सुदुर गाउँहरु -रुकुम, रोल्पा, हुम्ला आदीमा कहिले सम्म राज्यको उपस्थिती होला ? -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ असार २३ गते १७:३७ मा प्रकाशित

 

नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आएको पनि लामो समय भईसक्यो । हरेक बर्ष प्रकाशित हुने सरकारी तथ्यांकमा सामाजिक, आर्थिक, शैक्षिक लगायतका परिसुचकले विकासको गतिमा तिव्रता आएको पनि देखिन्छ । अझै केही बर्ष देखि संचार जगतमा आएको तिव्र विकास र ईन्टरनेटमा सर्वसाधरणको पहुँचले सामाजिक संजालमा सहभागीहरुको अभिव्यक्ति, बोलीचाली, हाउभाउ देख्दा साँच्चिकै शहरी क्षेत्र मात्र हैन ग्रामिण क्षेत्रमा समेत सर्वसाधरणको शैक्षिक, सामाजिक, आर्थिक जीवनस्तरमा निकै ठुलो परिवर्तन आएछ जस्तो महशुष हुन्छ ।

 

दैनिक हजारौ युवाहरुमा वैदेशिक रोजगारीमा विदेशिने लहर देख्दा र उनीहरुले पठाएको रेमिटेन्सले पक्कै पनि समाजको हरेक क्षेत्रमा उल्लेखनिय प्रभाव परेको होला भन्न सकिन्छ । वास्तवमा ग्रामिण क्षेत्रका सर्वसाधरणहरुको शहरी क्षेत्रमा प्रवेश गरि बसोबास गर्न र उनीहरुको बालबच्चाहरुलाई शहरी निजी बोर्डिंगमा शिक्षादिक्षा दिने हैसियत बन्न सक्नुमा वैदेशिक रोजगारको मुख्य भुमिका छ भन्दा कुनै अत्युक्ति नहोला । यद्दपी यसरी वैदेशिक रोजगारीमा जानेहरु र अझै विकशित भनिने मुलुकहरुमा राम्रो कमाई गर्न जानेहरुमा खासगरि शहरी एवं अर्ध शहरी अर्थात् केही विकासका पुर्वाधार एवं शैक्षिक स्तर केही माथी रहेका ठाउँहरुका सर्वसाधरणको बाहुल्यता अधिक छ । जुन ठाउँ र गाउँ अझै पनि राज्यको विकासको संजालबाट टाढा छ त्यो ठाउँका जनताहरु संभव त वैदेशिक रोजगारबाट अझै टाढा छन् र देश भित्रकै रोजगारीमा पनि उनीहरु पिछडिएका छन् । यस्ता सुदुर गाउँमा जनताहरु परम्परागत कृषि पेशाबाटनै कामचलाउ जीवन कष्टकर तवरबाट बिताईरहेका छन् ।

 

नेपाली राजनितिक नेताहरुको भाषण र आफुलाई पढेलेखेका जानकार हौ भन्न रुचाउनेहरुको जमातले भने सामाजिक संजालमा आफ्नो राजनितिक आस्थाका राजनैतिक दलको बखान गरेको देख्दा भने नेपालमा ग्रामिण क्षेत्रहरुमा पनि विकासले फड्को मारिसकेको आभाष पाउन सकिन्छ तर यथार्थ नेताले गर्ने भाषण र तिनका कार्यकर्ताले तालीबजाउने शैली भन्दा निकै पृथक छ । सुदुर गाउँमा बाटोघाटो, विद्युत, खानेपाने, सिंचाई, स्वास्थ्य, शिक्षा र दैनिक जीवनस्तर आदी क्षेत्रमा खासै परिवर्तन आएको पाईदैन । हरेक बर्ष छुट्टाईने विकासे बजेट सम्बन्धित क्षेत्रसम्म पुग्दैन तर कागजीरुपमा बिल-भरपाई तामेली गरिएको पक्कै हुन्छ । त्यसो त यतिका धेरै गैरसरकारी संस्थाहरु ग्रामिण विकास को क्षेत्रमा कार्यरत भएको सुन्नमा पाईन्छ तर उपलव्धी भने शुन्य प्राय देखिन्छ । ग्रामिण जनताको अभाव र पीडालाई ” आयोजना संचालनको प्रोपोजल ” बनाएर स्वदेश एवं विदेशबाट मोटो रकम संकलन गरेर आफुहरु मालामाल बन्ने र साथै राजनितिक दललाई पोस्ने कामहरु हुँदै गएको सर्वत्र जानकारी हुँदा समेत राज्य बेखवर बनिरहेको पाईन्छ । यसरी हेर्दा केही औलामा गन्न सकिने यस्ता NGO-INGO ले बाहेक अधिकांशले ग्रामिण क्षेत्रको विकासमा खासै उल्लेखनिय भुमिका खेलेको पाईदैन ।

अझै दु:खको कुरा त राज्यले यतिका धेरै आर्थिक एवं मानविय संसाधन देशको शैक्षिक विकासमा लगाएको बजेट भाषण र सरकारी आर्थिक प्रतिवेदनमा पढ्न पाईन्छ तथापी सुदुर गाउँहरु -रुकुम, रोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, लगायतका ठाउँहरुमा शैक्षिक क्षेत्रको दयनिय अवस्था बारे समाचारहरु पढ्दा भने ती ठाउँमा ठगिएका जनताहरु देख्दा भने राज्य संचालक देखि भने घृणा जागेर आउँछ । यस्तै खवर सामाजिक संजालमा पोस्ट भएको देख्दा यो सानो आलेख लेख्न मन लाग्यो । खासमा यस स्तम्भकारको क्याम्पस पढ्दाको साथी “कुसुम थापा ” ले पोस्ट गरेको रुकुमको एउटा गाउँको अवस्थाले सुदुरको गाउँको वस्तुस्थितिलाई अन्य गाउँको अवस्थालाई प्रतिनिधित्व गरेको छ । जसमा सम्बन्धित क्षेत्रका जनप्रतिनिधीहरुको ध्यान जानु जरुरी छ । राजधानीमा बसेर मिठा भाषण गरेर जनताको आँखामा छारो हाल्ने काम कतैबाट हुनुहुँदैन र ग़ैरसरकारी संस्थाहरुले पनि गाउँले जनताको अभाव र पीडालाई पसल बनाएर कमाउ धन्दामा लाग्नु हुँदैन भन्ने आग्रह समेत छ ।

 

कुसुम थापा जीको स्टाटस यस्तो थियो – “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।आज मेरो रुकुमको चुनावी अभियानकाे समयमा मैले जे देखें र भोगें त्यही पोस्ट गर्दैछु । फोटो हेरेर पनि थाहा पाउन सकिन्छ कि त्यहॉंको जिवन कति कष्टकर छ भन्ने । वास्तवमा त्यहॉंका जनता सरकारको उपस्थिति वा बिकासको अनुभूतिबाट टाढै रहेको पाईन्छ । त्यहॉंका बालबालिकाहरु ख़ाली खुट्टा स्कूल गएको सम्म पाइयो । कति कष्ट हुन्छ होला चिसोले कठाड्.ग्रिने जाडोमा एकसरो आड. ढाक्ने कपडा जोहो गर्न समेत गार्हो हुँदा । प्राय छात्राहरुले जाडो छल्नको लागि लुड.गी लगाएर स्कूल जाने गर्दारहेछन । ठूला मान्छेहरु पनि आफै तानमा बुनेका धागो तथा भेडा र बाख्राको रौं बाट बुनेको कपडा लगाउने । त्यहॉंका मानिसहरू त्यही ऊनबाट बुनेर तयार पारेको काम्लो बिच्छ्याउने तथा त्यही काम्लोलाई बेरेर तकिया पनि बनाउने गर्दछन ।तयहॉंको वस्तुस्थिति बुझे पछि मैले मेरी साथी उमा कार्की थापालाई बताएको थिएँ ।वहॉं हाल अमेरिका बस्दै आउनु भएको छ , एन आर एन अमेरिकाको उपाध्यक्ष पदको लागि प्रत्यासी हुनुहुन्छ । २५ जना छात्राबाट सुरुवात गरेकाछौं ।वहॉंले नै त्यहॉंका २५ जना छात्रालाई ड्रेस ,ब्याग, जुता खाजा खर्च सहित सम्पूर्ण खर्च ब्यहोर्रिदिने जिम्मा लिनुभएको छ जसलाई ति हृदयहरुले आशिर्वाद पक्कै पनि दिएका छन । जसले गर्दा तपाईंलाई सामाजिक कदको उचाई बढेको छ । शुभकामना तपाईंको प्रत्येक पाईलाले सफलता पाऊन !”

उहाँको स्टाटस सँगै पोस्ट गरिएका केही फोटोहरु –

 

प्रतिक्रिया