स्वतन्त्रता सेनानी सम्मानबाट वरिष्ठ पत्रकार नेपाल सम्मानित

इनेप्लिज २०७४ असार ३ गते १३:२० मा प्रकाशित

पाँचथर, ३ असार । पत्रकारिता पेसामा आधा शताब्दी बिताउनुभएका वरिष्ठ पत्रकार किशोर नेपाल आज पाँचथरको फिदिममा सम्मानित हुनुभयो । नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले तीन वर्ष अगाडिदेखि गर्दै आएको स्वतन्त्रता सेनानी पत्रकारिता सम्मानबाट यो वर्ष नेपाललाई सम्मान गरिएको हो ।

सांसद अइन्द्रसुन्दर नेम्बाङले दोसल्ला ओढाएर पत्रकार नेपाललाई सम्मान गर्नुभएको थियो । त्यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गानाले रु २२ हजार २२२ समेत पत्रकार नेपाललाई हस्तान्तरण गर्नुभयो ।

प्रेस युनियनका पूर्व अध्यक्ष समीरजङ्ग शाहले २०२४ सालदेखि स्वतन्त्र लेखनबाट पत्रकारिता सुरु गर्नुभएका नेपाल नेपाली पत्रकारिताको एक विशिष्ट व्यक्तित्व भएको बताउनुभयो । लेखनकै विषयलाई लिएर दुईपटक जेल जीवन बिताउनुभएका नेपाल युवा पुस्ताको प्रेरणाको स्रोत भएको समेत शाहले बताउनुभयो ।

सम्मानपछि बोल्दै नेपालले अत्यन्तै कष्टकर अवस्थाबाट गुज्रिएर आएको नेपाली पत्रकारितालाई अहिले प्रविधिले छुट्टै अवस्थामा पु¥याएको टिप्पणी गर्नुभयो । प्रविधिको तीव्र विकासले पत्रकारिता अहिले सुगम बन्दै गएको उहाँको भनाइ थियो ।

विसं २०६१÷६२ को दोस्रो जनआन्दोलनका क्रममा ३५ दिन जेल जीवन बिताउनुभएका महासङ्घ पाँचथरका अध्यक्ष लवदेवले गणतन्त्र स्थापनापछि क्षतिपूर्तिस्वरुप राज्यबाट पाउनुभएको रु ३५ हजारबाट कोष स्थापना गरी २०७२ सालदेखि सम्मान दिन सुरु गर्नुभएको छ । यसअघि पत्रकार शिव गाउँले र विष्णु निष्ठुरी सम्मानित भइसक्नुभएको छ ।

सोही अवसरमा स्व हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारसमेत प्रदान गरिएको थियो । यो पुरस्कारबाट यो वर्ष पत्रकार भीम तुम्बापो पुरस्कृत हुनुभएको छ । फिदिमका व्यवसायी नरेन्द्र अधिकारीले आफ्ना माता–पिताको नाममा यो पुरस्कारको स्थापना गर्नुभएको हो । वातावरण व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कलम चलाउने एकजना पत्रकारलाई हरेक वर्ष दिइने यो पुरस्कारको राशि रु पाँच हजार ५५५ रहेको छ ।

प्रतिक्रिया