टेलिकमबाट विद्यालयलाई कम्प्युटर प्रदान

इनेप्लिज २०७४ असार २९ गते ४:५६ मा प्रकाशित

नुवाकोट, २९ असार । नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटरलगायत विद्युतीय सामग्री प्रदान गरेको छ ।

टेलिकमले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत केन्द्रीय कार्यालयमार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र आधुनिक युगअनुसार प्रतिस्पर्धी बनाउन कम्प्युटरसहित इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ ।

विद्यालयलाई मंगलबार पाँच थान कम्युटर, इन्टरनेट चलाउने वाइम्याक्स डिभाइस, प्रिन्टर, स्क्यानिङ एक÷एक थान, वेभ क्यामरा पाँच र कम्प्युटर राख्ने फर्निचर प्रदान गरेको नेपाल टेलिकमका वरिष्ठ व्यापार अधिकृत रवीन्द्र शाहले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

“विद्यालयमा उपलब्ध गराएको वाइम्याक्स इन्टरनेट सेवाबाट दुई वर्षसम्म निःशुल्क इन्टरनेट चल्ने व्यवस्था मिलाएको छौँ”, वरिष्ठ व्यापार अधिकृत शाहले भन्नुभयो, “विद्यार्थीलाई आधुनिक प्रविधि र अनलाइन माध्यमबाट पाठ्यक्रम अध्ययनमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

टेलिकमले विद्यालयलाई प्रदान गरेको विद्युतीय सामग्री रु पाँच लाखभन्दा बढीको रहेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएपनि निजी (संस्थागत) विद्यालयसरह शैक्षिक सेवा पु¥याउने लक्ष्यअनुसार अध्यापनमा परिवर्तन गर्दै अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएकाले इन्टरनेट सहितको कम्युटर उपलब्धले उत्साहित बनाएको प्रधानाध्यापक मोचन झाले बताउनुभयो ।

विद्यालयमा उपलब्ध इन्टरनेट सेवाले पाठ्यक्रमको अध्ययन, नयाँ विषयवस्तुको खोजी एवम् नयाँ सीप सिकाइमा विद्यार्थी र शिक्षक दुवैलाई सहयोग पुगेको विद्यालयका पूर्वप्रधानाध्यापक नवराज ओझाले बताउनुभयो ।

प्रतिक्रिया