पशुपतिनाथमा गङ्गाजलभिषेक गरिने

इनेप्लिज २०७४ जेठ २७ गते १६:१० मा प्रकाशित

काठमाडौँ, २७ जेठ । राष्ट्रिय एकता सर्वपक्षीय सङ्कल्प यात्रा मूल आयोजक समितिले राष्ट्र कल्याणको कामना गर्दै आगामी साउन १६ गते पशुपतिनाथमा गङ्गाजलभिषेक तथा विशाल धर्मसभा गर्ने भएको छ ।

सो कार्यक्रमका लागि भारतको हरिद्वार, काशी र पश्चिम बङ्गालबाट ‘राष्ट्रिय एकता सङ्कल्प यात्रा’ आगामी साउन ८ गतेदेखि सुरु गरिनेछ । साउन १६ गतेसम्म जारी रहने सो यात्रा १० गतेदेखि नपालको महेन्द्रनगर र काँकडभिट्टामा एकै दिन कार्यक्रम गरी विभिन्न नदीका जल लिएर १५ गते काठमाडौँ आउने कार्यक्रम छ ।

सर्वपक्षीय नागरिक दबाब समूह र अन्तर्राष्ट्रिय हिन्दू जनजागरण गौ रक्षा अभियानले सनातन हिन्दू राज्य पुनःस्थापनाका लागि आन्दोलन गर्ने जनाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक एवम् नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईले भारतको गङ्गा, जमुना, ब्रह्मपुत्र, कावेरी, सरयु आदि र नेपालका प्रवित्र सम्पूर्ण नदीको जलाबाट पशुपतिनाथमा जलाभिषेक गरी वनकालीमा विराट धर्मसभाको आयोजना गरिने जानकारी दिनुभयो ।

आयोजक संस्थाका अनुसार अभियानको शुभारम्भ उत्तराखण्डका पूर्वमुख्यमन्त्री एवम् नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) का संयोजक सांसद भगतसिंह कोशियारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले संयुक्त रुपमा गर्नुहुनेछ ।

प्रतिक्रिया