एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी गौरी जोशी संग कुराकानी

इनेप्लिज २०७४ साउन ४ गते १७:२५ मा प्रकाशित

म आशावादी छु,मतदाताहरुले साथ दिनु हुनेछ: गौरी जोशी , एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी
चुनावमय बनेको एनआरएन अमेरिकाका अध्यक्षका एक सशक्त प्रत्यासी हुन् टेक्सासका सफल व्यवसायी गौरी जोशी | जोशी अमेरिकामा रहेका नेपाली मध्ये व्यवसायिक सफलताको उचाईमा पुगेका एक सामाजिक अभियन्ता समेत हुन् | उनी टेक्सासको नेपाली समाजको अध्यक्ष समेत भएर सेवा गरिसकेका व्यक्ति हुन् भने अन्य संघ,संस्था मार्फत सामाजिक अभियानमा उनको सक्रियता रहेको छ | मिलनसार,भद्र र कर्मशील व्यक्तित्वका धनी जोशी आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा होमिएका पाँच अध्यक्षका प्रत्यासी मध्ये चर्चा र लोकप्रियतामा पहिलो नम्वरमा रहेका छन् |

सन् १९९७ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका लम्जुङ्ग पुर्ख्यौली थलो र पछि चितवन बसाई सरेका जोशी अहिले टेक्सासमा सूचना प्रविधि सम्बन्धी कम्पनी चलाएर बसेका छन् | अमेरिकामा एउटा आप्रवासीले भोग्ने हरेकखाले संघर्ष र चुनौतीलाई आफैंले भोगेर कठोर मेहनेत गर्दै सफलताको सिंढी चढेका उनै सफल व्यवसायी यतिखेर एनआरएन अमेरिकाको नेतृत्वको सफलता चुम्ने दौडमा छन् | उनै जोशीसंग उनको उम्मेद्वारीका विषयमा केन्द्रीत रहेर गरिएको कुराकानी:

कस्तो छ गौरीजी तपाईंको चुनावी दौडधुप ?

राम्रो छ,साथीभाई र शुभेच्छुकहरुको उत्साहजनक समर्थन पाएको छु | अमेरिका जस्तो चार किसिमको समय भएको विशाल मुलुकमा अहिले हामी अधिकतम स्थानमा पुग्ने कोशिस गरिरहेका छौं | फोन,भेटघाट,सामाजिक संजालमार्फत यो अभियानलाई अधिकतम रुपमा अगाडी बढाउने काम भैरहेको छ | म र मेरो नेतृत्वमा एनआरएन अमेरिका,अमेरिकावासी आम नेपालीहरुका लागि हाम्रो एनआरएन,राम्रो र साझा एनआरएन भन्ने नारा तय गरेर अघि बढेका छौं | हामीसंग ठोस योजना र कार्यक्रम छन् | हामी कुरामा भन्दा काममा विश्वास गर्छौं | एनआरएन विशुद्ध रुपमा नेपाली समुदायको हितका लागि हुनुपर्छ | यस अर्थमा हाम्रा एजेन्डा र अभियानलाई अत्यन्त सकारात्मक रुपमा स्वागत गर्नु भएको बुझेको छु | सबैले नयाँ, सिर्जनशील र गतिशील नेतृत्व आउनुपर्छ भनेर भनिरहनुभएको छ । हौसला दिइरहनुभएको छ । जसले मलाई उर्जा दिइरहेको छ ।

तपाईंलाई नै चुन्नुपर्ने कारण के हो नि ?

म व्यवसायमा आउनु पहिले नै सामाजिक अभियानमा आवद्ध भएको व्यक्ति हुँ | मेरो पृष्ठभूमि हेरे हुन्छ | म थोरै बोल्छु तर पुरा गर्न सक्ने काम मात्र बोल्छु | मैले नेपाली समाजको आवश्यकता र चुनौती के हो भन्ने राम्रोसंग बुझेको छु | म व्यवसायमार्फत पनि नेपाली युवाहरुलाई प्रविधि सम्बन्धी तालिम दिई रोजगारी दिलाउने काम गरिरहेको छु | एनआरएन मार्फत हामी नेपाली समुदायका हितका लागि उदाहरणीय काम गर्न सक्छौं | यसका लागि मसंग विशेषज्ञ,अनुभवी र काम गर्न सक्ने जोश,जाँगर भएका गतिशील साथीहरु हुनुहुन्छ | अब एनआरएन अमेरिकाका लागि राम्रा दिन सुरु हुनेछ | एनआरएन अमेरिका अब तपाईंहरु सबैले हाम्रो एनआरएन भन्ने अनुभूत गर्न पाउनु हुनेछ | यसका लागि नै हो म र मेरा समूहका साथीहरुलाई चुन्नुपर्ने | जहाँ हिजो एनआरएनमा रहेर काम गरेका जिम्मेवार साथीहरु हुनुहुन्छ | सामाजिक अभियन्ताहरु हुनुहुन्छ | तसर्थ यो साझा टीमलाई चुन्नु हुनेछ भन्ने विश्वास छ |

तपाईंका तात्कालीक र दीर्घकालीन ठोस एजेन्डा के छन् ?

अत्यन्त सान्दर्भिक प्रश्न | मैले नेपाली समुदायका हितका लागि गरेका कार्यहरुको निष्पक्ष अध्ययन गरियोस् | मेरो बारे कुनै टिप्पणी गर्नुपूर्व म को हुँ र यो समुदायमा मैले के गरेको छु भन्ने बुझ्नु राम्रो हुनेछ | मेरो सबैलाई यही आग्रह |
हामीले नेतृत्व लिन पाएको खण्डमा पहिलो छ महिनाभित्र एनआरएन अमेरिकाको वेभसाइटलाई युजर फ्रेन्ड्ली,अन्तरक्रियात्मक र सबै सदस्यले सहज एक्सेस गर्न सक्ने बनाउनेछौं | एनआरएन अमेरिकाका सबै सूचना र गतिविधिलाई यही प्लेटफर्ममा व्यवस्थित बनाउनेछौं | दोश्रो, पहिलो छ महिनाभित्र एक लाख डलरको आकस्मिक कोषको गठन गर्नेछु | सबैभन्दा विवादको विषय बनेको सदस्यता प्रकरणको समाधान गर्न ठोस काम गर्नेछौं | यसका लागि विधान संशोधन गरेर हुन्छ या के गर्न सकिन्छ भन्ने बारे अहिले चुनावी अभियानमा सदस्यहरुबाट प्राप्त सुझावलाई समेत ख्याल गरी काम गर्नेछौं र संस्थाका गतिविधिहरुलाई पारदर्शी बनाउनेछौं |

नेपालीका लागि एनआरएन भन्ने नारालाई केन्द्रीत गरेर नेपाली समुदायले यहाँ प्राप्त गर्न सक्ने सीप र प्रविधिका तालिमका लागि ठोस योजना कार्यान्वयनमा ल्याइनेछ | यसका लागि साना व्यवसायी र अल्प संख्यक आप्रवासीले अमेरिकी सरकारी निकायबाट पाउने सुविधा र सहुलियत दिलाउने गरी नेपाली समुदायलाई जानकारी गराइनेछ | साना तथा मझौला व्यवसाय र लगानीलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने बारे अमेरिकी सरकार र अन्य संघ,संस्थामार्फत आवश्यक जानकारी दिलाउन सामुदायिक तालिम दिलाइनेछ | भै परी आउने अन्य सामुदायिक हितका कार्यलाई च्याप्टर मार्फत अघि बढाइनेछ | यी मेरा ठोस प्रतिवद्धता र योजना हुन् | एनआरएन सबैको साझा घर होस्, सबै पक्ष, वर्ग, समुदाय र विचारका साथीहरु समेटिउन्, सबैले मेरो भन्ने धारणाको विकास होस् भन्ने सोच मैले लिएको छु ।

दीर्घकालीन रुपमा २० हजारभन्दा बढी नेपाली भएका अमेरिकाका राज्य तथा शहरहरुमा सांस्कृतिक केन्द्र खोल्ने मेरो योजना छ । मन्दिरसहितको सांस्कृतिक केन्द्रले नेपाल र नेपालीसँग जोड्नेछ । अमेरिकाको कुनै काउन्टी र नेपालको नगरपालिका वा गाउँपालिकाबीच मितेरी सम्बन्ध कायम गराउने, दुई निकायबीच भ्रमण र अनुभव आदान प्रदान गराउने योजना बनाएको छु । यसो गर्दा अमेरिका र मातृभूमिबीच सम्बन्ध जोड्ने काम हुनेछ । दुईवर्षभित्र कम्तिमा पनि दुईवटा सिस्टर सिटी बनाउने मेरो योजना हो । सिस्टर सिटीको अवधारणा कार्यान्वयन हुँदा दुई देशका स्थानीय निकायबीच अनुभव,सीपको आदानप्रदान हुनेछ ।
अमेरिकामा धेरै अवसरहरु छन्, हामीले हाम्रो युवापुस्तालाई त्यसमा संलग्न गराउनु अहिलेको मुख्य चुनौति हो । सीप बिकास, नेतृत्व विकासका कार्यक्रममा अघि बढाउने योजनालाई मैले अगाडि बढाउनेछु ।
अमेरिकामा विभिन्न पेशा,व्यवसायमा सफल र सम्मानित नेपालीहरु पनि धेरै हुनुहुन्छ | तर उहाँहरु एनआरएनप्रति त्यति चासो राखिरहनु भएको छैन | उहाँहरुलाई आकर्षित गराउन के गर्न सकिएला ?

हो,अमेरिकामा हरेक पेशा र व्यवसायमा प्रतिनिधित्व गरिरहनु भएका नेपाली मूलका गौरव गर्न लायक व्यक्तित्व हुनहुन्छ | चिकित्सा,प्राध्यापन,इञ्जिनियरिङ्ग,वकालत,व्यवसाय हरेक क्षेत्रमा नेपाली हुनहुन्छ | सरकारी निकायमा अब्बल प्रशासनिक नेपालीहरु हुनुहुन्छ | सूचना प्रविधि र अनुसन्धानमा पनि नेपाली नै हुनुहुन्छ | उहाँहरुलाई एनआरएनमा आकर्षित गर्न उहाँहरुले पनि अपनत्व महसुस गर्न सक्ने एनआरएन नेतृत्व आउनुपर्छ | उहाँहरुसंग पुग्न सक्ने र कन्भिन्स गराउन सक्ने नेतृत्व भिजनसहित आउनुपर्छ | मसंग उहाँहरुले पनि गौरव गर्न सक्ने अमेरिकाको एनआरएनलाई सबैभन्दा उत्कृष्ट बनाउने योजना छ । किनकी बौद्धिक जमातको बसोबास रहेको अमेरिकाको एनआरएन अन्य देशको तुलनामा अझै दह्रो छैन | त्यसैले तपाईं, हामी सबै मिलेर एनआरएन अमेरिकालाई नमुनायोग्य बनाउँ । त्यो बनाउन सकिन्छ र सबैलाई आकर्षित गर्न सकिन्छ भन्ने आत्मविश्वास मसंग छ ।

अरु पनि प्रतिष्पर्धी छन् | हिजो नेतृत्वमा बसेकाहरुसंगै चुनाव लड्दै हुनहुन्छ | कत्तिको अप्ठ्यारो छ प्रतिष्पर्धा गर्न ?

व्यवहारिक रुपमा सबै सदस्यका माझ पुग्न केही कठिनाई अवश्य छन् जसलाई मतदाताहरुले पनि बुझ्नु भएको छ | हामी अबको बाँकी समय प्रमूख शहरहरुमा पुग्ने कार्यतालिका बनाएर अघि बढेका छौं |

कोलोराडो,न्यूयोर्क,बाल्टिमोर,भर्जिनिया,बोष्टन,कनेक्टिकट,न्यू ह्याम्सायर,शिकागो,टेक्सास,लस एञ्जलस,सन् फ्रान्सिस्को लगायत अन्य शहरमा हामी यसै सातादेखि कार्यक्रम लिएर पुग्दैछौं | चुनावी मैदानमा उत्रिसकेपछि प्रतिष्पर्धा गर्न अप्ठ्यारो मान्नुपर्ने कारण केही छैन | यो अभ्यासमा सहभागी प्रतिष्पर्धी सबैको सम्मान गर्दछु | उहाँहरु पनि राम्रो गर्न अग्रसर भएर आउनु भएको छ | तर हिजो दुई वर्ष नेतृत्वमा बसेर के गरियो,के भयो,के गर्न सकिएन भन्ने मूल्यांकन त उहाँहरु आफैंले गर्ने हो | मेरो पनि उहाँहरुसंग निरन्तर कुराकानी हुन्छ,भैरहेको छ | प्रतिष्पर्धालाई स्वाभाविक रुपमा लिनु राम्रो हो | यद्यपि मैले यो चुनावी प्रक्रियाले बढाउने अन्तरविरोधहरुलाई सकेसम्म कम गर्न मिलेर जानु राम्रो हो भनेर प्रस्ताव पनि गरेको हुँ | तर उहाँहरु कोही पनि लचिलो बन्नु भएन | बाँकी त अब सवल र भरोसायोग्य नेतृत्व चुन्ने काम आम सदस्यहरुकै जिम्मामा छ |

तपाईंले अन्तर विरोधको प्रसंग निकाल्नु भयो | तपाईंको नाम जोडेर अनेकथरी हल्ला गरिएका छन् नि ? …

मैले तपाईंले भन्न खोज्नु भएको बुझेको छु | यो बडो बिडम्बनापूर्ण छ | अमेरिकामा बसेर हामी प्राप्त स्वतन्त्रताको सदुपयोग गर्दैछौं कि दुरुपयोग ? आफैंले आफैंसंग जवाफ खोज्नुपर्छ | कसैका प्रति त्यति पूर्वाग्रही बन्दा आफ्नो औकात के रहेछ भन्ने पनि अर्कोले मूल्यांकन गरिरहेको हुन्छ | उन्नत संस्कार देखाउन सक्नुपर्छ | आफ्नो कुण्ठा र लघुताभाष व्यक्त गर्ने माध्यम सामाजिक संजाललाई नबनाऔं | सभ्यता र संस्कार प्रदर्शन गरौँ | आकाशमा फर्केर थुक्दा आफ्नै मुखमा छिटा पर्छ भन्छन् | त्यसैले आकाशतिर फर्केर थुक्ने काम नगरौं | स्वस्थ प्रतिष्पर्धा गरौँ,म जस्तोसुकै चुनौती सामना गर्न तयार छु | मेरा बारे टिप्पणी गर्नुपूर्व बुझेर टिप्पणी गर्नु हुन अनुरोध गर्दछु | मसंग सिधा सम्पर्क गरे हुन्छ | लम्जुङ्गमा मेरो बुवा अनि मेरा दाजु शंकरकान्त जोशी को हुन् भनेर बुझे हुन्छ | चितवनमा मेरो पारिवारिक योगदान र पृष्ठभूमि बुझे हुन्छ | गलत र भ्रामक कुराको परिणामको भागीदार बन्ने काममा कोही नलाग्नु होला | मेरो बारे कसैलाई बुझ्नु छ भने मसंग नै सम्पर्क गर्नुस् | यही नै मेरो आग्रह |

अन्त्यमा अरु केही छ कि ?

मेरो सबैलाई आग्रह,राम्रो र हाम्रो अनि साझा एनआरएनलाई अघि बढाउन हामीलाई अवसर दिनुस् | हामीलाई विश्वास गर्नुस्, हामी एनआरएनलाई नयाँ उचाईमा पु-याउनेछौं |

प्रतिक्रिया