ढुक्क हुनुहोस् निर्वाचन शान्तिपूर्ण हुन्छ

इनेप्लिज २०७४ असार १० गते ९:१७ मा प्रकाशित

खजुरा (बाँके), १० असार । दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहकोे निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल कानुन पत्रकार समाज तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँकेद्वारा शुक्रवार नेपालगन्जमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रहरी, स्थानीय प्रशासन र निर्वाचन कार्यालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएकाले ढुक्क भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गरिएको छ ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउने कार्यमा सम्बन्धीत सबैले इमान्दारिपूर्वक उत्साहका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा भरपर्दो विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै ढुक्क भएर मतदानमा सरिक हुन मतदातालाई आग्रह गर्नुभयो ।

बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले सुरक्षा संवेदनशीलतालाई ख्याल राख्दै मतदातालाई अनुभूति हुने गरी सुरक्षा प्रदान गर्न सुरक्षा निकाय तयार रहेको छ भन्नुभयो ।

क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले निर्वाचन आचारसंहितालाई सबै पक्षले पालना गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया