शिशिर सिंखडा
खोलेसिमल, चितवन, १९ जेठ ।
हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएका पूर्वी चितवनको कालिका नगरपालिकाका जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरिएको छ । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. र खोलेसिमल बजार व्यवस्थापन समिति कालिका वडा नंंं ६ को संयुक्त आयोजनामा भएको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, ११ वटै वडाका वडाध्यक्ष तथा वडा नं. ६ का वडा सदस्यहरुलाई सम्मान तथा स्वागत गरिएको थियो ।
सो कार्यक्रममा बोल्ने वक्ताहरुले यस नगरपालिकाभित्र रिङ्गरोडको व्यवस्था गर्न जरुरी रहेको बताए । सिद्धिदेखि शक्तिखोर, जुटपानी हुँदै खोलेसिमलको बाटोबाट मुख्य राजमार्ग जाने सडक व्यवस्थित गरी यातायात संचालन हुनुपर्नेमा समेत वक्ताहरुले माग गरेका थिए । समग्र नगरको विकासमा निजी क्षेत्र र नगरपालिकाको समन्वय आवश्यक रहेको समेत कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए ।
सो कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले अर्थतन्त्रको मुख्य खम्बा निजी क्षेत्र र सहकारी भएकोले सबैको समन्वय र सहकार्यमा समृद्ध कालिका बनाउन आफु प्रतिवद्ध रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर श्रेष्ठले नगरपालिका भित्रका उद्योग व्यवसायलाई प्रवद्र्धन गर्दै कालिका नगरको विकास र समृद्धमा आफु लाग्ने बताए । यो नगरपालिका समथर भूभाग देखि पहाडी क्षेत्रसम्म फैलिएकोले यस नगरपालिकाको सबै क्षेत्र, वर्गलाई समेटेर सडक, ढल, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्न सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् कालिका नगरपालिकाका उपमेयर कमला भट्टराईले यस नगरलाई महिला हिंसामुक्त नगर बनाउन प्रतिवद्ध रहेको बताईन् । अपाङ्ग मैत्री नगर बनाउन र समग्र नगरलाई चितवनको नमूना योग्य नगर बनाउन सबैको साथ र सहयोग जरुरी हुने समेत बताईन् ।
कार्यक्रममा कालिका नगरपालिका वडा नं. १ का वडाध्यक्ष लिला बहादुर गुरुङ्ग, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारी, उपाध्यक्ष नर बहादुर जि.सी., सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष द्रोण प्रसाद लामिछाने, उपाध्यक्ष शितल काजी श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कालिका नगरपालिकामा हालै निर्वाचित मेयर खुम नारायण श्रेष्ठ, उपमेयर कमला भट्टराई, वडा नं. १ देखि ११ सम्मका वडाध्यक्षहरु लिला बहादुर गुरुङ्ग, सोम बहादुर गुरुङ्ग, टिकाराज रिजाल, कृष्ण कुमार श्रेष्ठ, जियन महतो, बिनोद रेग्मी, डिल्लीराम दवाडी, इम प्रसाद अधिकारी, हेम बहादुर क्षेत्री, डिल बहादुर गुरुङ्ग र कृष्ण बहादुर प्रजा त्यसैगरी वडा नं. ६ का सदस्यहरु बालकृष्ण अधिकारी, दशरथ सापकोटा, दुर्गा सुवेदी र सम्झना परियारलाई टिका, फुलमालाले स्वागत तथा सम्मान गरिएको थियो ।
प्रतिक्रिया