अमेरिकामा नेपाली गीत संगीतमै लिप्त कुशल नृत्यंगना तथा समाजसेवी जो गुमनाम छिन्……

इनेप्लिज २०७४ जेठ १० गते ०:५५ मा प्रकाशित

क्यालिफोर्निया ,अहिले समाज हल्ला गर्नेहरुको पछि लाग्छ । राम्रो काम गरेर मात्रै होइन, नराम्रो काम गरेरै भएपनि चर्च कमाउनेहरुको भीड बाक्लै छ समाजमा । तर यस्ता केही व्यक्ति पनि छन् यो समाजमा, जो आफूभित्र रहेको माटो र मातृभूमिप्रतिको प्यारलाई दुनियाँको जुन कुनामा पुगेपनि भूल्न सकिरहेका हुँदैन । बाध्यता र विवशतालाई एकातिर पन्छाउँदै बचेको समयमा आफ्नो मौलिकतासँग लिप्त हुनेहरुपनि विदेशी भूमिमा यदाकदा भेटिन्छन । त्यस्तै मध्येकी एक हुन् नेपालको सुन्दर नगरी काठमाडौं र  यही काठमाडौं खाल्डोको ऐतिहासिक भक्तपुर शहर जन्मिएकी मनिषा श्रेष्ठ ।

मनिषा हाल पाश्चत्य गीत र संगीतको उद्गम्स्थल मानिने विश्वकै सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकामा नेपाली विद्यार्थीकी रुपमा अध्ययनरत छिन्  । तर अध्ययनबाट बचेको आफ्नो समयलाई मनिषाले समाजसेवा र नेपाली गीत संगीतको प्रबद्र्धनमा खर्च गरेकी छन् । शरीरका गोप्य भनिएका अंगहरुपनि राम्ररी नछोपीने गरी छोटा पहिरन लगाएर ताल न बेतालमा नाच्नेहरुले रातारात चर्चा बटुलिरहेका बेला मनिषा जस्ता राष्ट्र र राष्ट्रिय भावनाबाट ओतप्रोत भएका गीत संगीतलाई माया गर्ने तथा सुन्दर प्रतिभा तथा नृत्यांगानाहरु यतिबेला गुमनाम बनिरहेका छन् । क्यलिफोर्नियाको बे एरियामा बस्ने मनिषाले आफूले नेपाली गीत संगीतमा गरेको कुशल नृत्य समावेश गरिएका दर्जनौ गीतहरु उनले आफ्नो युट्युव च्यानलमा डाउनलोड गरेकी छन् । अधिकांश गीतहरुमा उनले नेपाली पनको झल्को दिने खालका भेषभुषा पहिरिएकी छन् ।

पछिल्लो पटक बरिष्ट गायिका कुन्ति मोक्तानद्वारा स्वरवद्ध चर्चित गीत ‘डाली डालीमा हो डाली डालीमा…….’ मा मनिषाले अत्यन्तै सुन्दर ढंगले नृत्य गरेको भिडियो उनले आफ्नो यु ट्युव च्यानलमार्फत् सार्वजनिक गरेकी छन् ।  पृष्ठभूमिका बहिरहेको हावाले सँगैका रुखका पातहरुलाई हल्याइरहेका दृश्यबाट शुरुहुने गीतमा मनिषाले चुल्ठोमा बाटिएको धागोको फुर्को उचाल्दै नृत्य शुरु गरेर शुरुदेखि अत्यसम्म आफ्नो खारिएको नृत्यशिल्पी देखाएकी छन् । यस्तै उनको अर्को गीत ‘कसरी भनौ म मनको कुरा यो, पहिलो पहिलो हो माया हजुरलाई……..’ भन्ने गीतमा पनि नेपाली पन झल्किएको छ । सो गीतमा पनि उनले अमेरिकी भूभागमा नेपाली भेषभुषा पहिरिएर नृत्य गरिरहेकी छन् । सुन्दर बान्कीको हँसिलो मुहारकी धनी मनिषाको नृत्य सानै देखीको सौख हो । त्यसैले त उनी अमेरिका पुग्दा पनि आफ्नो पुरानो बानीमा परिवर्तन आएको छैन ।

ऐतिहासिक नगरी भक्तपुरको नेवार समुदायको माझ जन्मे हुर्केकी मनिषाको नशा नशामा आफ्नो संस्कृति र सभ्यता तरंगीत भएको छ । पाश्चात्य संस्कृतिको दवदवा रहेको अमेरिकामा पुग्दा पनि यसमा रुमलिनु को साटो आफ्नै संस्कृति र गीत संगीतको प्रर्बद्धन र संरक्षणमा लाग्नुले मनिषाभित्रको राष्ट्र प्रेम छर्लङ्ग हुन्छ । आफूमात्रै लागेर हुँदैन भन्दै उनी आफ्ना भावी पुस्तासम्मले हेर्न पाउने गरी प्रबिृद्धिको उच्चतम फड्को लाई पकड्न सफल भइन् र युटु्युवमा सुरक्षित गरिदिइन् । मनिषा भन्छिन् ‘परदेशमा हुँदा झन् मिस गरिँदो रहेछ नेपाली कला र संस्कृति र सभ्यतालाई । हामीले नगरे कसले गर्छ यसको संरक्षण र सम्बद्र्धन अनि अहिले नगरे कहिले गर्ने ?’ उनी प्रतिप्रश्न गर्दैथिइन् ‘ हरेक युवा युवतीले विदेसिएसँगै आफ्नो गीत–संगीत र संस्कृति विर्षने हो भने यसलाई जोगाउने जिम्मा कसको ? स्वदेशमा रहेका बृद्धा बुबाआमा र कलिला भाइबहिनिको ?’ दैनिक करिब २ हजार युवायुवती बैदेशिक रोजगारीको लागि भन्दै विदेखिएको र र पछिल्लो स्थानीय निकायको चुनावमा करिब आधाकरोड प्रवासी नेपालीले मताधिकार प्रयोग गर्न नपाएको तितो तथ्य सार्वजनिक भै रहेकै बेला मनिषाको यो प्रश्न वास्तवमै अत्यन्तै समय सान्दर्भिक छ ।

नेपाली माटो र भावना बोकेका यस्ता दर्जनौं गीतमा दर्शकको आँखा नै एकोहोरो हुने गरी नृत्य गरिसकेकी यी प्रतिभाले अहिलेसम्म न मिडिया गुहारिन् न मिडिया यिनीसम्म पुगे । त्यसैले त अहिलेसम्म पनि उनी चर्चामा छैनन् ।  सात समुद्रपरको बाध्यताको शहरभित्र रुमलिँदा पनि उनी आफूलाई नेपाली  भन्नमै गवै गर्छिन् र नेपाली गीत संगीत उनका पर्याय बनिदिएका छन् । नेपाली लोक तथा आधुनिक होस् वा पप नै किन नहुन्,  मनिषाको मनमा नेपाली गीत प्रतिको झुकाव छ । यसको अर्को उदाहरण हो – ‘काले दाईले लगाएको लगाएको कालै इस्टकोट…. ।’ नामक पप गीत ।  युवा पंक्तिमा चर्चित यो पप आधुनिक गीतमा पनि उनले आफ्नो कुशल नृत्य प्रस्तुत गरेकी छन् । मनिषा जस्तै यस्ता कयौं नेपाली युवा युवती अझै पनि विदेशी भूमिमा गुमनाम छन् होला । तर गीत संस्कृतिप्रतिको अथाह प्रेम झल्कने गरी मनिषाले आफ्नो युट्युव च्यानलमा आफ्नो प्रस्तुती राखेर अशल कामको शुरुवात गरेकी छन् । यस्ता प्रतिभाले भोलिका दिनमा राम्रो ठाउँ पाउनुपर्दछ, राज्यले यस्ता प्रतिभालाई स्वदेशभित्रै अटाउनका लागि वातावरण र ठाउँ बनाईदिनु अबको आवश्यकता हो ।  धन्यवाद मनिषा, आगामी दिनमा पनि यसैगरी आफ्नो प्रस्तुती र गीत संगीतप्रतिको माया मोह बाँडिरहनु । सफलताको शुभकामना ।

मनिषाद्वारा अभिनित गीत संगीत तथा नृत्यहरु तलको लिंकमा क्लिक गरी हेर्न सकिने छ । ……

प्रतिक्रिया