यो सम्मेलन नेपाली युबाहरुको उन्नति पथको कोशेढुंगा हो:पासांग लामा

इनेप्लिज २०७४ जेठ ४ गते २:२५ मा प्रकाशित

यहि मे २६ देखि २८ सम्म डालसमा हुन गैरहेको युएनएको दोश्रो सम्मेलनको तयारी बारे संस्थाका अध्यक्ष पासांग लामा संग गरिएको संक्षिप्त कुराकानी:

-युएनएको दोश्रो सम्मेलन आउनै लागिसक्यो, केकस्तो तयारी भएको छ ?

युएनएको सम्मेलनको दिन आउन करिव एक हप्ता र केहि दिन बाँकी छ । संयोजकको माध्ययमबाट हरेक क्षेत्रमा काम भैरहेको छ । खेलकुद, फोरमहरु, सांस्कृतिक कार्यक्रम संचालन गर्न आबस्यक तयारी सकिएको छ । सबैले आफ्नो बलबुताले भ्याए सम्म काम गरिरहनु भएको छ । प्रायोजक खोज्ने कामहरु पनि भैरहेका छन् । समग्रमा तयारी राम्रो संग भैरहेको छ ।

नेपाली युवाहरुमा लक्षित गर्न युएनएको स्थापना गरिएको भनिन्छ तर सारमा त उनी पुराना अनुहारहरु पनि देखिन्छ त ?

कोहि पनि पुरानो छैन । सपोर्ट पुरानोले गर्ने र नयाँले नेतृत्व गर्ने हाम्रो अभिप्राय हो । उमेरले पुराना भन्न सकिने मानिसहरु पनि बिचारमा युवा हुनुहुन्छ । हाम्रो टीममा संकीर्ण बिचारको कोहि पनि छैन । त्यसमाथि खेलकुदको संयोजक, ट्यालेन्ट शोको संयोजक, कल्चरल नाइटको संयोजकहरु नयाँ र जोशिला युबाहरु हुनुन्छ । टीमलाइ सहि मार्गदर्शन गर्नको लागि केहि अनुभवी साथीहरु पनि समाबिस्ट हुनुहुन्छ । उमेरले तलमाथि भए पनि सबै जना काम गराईमा युवा हुनुन्छ ।

-समुदायको सहयोग र चासो कत्तिको पाउनु भएको छ ?

सबैको सहयोग छ । युएनए लाइ कता कता अरु संस्थाहरुको समानान्तर संस्थाको रुपमा हेर्नु हुदैन। हामी न त कसैको जुम्ल्याहा संस्था हौँ न त प्रतिद्वन्दी । केहीलाई छोडेर अधिकांश नेपाली संस्थाहरुको काम नेपालीहरुलाई लाभ पुर्याउनु नै हो । त्यसैले सबैले सबैलाई सहयोग गरेर जानु नै उत्तम हो र हामीलाई पनि सबैको सहयोग प्राप्त छ ।

सम्मेलन सफल हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

पुरै ढुक्क छु । यसलाई मैले नितान्त व्यक्तिगत कार्यक्रमको रुपमा लिएको भए मलाई अलि अप्ठेरो पनि हुन सक्थ्यो । यो हाम्रो समग्र टीमको र नेपाली समुदायकै कार्यक्रम हो । त्यसैले सफल हुन्छ । सोंचे जस्तो भएन भने पनि बर्बादै भयो भन्ने कुरा होइन । युएनए नेपाली समुदायको संस्था भएको र यो सम्मेलन पनि नेपाली समुदायको हितमा गर्न लागिएकोले यसबाट आउने परिणामले हामीलाई हतोत्साहित होइन, उत्साहित नै बनाउनेछ । हामी सबैमा यति धेरै सकारात्मक उर्जा छ कि आउने कुनै नकारात्मक परिणामले हामीलाई कुनै किसिमले असर गर्दैन ।

नेपाली जनसमुदायलाई तपाईंको केहि संदेश छ कि ?

हामीले यो सम्मेलन नेपाली युबाहरुको हितको लागि गर्न लागेको हो, कसैलाई नेता बनाउन होइन । म आफै पनि यो भन्दा पहिले अन्य धेरै संस्थाहरुमा नेतृत्व तहमा काम गरेको छु । अध्यक्ष हुन मलाई अर्को नयाँ संस्था खोलिरहन जरुरत छैन । यसमा लागेका अन्य साथीहरुको पृष्ठभूमि हेर्नु भयो भने पनि उहाँहरुले अन्य संस्थाहरुमा काम गरिसक्नु भएको छ । यसमा लाग्ने कोहि पनि व्यक्तिगत लाभको लागि लाग्नु भएको छैन । त्यसैले तपाईंहरु पनि आउनुस, यो सम्मेलन तपाईं हाम्रै लागि हो, तपाईं हाम्रा छोराछोरीको लागि हो । यसमा थुप्रै इभेन्ट, शो र खेलहरु हुँदैछन् । यसमा आफुले भाग लिने ठाउँमा आफुले र आफ्ना छोराछोरीले भाग लिने ठाउँमा उनीहरुलाई भाग लिन प्रेरित गर्नुस । यसको भब्य सफलता नेपाली समुदायको प्रगति र उन्नतिको लागि एउटा कोशेढुंगा हो ।

(लेखनाथ गौतम)

प्रतिक्रिया