाम पनि हुँदैन र यसले ‘फ्रिक्वेन्सी’ जाममा पनि नपर्ने हुँदा उडानमा सहजता हुन्छ” – उहाँले भन्नुभयो ।

प्रवक्ता ठाकुरले विमानस्थलको क्षमता साँघुरो भए पनि पर्यटन प्रवद्र्धनार्थ जहाज थपिनु सकारात्मक भएको धारणा व्यक्त गर्नुभयो ।

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडानतर्फ हेलिकप्टरसहित २० वटा वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया