जटिल मस्तिष्क रोगी चार वर्षे गौतमको निःशुल्क उपचार हुने

इनेप्लिज २०७४ जेठ २५ गते ७:०३ मा प्रकाशित

काठमाडौँ, २५ जेठ । तीन वर्षदेखि मस्तिष्कसम्बन्धी जटिल रोगबाट पीडित चार वर्षीय छोराको उपचारमा भौँतारिइरहेकी राजिता थापाले बल्ल सहयोग पाउनुभएको छ ।

रोल्पा बुढागाउँ स्थायी घर भई दाङ बस्दै आउनुभएकी राजिताका कान्छा छोरा गौतम थापा ‘होलो प्रोजेनसेफाली’ नामक रोगबाट पीडित भएपछि उपचारका लागि तीन वर्षदेखि काठमाडौँको सडक पेटीमा पैसा मागेर उपचार खर्चको जोहोमा हुनुहुन्थ्यो ।

एक वर्षअघि नयाँ सडक निवासी क्षितिजा शाक्यले भेटेपछि राजिताको छोराका लागि उपचारको बाटो खुलेको हो । बाटोमा छोरालाई राखेर पैसा मागिरहेकी राजितालाई देखेपछि उपचार पनि गर्नुपर्छ भन्ने लागेर नर्भिक ल्याएको उहाँले बताउनुभयो ।

शाक्यको पहलमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले गौतमको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ ।

सो रोगले शिशुको टाउको र अनुहारको विकासमा बाधा पु¥याउनुका साथै मस्तिष्क आंशिक रुपमा विभाजित भई अन्य कोषको विकासमा समेत बाधा गरिरहेको हुन्छ ।

शाक्यको पहलमा नर्भिक अस्पताल लगिएका गौतमको अवस्था जाँच गरेपछि न्युरो फिजिसियन पङ्कज जलानले उनलाई होलो प्रोजेनसेफाली नामक जटिल मस्तिष्क रोगमध्येको ‘एलोबार होलो प्रोजेनसेफाली’ भएको पुष्टि गर्नुभएको थियो ।
गौतमको उपचार अस्पतालबाट सम्भव भएको सम्पूर्ण उपचार निःशुल्क गर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार सामान्यतः मुखको कुनै पनि खराबी मस्तिष्क जटिलताको खराबीको आधारमा हुन्छ ।
अस्पतालका अनुसार ‘एलोबार होलो प्रोजेनसेफाली’ भएका शिशु मरेकै अवस्थामा जन्मने वा जन्मिएको थोरै समयमै मृत्यु हुने हुनसक्छ । समस्याबाट कम प्रभावित शिशुको भने आयु भने शारीरिक अवस्थामा भर पर्ने हुन्छ ।

‘होलो प्रोजेनसेफाली’ हुनुको मुख्य कारण मस्तिष्कमा हुनुपर्ने छुट्टाछुट्टै प्रकोस्टहरु (दाहिने मस्तिष्क र देक्रे मस्तिष्क) मा विभाजित नभएर केबल एउटामात्र मस्तिष्क हुनु मुख्य कारण हो । अस्पतालका अनुसार गौतम भने जन्मतातै असामान्य अवस्थाका छन् । उनको टाउको अत्यधिक ठूलो भएर समस्या भएको छ ।

अस्पतालले निःशुल्क उपचार गर्ने भएपछि राजिताले त्यहाँसम्म आउन सहयोग गर्ने क्षितिजा र अस्पताल प्रशासनलाई धन्यवाद दिनुभयो ।

गौतमबाहेक अन्य तीन छोराछोरीसँगै हाल बोहराटार, काठमाडौँमा बस्दै आएकी राजिताले बिरामीको उपचारमा सहयोग नगरी श्रीमान्ले दोस्रो विवाह गरी गाउँमै बसेकाले मागेर भए पनि छोराको उपचारका लागि काठमाडौँ आएको बताइन् ।

प्रतिक्रिया