सम्भव नै छैन : मोहन बैद्य, अध्यक्ष–नेपाल क्रान्तिकारी माओवादी

इनेप्लिज २०७४ जेठ ३० गते १९:५७ मा प्रकाशित

नेपाल क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले आफूहरुले स्थानीय तहको निर्वाचनलाई उपयोग गरेर जाने निर्णय लिएकोले चुनावमा केही ठाउँमा विजयी हाँसिल गर्ने समेत बताएका छन् । जनाधार बलियो बनाउनको लागि नै चुनावमा जाने निर्णय लिईएको उनले जानकारी दिए । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले अध्यक्ष बैद्यसँग गरेको कुराकानीको सम्पादित अंश :

राजपा नेपाल निर्वाचन विथोल्ने, मोहन वैद्य निर्वाचनमा भाग लिने कारण के हो ?

अब हामीले भाग लिन थालेको यो व्यवस्था राम्रो भनेको होईन ।

तपाईले निर्वाचनमा भाग लिईसक्नुभयो नि ?

हामीले उपयोग गर्ने नितिको आधारमा यस्तो भएको हो । पञ्चायतकालमा पनि यस्तो भएको थियो । ०४८ सालको चुनाव पनि उपयोग गरेको हो । आवश्यकत्ता अनुसार अघि बढ्ने हो ।

२०७० मा भाग लिनु भएन, आज आएर किन भाग लिनुभयो ?

अब सुन्नुस् न । चुनावलाई राजनीतिक कार्यनीति भनेको होईन नि त । यो चेन्ज भैरहन्छ । कुनैबेला बहिष्कार र कुनैबेला उपभोग गरिन्छ । हाम्रो ईतिहासमा ०५१ सालको निवार्चन बहिष्कार गरेका थियो ।

तपाईलाई जनताले मन पराएको स्थिति पनि छैन् नि ?

होईन । होईन । ऋषिजी तपाईले कुरा बुझ्नु भएको छैन् । हामी जनताकोबीचमा छौँ। हाम्रो कार्यनीति के हो ? भन्ने कुरा बुझ्नुस् । पहिले नि ठिक छ, अहिले नि ठिक गरेका छौँ ।

स्थानीय तहको निर्वाचन उपयोग गर्दा फाईदा भयो या घाटा त?

हामीले जित्छौँ । ठुलो शक्ति छ भनेर भनेको होईन । हाम्रा कुरा लिएर जनताको बीचमा जाने हो । जनाधार तयार पार्ने, संगठन बलियो बनाउँने भनेर गएको हो नि ।

त्यसो भए संगठन निमार्णका लागि मात्रै रहेछ होईन त ?

हो । हामी जनताको बीचमा जानको लागि यसलाई उपयोग गछौँ।

संगठन साह«ै कमजोर भयो ?

हामीले संगठन बलियो भनेर भनेका छैनौँ ।

मोहन वैद्यले नेपालमा केही गर्न सक्नु भएन होईन त ?

होईन किन नसक्ने ? विगतमा पनि सकेको हो । आजपनि सकिरहेका छौँ । फेरी संगठन निर्माण गर्दैछौँ ।

नेपाली जनताका बीचमा ओझेल पर्नु भएको त हो नि ?

होईन । सानो र ठुलो हुने हो ।

प्रचण्डका गुरुको यो हालत जनताले देख्दा के भन्छन् ?

जनताले बुझेका छन् । हामी जनतालाई बुझाउँछौँ । समग्र राजनीतिज्ञलाई सबैले बझेका छन् ।

तपाई पार्टीमा एक्लै हुनुहुन्छ ?

धेरै छौँ ।

कुनैबेला तपाईको नेपाली राजनीतिमा खुब दबदबा थियो नि ?

आज पनि छ । सत्तामा पुगेर गर्ने के हो ? भन्नुस न । गरिरहेका छन् । जनताको बारेमा कोही चिन्ता गर्ने कोही छैन् ।

०७० सालको संविधान सभाको निर्वाचनमा किन भाग लिनु भएन त ?

त्यतिबेला शक्ति पृथकिकरणको आधारमा देश चल्नुपर्छ भनेर भनेका थियाँै । अर्कोतर्फ बहालवाला प्रधानन्यायाधीसलाई ल्याएर किन चुनाव गराएको ? भनेका थियौँ नि । हाम्रो मान्यताको राजनीति हो ।

स्थानीय तहमा तपाईका उम्मेदवार उठ्ने मान्छे नै छैनन् अरे ?

त्यस्तो नभन्नुस् । हामी देखाउँछौँ भन्नुस् ।

ज्नताले पहिलो चरणमा देखिसके नि ?

हाम्रो पार्टी उठ्दै उठेको छैन् । तपाई कस्तो कुरा गर्नुहुन्छ ? मोर्चालाई सहयोग गरेका छौँ । हामीलाई थाहा छ नि । गफ लगाएका छैनौ । स्थिति तलमाथि हुन्छ । तपाई हेर्दै जानुस् । क्रान्तिकारी जनता एकजुट गराएर फेरी बलियो जनमत बनाउँछौँ । सच्चा क्रान्तिकारी एकजुट हुन्छ । कत्ति पनि हडबड गर्दैनौँ ।

असार १४ मा तपाईको पार्टीले कतै जित्ने सम्भावना छ ?

कतै जित्न सकिन्छ । कतै जितिएला नि ।

राजपा नेपालले निर्वाचनमा भाग नलिए पनि हुन्छ कि के गर्दा राम्रो हुन्छ ?

मैले त्यसो भन्न खोजेको होईन । उहाँलाई बहिष्कार गर्न पनि छुट छ । तर के गर्दा राम्रो हुन्छ भनेर जान्नुपर्छ ।

प्रचण्डसँग पार्टी एकता हुन्छ ?

हुँदैन । मैले स्पष्टीकरण दिईसकेको छु ।

पार्टी एकता गर्न नहुे कारण चाहीँ के होला ?

तपाईलाई थाहा छ नि । हाम्रो आन्दोलन यसै व्यवस्थाको लागि गरिएको हो ? सम्भावना छैन् ।

अनि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग नि ?

झन सम्भव छैन् ।

बालुवाटारमा जानुहुन्छ ?

जान्छु । किन नजानु ।

प्रधानमन्त्री शेर बहादुर देउवाजीसँग सम्बन्ध कस्तो छ त ?

एक्दम राम्रो छ ।

नेत्रविक्रम चन्द विप्लवसँग पार्टी एकता हुन्छ त ?

हुँदैन । उहाँले वहिष्कार गर्नु भएको छ । कस्तो वहिष्कार हो त्यो हेरौला ।

तपाईको नाममा क्रान्ति होला ?

मैले कोसिश गरेको छु । म बाँचुन्जेल प्रयास गर्नेछु । मैले नै भन्ने कुरा हुँदैन । अरु साथीले गर्नसक्नु हुन्छ । म निष्ठाको राजनीति गर्ने मान्छे हुँ । मान्यताको राजनीति गर्ने हो नि ।

प्रतिक्रिया