भूकम्पको जोखिममा परेका ५ जिल्लाका बस्ती सार्ने प्राधिकरणको निर्णय

इनेप्लिज २०७४ जेठ ७ गते १६:०२ मा प्रकाशित

७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त पहिचान भएका भूकम्प अतिप्रभावित ५ जिल्लाका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी एकीकृत वस्ती विकास गर्ने निर्णय गरेको छ ।

भूकम्पले क्षति पुर्‍याएको दुई वर्षपछि आयोगले यस्तो निर्णय गरेको हो । आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत वस्ती विकास लागि सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम सुरु गर्ने बताएको छ । कार्यकारी समितिले त्यस्ता पूर्वाधार निर्माणका लागि अन्य संघसंस्था/निकायको सहयोग लिने समेत निर्णय गरेको छ ।

 

पहिलो चरणमा सारिने गाउँहरु

समितिले पहिलो चरणमा प्राधिकरण र भूगर्वविदसहितको टोलीले जोखिमयुक्त भनी पहिचान गरेका वस्तीहरु गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्डे, नुवाकोटको उर्लेनी र दोलखाको वेसीम्पा छन् ।

यी बस्तीहरुलाई स्थानान्तरण गर्ने स्थानका बारेमा भने निर्णय भइनसकेकोे प्राधिकरणले जनाएको छ । प्राधिकरणले जग्गा छनौट गर्ने जिम्मा सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वस्ती स्तान्तरणका लागि सुरक्षित जग्गाको छनोट गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीले सुरक्षित स्थानमा सर्न चाहने भूकम्प प्रभावितसँग परामर्श गरी त्यसका आधारमा जग्गा छनोट गर्ने र त्यस्तो जग्गामा पूर्वाधारण निर्माण गर्ने काम सरकारले गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

‘एकीकृत वस्तीको विकासका लागि सडक, खानेपानी, विद्युतीकरण, नदी नियन्त्रण, जग्गा प्राप्ति जस्ता पूर्वाधार निर्माणको विषयलाई समेत सरकारी तवरबाट सम्वोधन गरिनेछ’ प्रवक्ता भुसालले भने, ‘यो कामका लागि अन्य संघ संस्था वा निकायको पनि सहयोग लिएर दोहोरो नपर्ने गरी एकीकृत वस्ती विकास गर्ने कार्यक्रम अघि बढाउने निर्णय भएको छ ।’

प्राधिकरणले जोखिमयुक्त भनी हालसम्म पहिचान भएका ११२ स्थान मध्ये पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा अति प्रभावित ५ जिल्लाका वस्तीलाई स्थानान्तरण गर्ने प्रक्रिया थालेको हो ।

प्रतिक्रिया